दमौली/आदिकवि भानुभक्त क्याम्पसको अध्यक्षको नेतृत्व लिने दौडमा छ जना आकाँक्षी देखिएका छन् । क्याम्पसका पूर्व प्राध्यापक कमलामोहन वाग्ले पनि यस पटकको दौडमा सहभागि भएका छन् ।
प्राज्ञिक थलो आदि क्याम्पसको नेतृत्व लिन पूर्व प्राध्यापक एवं बरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले सहित बुद्धिमान श्रेष्ठ, राजु दाहाल, केशबहादुर सुनार, ठाकूर दरै, चुडामणी दाहालले बुधबार आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् । पहिलो पटक खुल्ला प्रतिष्पर्धाबाट अध्यक्षको चयन हुने भएपछि पूर्व प्राध्यापक एवं बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले प्राज्ञिक थलोमा प्रतिष्पर्धा गर्ने इच्छा प्रकट गरेको बुझ्न सकिन्छ ।

तर न्यायालयमा समेत राजनीतिक भागबण्डामा न्यायाधीश नियुक्ति गर्ने अभ्यास गरेको नेपाली राज्य संयन्त्रले विकास गरेको मतदाताको मनोविज्ञानमा आदिकवि भानुभक्त क्याम्पसको १२ औं अधिवेशनसम्म आइपुग्दा त्यो भागबण्डा र दलगत निर्देशन अस्विकार गरेर स्वविवेकीय निर्णयमा मतदान गर्न सकेभने मात्र प्राज्ञिक व्यक्तित्व पूर्व प्राध्यापक एवं बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेलाइ आदिकवि भानुभक्त क्याम्पसको सञ्चालक समितिको नेतृत्व गर्ने अवसर मिल्ने देखिन्छ ।
उम्मेदवार भएका छ जना मध्ये अधिकाँश नेपाली काँग्रेस समर्थक उम्मेदवार छन् । ती मध्ये कमलामोहन वाग्ले, केशबहादुर सुनार, ठाकूर दरै, बुद्धिमान श्रेष्ठ, राजु दाहाल सबैले नेपाली काँग्रेसको शुभकामना, आर्शिवाद, सहयोग पाउने विश्वासमा उम्मेदवारी दिएको अनुमान गर्न सकिन्छ । चुडामणि दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीको मतसर्वेक्षणका लागि उम्मेदवारी दिएको अनुमान गर्न कठिन छैन ।
छ जना उम्मेदवारमा पाँच जनाले नेपाली काँग्रेस सद्भावमा नेपाली काँग्रेस निकट आजिवन सदस्य तथा साधारण सदस्यको मत पाउने विश्वास लिएको देखिन्छ ।
विवेकको मत दिने अभ्यास नभएको हाम्रो समाजमा नेपाली काँग्रेसभित्र पनि विशेष पहुँचवाला गुटको आर्शिवाद पाउनेले मात्र चुनाव जित्न सक्ने देखिन्छ । यो निर्वाचनमा आदिकवि भानुभक्त क्याम्पसमा पकड रहेको नेपाली काँग्रेसको गुटको आर्शिवाद पाएको व्यक्तिले चुनाव जित्न सक्ने अनुमान गर्न सकिन्छ । ती अनुहारमा ठाकूर दरैको संभावना निकट देखिन्छ । बाँकी उम्मेदवारलाइ नेपाली काँग्रेसको विभिन्न गुटले प्रयोग गरेर राजनीतिक फुटबल तुल्याउने खतरा देखिन्छ ।