
इम्मानुयल चर्च(मण्डली)
व्यास–१, चर्चडाँडा, तनहुँ
विश्व भरमा पसल, होटल, सपिङ्ग मल अगाडी सेन्टा क्लाउस, ख्रीष्टमस ट्री सजिएको, पसल र घर वरपर झिलीमिली वत्ती बलेको देखिन थाले पछि पक्कै ख्रीष्टमस आएछ भन्ने थाहा लाग्छ । संसार नै एउटा झिलिमिली, सुन्दर, दुलही जसरी सजिएर वरीपरीको माहोलनै मनमोहक बन्दछ । संसारमा हर्षोल्लास तथा खुशीको वातावरण सिर्जना हुन्छ, जुन एउटा विश्वव्यापी पर्वको रुपमा स्थापित भएको छ ।
प्रत्येक बर्ष २५ डिसेम्बरमा मनाइने ख्रीष्टमसको पर्व र यसको बास्तबिक मितिको बारेमा पवित्र धर्मसास्त्र बाईबलमा व्याख्या नभएकोले कति मानिसहरुले बिबाद उत्पन्न गरेता पनि ऐतिहासिक रुपमा हेर्ने हो भने यो चौथो सताब्दीको रोममा डिसेम्बर महिनाको १७ देखि २४ गते सम्म स्याट्रन अर्थात सुर्य देवताको सम्मानमा मनाईने स्यटर्नेलिया पर्व संग मिल्न आएको पाइन्छ ।
यस पर्वमा घर वरपर भिलीमिली वत्ती बालेर, एक–अर्कासंग उपहारहरु साटासाट गर्दै भोजभतेर गर्ने गरिन्थ्यो । यस पर्वको अंतिम दिनको भोलीपल्ट डिसेम्बर २५ गते रोममा मानिदै आएको सबैभन्दा ठूलो देवता सोल इन्भिक्टस अर्थात सुर्य देवताको जन्मदिवस मनाइन्थ्यो । सोहि दिनलाई समर्पण स्वरुप रोमी सम्राट कन्टाटाईनले सन ३२५ ई.सं.मा ‘कन्सिल अफ नाईसिया भन्ने सभा बोलाएर तथा ख्रीष्टका अनुयायीहरुले सुर्यलाई नै सृष्टि गर्ने विश्व ब्रम्हाण्डका रचयिता र संसारको ठूलो ज्योति नै येशु ख्रीष्ट हुनु भएकोले २५ डिसेम्बरलाईनै येशुको जन्म दिवस भनी घोषणा गरिदिए । यसैदिनमा ठूलो संख्यामा मानिसहरु चर्चको प्राङ्गणमा जम्मा भएर येशुख्रीष्टको आराधना र भक्ति गर्ने भएकाले उक्त दिनलाई ख्रीष्टमस भन्ने नाम दिईयो ।
यसरी ख्रीष्टमस संसारमा उद्दारकर्ताको आगमन भएको दिनको स्मरण गरेर मनाईन्छ । यस दिनमा चर्चहरु परमेश्वरको प्रेमको गीत, भजन, प्रार्थना, खुशीले भरिन्छन् । ख्रीष्टमस बास्तबमा ख्रीष्टियन समुदायमा मात्र हैन, बिभिन्न धर्म, संस्कृति र पृष्ठभुमिका मानिसहरुमा समेत प्रचलित रहेको छ । यस दिनमा सबै प्रकारका मानिसहरु सहभागी भएर मानवता, एकता, प्रेम र आनन्दको संदेश फैलाउछन् ।
ख्रीष्टमसको इतिहासलाई बाइबलीय धर्मशास्त्रमा हेर्ने हो भने झण्डै आजभन्दा २०२५ वर्ष अगाडि यरुशलेमको बेथलेहेम भन्ने सानो नगरबाट सुरु भएको पाईन्छ । धर्मशास्त्र बाईबलको पुस्तकको मत्ती १ः१८–२५ अनुसार येशु ख्रीष्ट कन्य मरियमको कोखबाट पवित्र आत्माद्वारा जन्मिनुभयो ।
यस खबरलाई स्वर्गदुतहरुले “आज दाउदको सहरमा तिमीहरुका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुनछ ।”– लुका २ः११ पदमा । येशु जन्मिनु भएको त्यो रात आकाशमा स्वर्गदुतहरुको ठूलो समुहले “सर्वाच्चमा परमेश्वर लाई महिमा, र पृथ्वीमा जुन मानिसहरुसँग उहाँ प्रशन्न हुनुहुन्छ, तिनीहरुलाई शान्ति ।” भन्दै भजन गाउँदै परमेश्वरको महिमा र आराधना गरे । – लुका २ः१४ ।
येशुको यस जन्म कुनै आकस्मिक थिएन । मानिसहरुको उत्पति भए सँगै उहाँको यस जन्मको बारेमा ब्याख्या गरेको पवित्र धर्मशास्त्र बाइबलको उत्पति ३ अध्यायको १५औं पदमा पाईन्छ । येशुको जन्म भन्दा ७०० वर्ष अघिनै यशैया भन्ने अगमवक्ताले उहाँको जन्मको भविष्यबाणी गरेका थिए । –यशैया ७ ः१४ यसरी थुप्रै अगमवक्ताहरुले सयौं वर्ष अगाडि नै येशु संसारमा जन्म लिने कुराको भविस्यबाणी गरेका थिए र सो कुराहरु अक्षरस पुरा भएको पाउँछौ ।
येशुको यस जन्म दिवस अर्थात ख्रीष्टमसले संसारको चल्दै आएको धार्मिक रितिरिवाज, संस्कृति, परम्ंपरा, आदिमा ठूलो परिवर्तन ल्यायो । मानव सभ्याताको आध्यात्मिक र नैतिक आचरणमा रुपान्तरण ल्यायो ।
क) येशुको जन्म नै विश्वमा पात्रो निर्माण प्रणलीको प्रमुख आधार बनेको पाइन्छ । येशु आउन अघिको समय ईशा पुर्व र येशु आउनुभए पछि ईश्वी संवत प्रयोगमा आएको पाईन्छ ।
ख) येशुको जन्म र शिक्षाले सामाजिक मुल्य र मान्यतामा रुपान्तरण ल्याएको पाईन्छ । उहाँको शिक्षालेः मानिसहरुबिच प्रेम, क्षमा, नम्रता तथा करुणाको मुल्य र मान्यताहरु स्थापना
ग¥यो । नगरहरु, अस्पताल, आश्रम निर्माणको जग बसालिने काम साथै समानता, दया र मानव अधिकारको सुरुवात नै ख्रीष्टमसको संदेश हो ।
ग) पाप, द्वेष र डरले भरिएको यस संसारमा प्रेमको संदेश फैलाउँदै शत्रुलाई समेत क्षमा र प्रेम गर्ने कुराको वकालत गर्ने पर्व नै ख्रष्टिमस हो । किनकि बाईबलको खण्ड युहन्ना ३: १६ पदले भन्छ, “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, ताकि उहाँलाई विस्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस् ।” ख्रीष्टमसको कारण परमेश्वर प्रेम बनेर यस संसारमा आउनुभयो र संसारमा मिलाप भर्नुभयो ।
घ) परमेश्वरको जन्मले संसारमा शान्तिको संदेश बोकेर ल्याएको हामी पाउँछौं । जुनकुरा स्वर्गदुतहरुले येशुको जन्ममा बोलेका थिए – “सर्वाच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरुसँग उहाँ प्रशन्न हुनुहुन्छ, तिनीहरुलाई शान्ति ।”– लुका २ः१४
ङ) यो ख्रीष्टमस अन्धकार र निराशमा बस्नेहरुका लागि एउटा आशाको संदेश हो । यशैया ९ः२ मा यसरी लेखिएको छ “अन्धकारमा हिँड्ने मानिसहरुले एउटा ठूलो ज्योति देखेका छन् । मृत्युको छायाँमा बस्नेहरुमाथि एउटा ज्योति उदाएको छ ।” यो उज्यालो कुनै एउटा मुलुकको लागि मात्र होईन, तर प्रत्येक देशमा बस्ने बिभिन्न भाषाभाषी, समुह, सम्प्रदाय र जात–जातीहरुका लागि हो ।
च) येशु जन्मनुको प्रमुख उद्वेश्य नै संपुर्ण मानव जातिहरुलाई पापबाट उद्वार गर्नु हो । मर्कुस १६ः१६ मा यसरी लेखिएको छ कि – “उहाँमा विस्वास गर्ने र वप्तिस्मा लिनेले उद्वार पाउने छ, तर विश्वास नगर्ने दोषी ठहरिने छ ।” यसरी ख्रीष्टमसको सबैभन्दा ठूलो उपहार नै पापबाट छुटकारा र उद्वार हो ।
छ) ख्रीष्टमस एउटा आत्मिक रुपान्तरणको संदेश पनि हो । यो केबल उत्सव मनाउने मात्र हैन – यो परिवर्तन र आत्मिक पुनर्जन्मको अवसर हो । जब येशु मानिसको हृदयमा जन्मिनुहुन्छ, उसमा भएको द्वेष, घृणा, स्वार्थ जस्ता थुप्रै नकारात्मक स्वभाबहरु सबै हटेर उसको जीवन आनन्दमा परिणत हुन्छ किनकि यो मानव जीवनलाई नै परिवर्तन गर्नसक्ने महान ईश्वरीय सन्देश हो । उहाँले मानव जातिलाई अगाप्य र अनन्त प्रेम गर्नुहुन्छ भन्ने कुराको प्रमाण नै ख्रीष्टमस् हो । परमेश्वरको बास हामीहरुसंग भएको छ, आज ख्रीष्टमसको दिनमा उहाँ जन्मिनु भयो भने आज उहाँ हरेकको हृदयमा जन्मन चाहानुहुन्छ । “आमिन ।”
