
तनहुँको रिस्ती गाउँमा जन्मेर नेपालको राष्ट्रध्यक्ष बन्न सफल व्यक्तिको नाम हो रामचन्द्र पौडेल । रामचन्द्र पौडेल राजनीतिक त्याग र समर्पणको पर्याय पनि हो । रिस्तीका ढाँडे पौडेलहरुले प्रत्येक बर्ष बैशाखे पूर्णिमा गर्ने कूल पुजा यस बर्ष बैशाख २९ गते बुद्ध जनयन्तीमा दिनमा परेको थियो । आफ्नो कुल पुजामा कूलको चम्किलो ताराको रुपमा राष्ट्रपति रामचन्द्र पौडेललाई पाउँदा ढाँडे पौडेल कुलबंशलाई सुखद अनुभूति नहुने कुरै भएन । यो जिल्लाको हिसाबले तनहुँले राष्ट्रपति पाएको छ आमतनहुँवासीको लागि गौरवको विषय हो ।
हामीले तनहुँको छोरो राष्ट्रपति भयो भनेर आत्मगौरव गरिरहँदा समिक्षाको विषय के पनि हो भने यी गणतन्त्रवादीहरुले २०४७ सालदेखि आजसम्म झण्डै ३५ बर्ष शासन गर्दा किन आमनागरिकको नजरमा आलोचित भैरहेका छन् ? गणतन्त्रका विरुद्धमा आमनागरिक किन सडकमा उत्रेको छ ? काँग्रेस, एमाले र माओवादी पार्टीको केन्द्रिय नेतृत्वपंक्तिमा पुगेका व्यक्तिहरु नै आज किन संघियता र गणतन्त्रको विरुद्धमा लागि रहेका छन् । लोकतान्त्रिक गणतन्त्र हामीले ल्याएको हो भने गौरब सुनाउने पार्टीहरु किन गणतन्त्र संस्थागत नहुँदै फुटेर निस्तेज र बद्नाम
भए ? आज जनताको छोरो राष्ट्रपति बनिरहँदा राष्ट्र, राष्ट्रियता र स्वाधिनताको सवालमा राजा जत्तिको पनि दह्रोसंग उभिन नसकेर तिनै राजाले रोकेको अर्थविधेयकका रुपमा प्रस्तुत भएको नागरिकता विधेयकलाई किर्ते राष्ट्रपतिको विशेषणबाट आलोचित हुने गरी प्रमाणिकरण गर्नुपर्ने के परिवन्द प¥यो ? राष्ट्रको लागि राष्ट्रिय स्वाभिमानका लागि केही गर्न नसक्ने संघीय लोकतान्त्रिक गणतन्त्र अर्थात त्यसको राष्ट्रपति नै हामी नेपालीको आत्मगौरव र स्वाभिमान हो भनेर हामी नेपालीले चित्त बुझाउन पर्ने हो ? आज सीमा अतिक्रमण हुँदा चुईक्क बोल्न नसक्ने राज्य व्यवस्था नै हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट हो ? हामी जनताको छोरो राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसद बन्नु मात्रै हाम्रो कठोर कारावास, बलिदान, त्याग, समर्पण, निष्ठाको लक्ष्य थियो ? आज स्वाभिमानी कार्यकर्ताहरु, शिक्षक, धर्मगुरुहरु, आमकिसान, सर्वसाधारण राजनीतिक विद्रोहमा कसरी मारिए, टुहुरा भए, विधवा भए, अपाङ्ग भए ति सबैको मूल्य हामीले राष्ट्र निर्माण गरेर प्राकृतिक साधन स्रोतले सम्पन्न धनी राष्ट्रका सम्पन्न नेपाली बनाउन यो ३५ बर्षको समय पाउँदा किन आर्जन गर्न
सकेनौं ? राष्ट्र निर्माण गर्नका लागि समय १० बर्ष नै काफी रहेको उदाहरण राजा महेन्द्र वीर विक्रम शाहदेवले नेपाली समाजमा दिएर गएका होइनन र ?
अन्त्यमा, राष्ट्र निर्माण गरेर, हाम्रो नेपाली स्वाभिमान विश्व समुदायमा सम्मानित बनाएर, नेपालीहरुलाइ स्वदेशमै आत्मगौरवका साथ बस्न सक्ने वातावरण निर्माण गरेर हामीले गौरब गर्ने हो । आत्मसम्मानको अनुभूति गर्ने हो ।