विशेषसम्वाददाता
मुलुकको शासनसत्ताको बागडोर सम्हालेको एमाले सत्ताबाट लज्जाजनक बहिर्गमनमा परेपछि आफ्नो पार्टीको महाधिवेशनमा जुटेको छ । तर पनि देश र जनतालाई दिनुपर्ने लोकतान्त्रिक अभ्यासको सन्देश दिनबाट चुकेको छ ।
केन्द्रस्तरमा विद्यादेवी भण्डारीको महाधिवेशन प्रवेश निषेध प्रकरण र यसै हप्ता तनहुँको प्रतिनिधि छनौट प्रकरणमा मतदान, निर्वाचन प्रणालीको उपहास र केन्द्रिय नेतृत्वको निर्णायक भूमिकाले मतदाता वा प्रतिनिधि भनेका सार्वभौमसत्ता सम्पन्न हुन सक्दैनन्, आश त्रास प्रलोभनमा अनुशासनको डण्डाले मर्माहत नेतृत्वको आज्ञाकारी दाश हुन् भन्ने सन्देश दिएको छ ।

लोकतान्त्रिक गणतन्त्र तथा देशकै स्वाधिनताको रक्षामा लोकतान्त्रिक गणतन्त्रका विशेष पहरेदारका रुपमा नेपाली जनमतमा बचेखुचेको आस्था विश्वास र भरोसा पनि एमाले र नेपाली काँग्रेस समेतले गुमाउँदै गएका छन् ।
लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्ने, आफ्नो पार्टी भित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासले लोकतान्त्रिक गणतन्त्र विरोधी जनमतलाई निस्तेज र निरुत्साहित गराउनु पर्ने एमाले काँग्रेसमा अझै पनि स्वस्थ निष्पक्ष र भयरहित प्रतिष्पर्धाबाट नेतृत्व चयनको अभ्यासको सन्देश जान नसक्नु सैद्धान्तिक विचलन भन्दा अतिसयुक्ति नहोला ।
नेतृत्व कब्जाको यो अभ्यासले ढिलो चाँडो पार्टी कमजोर र अधिनायकवादी शैलीमा प्रवेश गर्ने नेतृत्वको रवैयाले पुष्टि गरेको छ । दलहरुले आफ्नो संगठन गर्दा नै साम दाम दण्डबाट चुनावी परिणाम कब्जा गर्ने सोंच र दृष्टिकोण नराखेको भए दलमा आश, त्रास र अवरवादी चिन्तन भएका कार्यकर्ताको पकड हुन सक्दैनथ्यो । जो जसको नेतृत्वमा पार्टी गएपनि असल र इमानदार नेतृत्व चयन हुन सक्ने कुरामा कुनै शंका उपशंका राख्नु पर्ने अवस्था रहँदैनथ्यो । आफै भित्रका कार्यकर्तालाई नेता बनाउने अभ्यासमा मतदान प्रक्रिया मै कब्जा गर्नुपर्ने, मतगणनामा मै कब्जा गर्नुपर्ने, मतगणना प्रक्रियालाई बीचमै स्थगित गरेर सर्वसम्मतिको प्रयासको नाटक मञ्चन गर्नुपर्ने, त्यो पनि कामयाव हुन नसकेपछि कब्जाको प्रयासमा प्रतिष्पर्धा हुँदा मतपेटिका भएको वाकस नै गायम हुने अभ्यासले हरेक निर्वाचन वा मतदान वा मतदाताको उपहास गरिरहेको तर्फ नेपालको लोकतान्त्रिक गणतन्त्रलाई बचाउन विशेष भूमिका हुनुपर्ने नेकपा एमाले र नेपाली काँग्रेस नेतृत्व विन्दास बनिदिदा आन्तरिक विद्रोहको झिल्का डढेलोमा परिणत हुन सक्ने तर्फ नेतृत्वमा सम्वेदनशिलता देखिदैन ।
एमालेको गतिविधि संगसंगै नेपाली काँग्रेसलाई किन जोडेको भन्ने पाठक जिज्ञासा आउन सक्दछ । स्वभाविक पनि हो । जनमतबाट ठूलो, बलियो पुष्टि भएपछि नेपाली काँग्रेसमा त्यो हैकमवाद देखिएकै थियो । एमाले आज उही काँग्रेसको पदचापमा हिडेको हुँदा हिजो काँग्रेसमा भन्दा एमाले नेतृत्व चयनमा लोकतान्त्रिक अभ्यास हुन्छ भन्ने आमविश्वास काँग्रेसले जसरी नै एमालेले पनि गुमाएको हुँदा अझ भन्दा देशमा भएको पछिल्लो विद्रोहबाट घाईते सत्तागठबन्धन दल भएका कारणले एक दलको चर्चामा अर्को दल समेत तानिएको हुन सक्दछ । जनमत पाएका यी दलहरुले आन्तरिक प्रतिस्पर्धालाई जिवन्त राखेर नेतृत्व चयनको निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरण निर्माण गर्नुपर्दछ भन्ने आमजनमत रहेको छ । नेतृत्वमा रहनेहरुले सँधै नेतृत्वमा रहने मानसिकता त्याग्न सक्नु पर्दछ । आफू पछि पनि खुल्ला प्रतिपर्धाबाट आफू जस्तै नेतृत्व स्थापित गर्न सक्नुले असल नेतृत्वको पहिचान बनाउँछ । शक्तिकेन्द्रको आर्सिवाद नलिईकन जनमतको आर्सिवाद लिएको नेताले देश, जनता र दलको अस्तित्व बचाउने गरी पार्टीलाई नेतृत्व दिन सक्दछ । धाँधली गरेर पार्टी नेतत्वको कब्जा गर्ने अभ्यासले शक्तिकेन्द्रको आड भरोस र आर्सिवादमा नेतृत्वमा स्थापित हुने लालसा देखाउँछ ।
