
दमौली/महिला सशक्तिकरण सञ्चार समाज तनहुँको आयोजनामा शनिबार दमौलीमा खुला कविता प्रतियोगिता हुने भएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०२५ को अवसरमा मार्च ८ फागुन २४ गते ‘महिला र श्रम’ शिर्षक खुला कविता प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने लाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुने कविताहरू महिला श्रमिक, समान काममा असमान ज्याला, श्रममा महिला र पुरुषबीचको भेदभाव, महिला अधिकार, महिला सशक्तिकरण, श्रम नीति तथा कानूनजस्ता विषयमा केन्द्रित हुनुपर्ने संस्थाकी सचिव सुनिता आचार्यले जानकारी दिइन् ।
प्रतियोगिताले समान ज्यालाको अधिकार, श्रम क्षेत्रमा हुने लैङ्गिक विभेद तथा महिलाको योगदानबारे सार्वजनिक विमर्श गर्न, श्रमिक महिलाहरूको संघर्ष र सफलताका कथाहरू उजागर गर्न तथा उनीहरूलाई प्रेरित गर्दै समाजको मुख्य प्रवाहमा ल्याउन मद्दत गर्ने आयोजकको विश्वास रहेको छ । समाजकी अध्यक्ष अञ्जु दाहालका अनुसार महिला श्रमिकका हक, अधिकार तथा चुनौतीबारे जनचेतना अभिवृद्धि गर्न तथा साहित्यिक सिर्जनाका माध्यमबाट महिला सशक्तिकरण र श्रम अधिकार प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।