जिल्ला निर्वाचन कार्यालयका अनुसार तनहुँमा आगामी फागुन २१ मा हुने निर्वाचनमा मताधिकार प्रयोग गर्न योग्य नागरिकको संख्या दुई लाख ५४ हजार तीन सय ९७ पुगेको छ । कार्यालयका अनुसार पुरुष मतदाताको संख्या एक लाख २३ हजार चार सय ९१ तथा महिला मतदाताको संख्या एक लाख ३० हजार नौ सय छ रहेको छ ।
२०८२ फागुन २० सम्म १८ वर्ष पूरा हुने तथा मतदाता नामावलीमा नाम दर्ता गराएका नेपाली नागरिकले निर्वाचनमा आफ्नो मत दान गर्न पाउने छन् ।

तनहुँमा दुइवटा निर्वाचन क्षेत्र रहेका छन् । मादी वारी रहेको क्षेत्र नं १ मा व्यासका १२, भानुका १३, बन्दीप्ुरका ६, देवघाटका ५ तथा आँबुखैरेनीका ६ वडा गरी कूल ४२ वडा रहेका छन् । यहाँ ६१ हजार सात सय ७८ पुरुष तथा ६५ हजार एक सय चार महिला गरी कूल एक लाख २६ हजार आठ सय ८२ मतदाता छन् ।
यसैगरी मादी पारी रहेको निर्वाचन क्षेत्र नं २ मा व्यासका २, म्याग्देका ७, शुक्लागण्डकीका १२, भाीमादका ९, ऋषिङका ८ तथा घिरिङका ५ गरी कूल ४३ वडा रहेका छन् । यो निर्वाचन क्षेत्रमा ६१ हजार सात सय १३ पुरुष तथा ६५ हजार आठ सय दुइ महिला गरी कूल एक लाख २७ हजार पाँच सय १५ मतदाता रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार नगारपालिका तर्फ व्यासमा सबैभन्दा धेरै ५१ हजार तीन सय मतदाता छन् । भानुमा ४२ हजार एक सय चार, शुक्लागण्डकीमा ४० हजार तीन सय पाँच तथा भीमादमा सबैभन्दा थोरै २५ हजार तीन सय ११ मतदाता रहेका छन् ।
यसैगरी गाउँ पालिका तर्फ सबैभन्दा धेरै म्याग्देमा १९ हजार तीन सय छ मतदाता रहेका छन् । ऋषिङमा १८ हजार सात सय ४४, बन्दीपुरमा १६ हजार दुइ, घिरिङमा १४ हजार छ सय १३, आँबुखैरेनीमा १४ हजार ६२ र देवघाटमा १२ हजार छ सय ४४, मतदाता छन् ।
निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली दर्ता अभियानका क्रममा सात हजार तीन सय ९३ नयाँ मतदाता थप भएका छन् । एक सय ४४ मतदान स्थलमा रहेका तीन सय नौ मतदान केन्द्रबाट मतदाताले मतदान गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । मतदाताको सुविधालाई ध्यानमा राख्दै यस पटक ऋषिङ गाउँपालिका वडा नं ४ र ६ मा एक–एकवटा मतदान केन्द्र थप गरिएको समेत जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
