कमलबारी/व्यास १२ कमलबारी स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयमा बेलायती स्वयम्सेवकलाई स्वागत गरिएको छ ।
मंगलबार विद्यालय आइपुगेका १६ जना स्वयम् सेवकलाई स्वागत गरिएको प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले बताए । पहार ट्रष्ट नेपालको संयोजनमा नेपाल आएका स्वयम्सेवकले विद्यालयमा निर्माण गर्न लागिएको विद्यालय भवनको निर्माण समाग्री निर्माण स्थलमा लैजाने तथा चार कोठे भवनमा रङ रोगन गर्ने प्रधानाध्यापक अधिकारीले बताए ।

सहायक प्रधानाध्यापक ज्ञानेन्द्र जिसीका अनुसार पाँच दिनसम्म दैनिक ६/७ घण्टा विद्यालयमा रहेर उनीहरुले पहार ट्रष्ट नेपाल, व्यास नगर पालिका र विद्यालय तथा स्थानीय समुदायको संयुक्त लगानीमा निर्माण गर्न लागिएको विद्यालय भवनको निर्माण सामग्री निर्माण स्थलमा ओसारपसार गर्ने छन् । साथै उनीहरुले विद्यालयको चार कोठे भवनमा पहार ट्रष्ट नेपालको सहयोगमा रंगरोगन गर्नेछन् ।
स्वयम्सेवक स्वागत कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फमबहादुर थापाले पाहुना स्वयम्सेवकलाई काम गर्ने रमाइलो र सुरक्षित वातावरण निर्माण गरिने उल्लेख गर्दै स्थानीय धार्मीक, सांस्कृतिक स्थलहरुको अवलोकन गर्ने तथा स्थानीय कला र संस्कृतिसंग परिचित हुने वातावरण निर्माण गर्ने बताए ।
पहार ट्रष्ट नेपालका प्रतिनिधिले प्लस टु तथा माथिल्लो तहमा अध्ययनरत विद्यार्थी स्वयम्सेवकका रुपमा नेपालमा काम सिक्न तथा यहाँको कला, संस्कृति विषयमा जानकारी हासिल गर्न आएका बताए । स्वयम्सेवकहरुलाई काम गर्ने रमाइलो तथा सुरक्षित वातावरण निर्माण गर्न उनले आग्रह गरे ।
पाहुनाहरुलाई कक्षा ८ र १० का छात्राहरुले नृत्य मार्फत स्वागत गरेका थिए भने कार्यक्रममा विव्यस पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, स्थानीय आमा समूहका सदस्यहरु तथा शिक्षक र विद्यार्थीका उपस्थिति रहेको थियो ।