
अधिवक्ता
पृष्ठभूमिः
परम्परादेखि नै महिलाहरु घरेलुहिंसामा परेको आमबुझाईका बीच पुरुषहरु पनि घरेलुहिंसामा परेका घटनाहरु सार्वजनिक भैरहेका छन् । तथापि पुरुषहरुबाट महिला माथि हुने घरेलुहिंसा पनि भैरहेका छन् । केही न्यून भएको अनुभव भएतापनि घरेलुहिंसा अपेक्षित रुपमा न्यून हुन सकेको छैन । भरखरै हामीले घरेलुहिंसा विरुद्धको १६ दिने अभियान पनि सम्पन्न गरेका छौं । यस्ता कार्यक्रमहरुको निरन्तरता त छ नै तर महिलाहरु माथि पुरुषबाट हुने घरेलुहिंसा फरक शैलीमा बढेको छ ।
के हो घरेलुहिंसा ?
घरेलुहिंसा तथा कसूर सजाय ऐनले घरेलुहिंसाको परिभाषा गरेको छ । ऐनले घरेलुहिंसा भन्नाले कुनै पनि व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक मानसिक यौनजन्य वा आर्थिक यातना सम्झनु पर्दछ भनेको छ । अब घरेलु सम्बन्धका बारेमा हामीले के हो भने बुझ्न जरुरी छ । बंशज, विवाह वा धर्मपुत्र वा धर्मपुत्री भएको वा संयुक्त परिवारको सदस्य, आश्रीत वा कामदारको रुपमा एकै परिवारमा बसेका व्यक्तिहरुका बीचमा भएको सम्बन्ध भनेर परिभाषित छ । यसरी नै शारीरिक यातना, मानसिक यातनाको बारेमा पनि परिभाषा गरेको छ । यौनजन्य यातनाको बारमा पनि कानुनले परिभाषा गरेको छ । आर्थिक यातनाको परिभाषा गर्दै भनेको छ–सगोल वा निजी सम्पत्तिको प्रयोग गर्न वा रोजगारी वा आर्थिक स्रोत र साधनको पहुँच वा प्रयोगमा बञ्चित गर्ने कार्य सम्झनु पर्दछ र सो शब्दले महिलाको हकमा दाइजो, माग गर्ने, दाइजो ल्याउन दवाव दिने, वा दाइजो नल्याएको कारणबाट गरिने घृण, हेला वा तिरस्कार समेतलाइ जनाउँदछ ।
परम्परागत घरेलुहिंसाः
दोस्रो पत्नि भित्र्याउने परम्परागत घरेलुहिंसा सामान्य थियो । बाजा नै बजाएर भित्र्याउने चलन थियो । मर्दका सातोटी भन्ने चलन थियो । त्यस अलवा बच्चा जन्माउने, स्याहार सुसार गर्ने, विहान बेलुकाको भान्सा तयार गर्ने, पतिको पेन्टीदेखि सबै कपडा धुन पाउनु त पत्निको हकै मानिन्थ्यो । त्यस अलवा देवर, नन्द, सासु, ससुराको लुगाफाटो धुने कर्तब्य नै थियो । अरु सुतिसक्दा पनि महिलाहरुलाई पाउ मोल्नुपर्ने कर्तब्य पनि पुरा गर्नु पर्दथ्यो । बाहिरी संसार, समाज बुझ्न देख्न हक वेहकका कुरा बोल्ने कुरा त पोथी बासेको हुन्थ्यो ।
निरुत्साहित घरेलुहिंसाः
संहिताले महिलाको सम्पत्ति माथि अधिकारको व्यवस्था गरेपछि महिलाको आत्मबल बढायो । साथसाथै बहुविवाहमा कैदको सजाय पाँच बर्ष पु¥याएपछि केही निरुत्साहित भएको महसुस भएको छ । अथवा पहिला जस्तो महिलाहरु कर्ममा लेखेको भनेर चित्त बुझाएर नबस्ने, कानुनको सहारा लिने हिम्मत देखाएपछि पुरुष प्रबृत्ति हतोत्साहित भएको देखिन्छ ।
फरक रुपमा घरेलुहिंसाः
पछिल्लो समयमा पुरुषहरुले फरक शैलीमा आफ्नी पत्नि माथि चरम घरेलुहिंसा गरेको पाईन्छ । दोस्रो विवाह गर्ने सुरसार कसेपछि कसूरबाट बच्नका लागि घरकी पत्निलाइ सम्बन्ध विच्छेद माग्न बाद्य पार्न कुटपिट गर्ने, शारीरिक मानसिक, आर्थिक र यौनजन्य हिंसा गर्ने गरेका घटनाहरु प्रकट हुँदैछन् ।
निष्कर्षः
बाउँको वा घरको इज्जत भनेर आजको महिलाहरुले हिंसा सहन हुँदैन । अझ अर्को महिलासंग लागेर गरिएको घरेलु हिंसा त झनै सहन हुँदैन । न्याय खोज्न पर्दछ । हरेक शारीरिक, यौनजन्य हिंसाको प्रहरी, महिला सेल मार्फत अस्पतालबाट घाउजाँच गराएर राख्न आँट गर्नुपर्दछ । कर्म, भाग्यलाई दोष दिएर अन्याय सहन हुँदैन ।
