दमौली/स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध जटिल रोगीले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलका अुनसार हालसम्म बीमामा आवद्धले एकलाख रुपैयाँ बराबरको उपचार सहायता पाउँदै आएकामा अब जटिल आठ प्रकारका रोगीका लागि यो सहायता दुइलाख हुने भएको छ ।

मन्त्री पौडेलले आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचार सुविधामा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्न सक्ने उल्लेख गरेका छन् ।
मन्त्री पौडेलले बुधबार विहान आफ्नो सामाजिक सञ्जालमा लेखे अनुसार ‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट ८ प्रकारका बिरामीले स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरिएको छ । उनले यस्तो व्यवस्थालाई आफ्नो पूर्व प्रतिवद्धता भएको समेत उल्लेख गरेका छन् । पौडेलका अनुसार अब क्यान्सर, मुटु,मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी,सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।
मंगलबार राती बसेको बोर्ड बैठकले साउन १ गतेबाट यो लागू हुनेगरी आठ जटिल रोगीलाई २ लाख उपचार खर्च दिने निर्णय समेत गरिसकेको छ ।
मन्त्री पौडेलले आम नागरिकको रचनात्मक सल्लाह, सुझाव र प्रतिक्रियाको सदैव स्वागत गर्ने उल्लेख गर्दै स्वास्थ्य बीमालाई थप परिष्कृत गरेर आम नागरिकको पहुँच अभिवृद्धि गर्न आफु निरन्तर प्रयत्नशील रहेको बताएका छन् । गत असारमा मन्त्री नियुक्त भएसँगै स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सुधारका कामहरु गर्दै आएका पौडेलको यो निर्णयले सम्बन्धित विरामीलाई उपचारमा निकै सहज हुनेछ ।