
रमेश विकल
भृकुटीमण्डपमा बिहिबार सम्पन्न ११ औं महाधिवेशनबाट खड्गप्रसाद शर्मा ओली (केपी ओली) नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएका छन् ।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार ओली १६६३ मत सहित विजयी भएका हुन् । प्रतिस्पर्धी ईश्वर पोख्रेलले ५६४ मत प्राप्त गरेका थिए ।
अध्यक्ष ओलीको पार्टी सत्ताको नेतृत्व यात्रा यो तेस्रो पटक हो । २०७१ साल असारमा भृकुटीमण्डपमै भएको नवौँ महाधिवेशनमा ओली पहिलो पटक अध्यक्ष पदमा निर्वाचित भएका थिए । तत्कालीन महासचिव माधवकुमार नेपाललाई ४४ मत अन्तरले पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका थिए । ओली १ हजार ४७ मत प्राप्त गरी विजयी हुँदा नेपालले एक हजार ३ मत पाएका थिए । २०७८ साल भदौमा चितवनको सौराहामा भएको १०औँ महाधिवेशनमा ओली अर्का प्रत्यासी भीम रावलले भन्दा १६१४ बढी मतल्याएर अध्यक्षमा निर्वाचित भएका थिए । त्यस महाधिवेशनमा ओली एक हजार ८३७ मत ल्याएर विजयी हुँदा रावलले २२३ मत प्राप्त गरेका थिए ।
११औ महाधिवेशन सम्म आइपुग्दा ओलीको विकल्प खोज्नेहरुको संख्या केही बढेको निर्वाचन परिणामले देखाएको छ । तर १९ पदाधिकारी मध्ये ओली इतरका दुइ पदाधिकारी मात्र निर्वाचित हुनुले एमालेमा ओली अझै शक्तिशाली भएको प्रमाणित भएको छ ।
निर्वाचन परिणाम अनुसार पाँच उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ (१७३७), विष्णुप्रसाद पौडेल (१६७५),रघुजी पन्त (१२५८),रामबहादुर थापा बादल (१५१६) ओली प्यानलबाट विजयी भए भने पोख्रेल प्यानलबाट गोकर्णराज विष्ट (१३६८) विजयी भए । ओली प्यानलका गुरुप्रसाद बरालमात्र पराजित भए ।
महासचिवमा ओली प्यानलका शंकर पोखरेल १२२८ मत सहित विजयी हुँदा पोख्रेल प्यानलका सुरेन्द्रराज पाण्डेले ९९९ मतमा चित्त बुझाउनु पर्यो । तीन उपमहासचिव मध्ये ओली प्यानलका लेखराज भट्ट(१४५२) र रघुबीर महासेठ(१३६८) विजयी भए भने पोख्रेल प्यानलका योगश भट्टराई(१३४८) विजयी भए । ओली प्यानलका विष्णप्रसाद रिमाल पराजित हुन पुगे ।
नौ जना सचिवमा सबै ओली प्यानलकाले जित हात पारेका छन् । निर्वाचन आयोगका अनुसार महेश बस्नेत (१५४४), पद्माकुमारी अर्याल (१५३०), छविलाल विश्वकर्मा (१५०६), शेरधन राई (१५०३) हिक्मतकुमार कार्की (१३३७), खगराज अधिकारी (१२३१), यमलाल कँडेल (११८५), राजन भट्टराई (११८१), भानुभक्त ढकाल (११०८) विजयी भएका हुन् ।
यता तनहुँबाट केन्द्रीय सदस्यका लागि भिडेका आठ मध्ये चार जना निर्वाचित हुन सफल भएका छन् । निर्वाचित हुनेहरुमा टुकराज सिक्देल(१४९७) भूगोल गण्डकी खुल्ला, भगवती न्यौपाने (१८७३) खुल्ला महिला, किरण गुरुङ(१६२७) खुल्ला केन्द्रीय सदस्य तथा कृष्णकुमार श्रेष्ठ(१५६०) खुल्ला केन्द्रस्य रहेका छन् । निर्वाचित चारैजना ओली प्यानलका हुन् ।
पोख्रेल प्यानलबाट आदिवासी जनजाति खुल्लामा उम्मेदवारी दिएका प्रतापलाल श्रेष्ठ(५२२) र पूर्णबहादुर गुरुङ(८३१), केन्द्रीय सदस्य भूगो गण्डकी खुल्लामा उम्मेवारी दिएका विष्णुभक्त सिग्देल(७३८), केन्द्रीय सदस्य महिलाबाट उम्मेदवारी दिएकी शोभा गुरुङ(१४४२) भने पराजित हुन पुगे ।
