
“रक्तदान जीवन दान” हामीले बारम्बार सुन्दै आएको स्लोगन हो यो । विभिन्न कारणले शरीरमा रगतको मात्रा कम भएर जीवन र मरणको दोसाँधमा रहेका नागरिकको जीवन बचाउन हामी मध्ये जो कोहिले गरेको रगत दान महत्वपूर्ण हुन सक्छ । मानिसको जीवन बचाउनका लागि गरिने रगतदान सप्ताह, पुराण वा अन्य कुनै धार्मीक कार्य गरेर गरिने दान भन्दा ठूलो दान हो । रक्तदान वास्तवमा सबैभन्दा ठूलो दान अर्थात महादान हो ।
रक्तदाता अर्थात तिनै महादानकर्ताको सम्झना र सम्मानमा विश्वभर पर्सी शनिबार, जुन १४ मा “रगत दिउँ आशा जगाउँः हामी सबै मिलेर जीवनहरु वचाउन सक्छौं” भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदैछ । विश्व स्वास्थ्य संगठनका आह्वानमा सन् २००४ देखि मनाउन थालिएको यो दिवस मानव रक्त समूह पत्ता लगाउन वैज्ञानिक कार्ल ल्याण्डस्टिनरका जन्मदिन जुन १४ को अवसर पारेर मनाउने गरिन्छ ।
शरिरमा भएका सेल र टिस्युहरुलाई आवश्यक अक्सिजन उपलब्ध गराउने कामका अतिरिक्त रगतले शरिरमा भएका सेलहरुलाई आवश्यक पोशक तत्व जस्तै एमिनो एसिड, फ्याट्टी एसिड तथा ग्लुकोज उपलब्ध गराउँछ । शरिरलाई विभिन्न रोग तथा संक्रमणबाट जोगाउने काममात्र होइन रगतले हाम्रो शरिरको तापक्रमलाई सन्तुलित राख्न समेत महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यतिमात्र कहाँ हो र ? रगतको माध्यमबाट हाम्रा दिमागमा केही समयमात्र अक्सिजन पुगेन भने त्यहाँका सेलहरु मर्न थाल्दछन् र हामीलाई गम्भीर स्वास्थ्य समस्या देखा पर्न थाल्दछ ।
जीवनदान गर्ने यो पुण्य काममा सहभागी बनौं । १८ वर्ष पूरा भई ६० वर्ष ननाधेका तथा कम्तिमा ५० केजी तौल भएका हामी सबैले रक्तदान गरेर कसैलाई जीवन दिन सक्छौं । तपाईँ हाम्रो केही थोपा रगतले कसैको जीवन रहन्छ भने त्यो काम किन नगर्ने ? रगतका अभाव मुक्त भएर आवश्यक परेका बेला सहजै रगत पाउने वातावरण वनाउनु हाम्रो पनि कर्तव्य हो । यो कर्तव्यबाट हामी नचुकौं र रक्तदान गरेर जीवनदान गर्नेहरुलाई सम्मान गर्न पछि नहटौं । रगत दिउँ, आशा दिउँः हामी सबै मिलेर जीवनहरु वचाउन सकिन्छ ।