आज किराँत समुदाय (राई, लिम्बू, सुनुवार, याख्खा आदि) ले मनाउने एक प्रमुख चाड उधौली । यो पर्व ऋतु परिवर्तन, प्रकृति पूजा र बाली भित्र्याएको खुसीयालीमा मनाईन्छ । उधौली पर्व हरेक बर्ष मङ्सिर (मार्गशीर्ष) पूर्णिमाका दिन बाट सुरु भएर करिब १५ दिनसम्म मनाउने चलन छ ।
किराँतहरूको धार्मिक पुस्तक ‘मुन्धुम’ अनुसार समग्र वर्षलाई चराहरूको बसाइँसराइको आधारमा उभौली र उधौली गरी दुई भागमा बाँडिएको छ । उधो को अर्थ तल हो । यस समयमा चिसो बढेपछि लेकबाट मानिस, वस्तुभाउ र चराचुरुङ्गीहरू बेंसी
(तल) तिर झर्छन् भन्ने मान्यता छ, जसलाई संकेत गरेर यो पर्वको नामाकरण गरिएको हो । राई जातिले साकेला वा साकेन्वा भन्ने यो पर्वलाई लिम्बु जातिले चासोक चासोक तङ्नाम र यसलाई न्वागी पूजा, याख्खा जातिले चासुवा र सुनुवार जातिले फल्षाँदर वा फोलस्याँदर भन्छन् ।
नयाँ बाली भित्र्याएको खुसीः यो पर्व नयाँ अन्नबाली भित्र्याएपछि आफ्नो कूल, पितृ र देवी–देवतालाई चढाएर न्वागी खाने (नयाँ बाली खाने) परम्परासँग सम्बन्धित छ ।
किराँत समुदाय प्रकृति–पूजक भएकाले यस अवसरमा भूमि (पृथ्वी) को विशेष पूजा–अर्चना गरिन्छ । यस पर्वको अवसरमा वर्षभरि मनमुटाव भएकाहरूले पनि साइनोमा कान्छो व्यक्ति जेठोको घरमा कोसेली लिएर जाने र मेलमिलाप गर्ने चलन छ, जसले सामाजिक सहिष्णुता कायम राख्न मद्दत गर्दछ ।
यस पर्वमा किराँत समुदायका युवा–युवतीहरू परम्परागत वेशभूषामा सजिएर सार्वजनिक स्थलमा भेला भई ढोल, झ्याम्टाको तालमा सामूहिक रूपमा साकेला (चण्डी) नृत्य गर्छन् ।
साकेला नृत्यमा हात–खुट्टाको हाउभाउद्वारा जीव–जनावरहरूको नक्कल गर्नुका साथै खोरिया फाँडेको, बाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता कृषि कार्यहरू को अभिनय प्रदर्शन गरिन्छ ।
सय बढी जातजातिको साझा फूलबारीको रुपमा रहेको नेपाल र त्यहाँका नागरिक हामीले हरेक जातजातिको पर्वहरुलाई परस्पर शुभकामना साटासाट गरेर उल्लासका साथ मनाऔं । यसले सामाजिक सद्भाव समेत कायम हुन्छ र नेपाललाई बुद्धको देशका रुपमा विश्व सामु परिचित गराई राख्न सहयोग पुग्दछ । उधौली पर्वको सबैमा शुभकामना ।
उधौलीको शुभकामना-सम्पादकीय
previous post
