यतिबेला दमक भ्यू टावर चर्चाको चुलीमा छ । ओलोचना पछि नाम फेरेर दमक कमर्सियल कम्पलेक्स भनिएको दमक नगरपालिका–३ दापगाछीमा बनाइएको भ्यु टावरको प्रधानमन्त्री केपी ओलीले गत आइतबार उद्धघाटन गरेसंगै चर्चा सुरु भएको हो । एक अर्ब ६३ करोड ५४ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त टावर उपयोगिता विहिन भएको चर्चा मात्र छैन वातावरणिय प्रभाव मूल्याङ्कन नगरिएको तथा नक्सा पास समेत नभएको भनेर समेत यसको चर्चा र आलोचना भएको छ ।
तीन वर्ष अगाडी यही समयमा देशभर भ्यू टावरको चर्चा यसैगरी चुलिएको थियो । त्यतिबेला कार्यकाल सकिन लागेका स्थानीय निकायका प्रतिनिधिहरु आफ्ना दलका नेताहरुलाई बोलाएर आफ्नो पालिकामा बनाइएका भ्यू टावरहरुको उद्घाटन गराउनमा व्यस्त थिए । नेताहरुपनि निर्माण सम्पन्न भएको छ वा छैन, अन्य कुनै कानूनी प्रक्रिया पूरा भएको छ कि छैन भन्ने समेत नबुझी उद्घाटनको रिबन काट्न हतारिएर निर्माण स्थल पुग्थे ।
सोही समयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल रोल्पा पुगेर एकसय १२ फिट अग्लो भ्यूटावरको उद्घाटन गरेका थिए । जनयुद्ध स्मृति टावरको नाम दिइएको र छ करोड १० लाख भन्दा बढीको लागतमा निर्माण भएको उक्त भ्यू टावरबाट देखिने भनेको निर्माण अधुरो रहेको ५० शैयाको अस्पताल थियो । प्रचण्डसंग बराबरी गर्दै केही दिनपछि एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली रुपन्देहीको तिलोत्तमा पुगेर २० प्रतिशत निर्माणकार्य बाँकी रहेको भ्यू टावरको उद्घाटन गरे । १४ करोडको लागतमा निर्माण सम्पन्न गर्ने योजना रहेको र ओलीले समृद्धिको सूचकको रुपमा व्याख्या गरेको उक्त टावरले तिलोत्तमाको पर्यटन प्रवद्र्धनमा कति सहयोग गरिरहेको छ र कस्तो समृद्धि ल्याएको छ ? देखिइरहेको कुरा भयो ।
यी त उदाहरण मात्र हुन् । आब २०७८/७९ मा मात्रै ११७ वटा भ्यू टावर बन्दैथिए र तिनको लागत झण्डै १७ अर्ब रहने अनुमान गरिएको थियो ।
त्यतिबेला भ्यू टावर बनाउन तीनै तहका सरकारले गरेको तँछाड मछाड देख्दा लाग्थ्यो, नेपालमा अब विकास निर्माणका कुनै काम गर्न बाँकी छैन, बाँकी रहेको एउटै काम छ र त्यो हो भ्यू टावर निमार्ण ।
बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले आफु प्रधामन्त्रीको उम्मेदबार हुँदा उनका प्रमुख तिन प्राथमिकता बारे पत्रकारहरुको जिज्ञासामा भनेका थिए रे, मेरो पहिलो प्राथमिकता शिक्षा, दोस्रो शिक्षा र तेस्रो शिक्षा । हाम्रा स्थानीय निकायका जनप्रतिनिधिको प्राथमिकताको पहिलो, दोस्रो र तेस्रो सबै क्रममा एउटै छ र त्यो हो भ्यू टावर । यसलाई बुझ्न तनहुँकै एक पालिकालाई सम्झे पुग्छ । उसले भनेको थियो “एक वडा एक भ्यू टावर” ।
पुष्पकमल दाहालले हेलिकोप्टर चढेर रोेल्पा पुगी उद्घाटन गरेको भ्यु टावर मुनिको अस्पताल अझै सुविधा सम्पन्न हुन सकेको छैन । रोल्पा जिल्लाको जनप्रतिनिधीले सोचेको भए वा पुष्पकमलहरुले सुझाउन सकेको भए शायद भ्यु टावर बनाउन खर्चेको पैसा अलपत्र अस्पतालको निर्माण सम्पन्न गर्न र उक्त अस्पताललाई थप सुविधा सम्पन्न बनाउने काममा खर्च गर्न सकिने थियो । तर न त स्थानीय जनप्रतिनिधिले रोल्पाली नागरिकको स्वास्थ्य समस्यालाई बुझ्न सके न त पुष्पकमलहरुले नै । भ्यू टावर बनाउनु नै हुँदैन भन्ने होइन तर त्यसको प्रतिफलका बारेमा सोचेर अनि विचारेर बनाउनु पर्छ । कतिपय स्थानमा बनाइएका भ्यू टावरहरु साँच्चै समृद्धिको कारक बन्ने सम्भावना छ तर अधिकांश स्थानमा बनाइएका ति संरचनाहरु बनाउनका लागि मात्र बनाइएका प्रतित हुन्छन् । बनाउँदै गर्दा र उद्घाटनका दिन मानिसको आउजाउ हुन्छ तर अरु दिन त्यहाँ चरो,मुसो केही पुग्दैन । स्थानीय नागरिकलाई अर्थाेपार्जनमा सहयोग गर्ने कुरा त धेरै परको भयो ।
यस्ता सयौं भ्यू टावरहरु झण्डै आठ वर्षको यो अवधिमा बनेका छन्, जसमा चढेर हेर्दा धेरै कुरा देखिँदैनन् । बाहिरबाट हेर्दा भ्यू टावर आफैमा समृद्धिको सूचक झैं देखिन्छन् तर कतिपय सन्दर्भमा तिनले हामीलाई र हाम्रो सोचलाई गिज्याई रहेका जस्तो लाग्छ । किनभने भ्यू टावरबाट समयमा पुस्तक नपाएर निर्धारित सिकाई उपलब्धी हासिल गर्ने अवसरबाट वञ्चित बालबालिका देखिँदैनन् । अनि त्यहाँबाट तुइनमा जोखिम पूर्ण यात्रा गर्दै र घण्टौं पैदल हिँडेर विद्यालय पुगी ज्ञान आर्जनको भोक मेट्न बाध्य बालबालिका पनि देखिँदैनन् । ति भ्यू टावरबाट न त शिक्षक अभावमा पठनपाठन सुचारु हुन नसकेका विद्यालय देखिन्छन् न त जिर्ण भौतिक अवस्थाका विद्यालय भवन नै । यतिमात्र कहाँ हो र ? भ्यू टावरको टुप्पोबाट त पिउने पानी नपाएर काकाकुल बनेका विद्यालयका बालबालिका र भगवान भनेर नेताले पुकार्ने गरेका स्थानीय नागरिक कुनै पनि दखिँदैनन् । अनि देखिँदैन, जाडोले कठ्याङ्ग्रिएर मृत्युको मुखमा पुगेका गरिब नेपाली ।
भ्यू टावरको टुप्पोमा पुगेपछि शायद मानिस अन्धो हुन्छ र त हाम्रा जनप्रतिनिधी र दलका नेताले बिरामी हुँदा डोको अथवा डोलामा बोकिएर उपचारका लागि सहर जाँदै गरेका नागरिक देख्दैनन् अनि देख्दैनन् विद्युत सुविधाको अभावमा टुकी बत्तीको धिपधिपे उज्योलोमा आँखा तन्काउँदै पढ्दै गरेका बालबालिका ।
सिँचाईको अभावमा वर्षाैंदेखि बाँझो रहेका उर्बर जमिन भ्यू टावरबाट देखिँदैन र देखिँदैन रोजगारीको खोजीमा युवाहरु विदेशियपछि बाँभो रहेका गाउँका खेतबारी । बजारबाट चामल, तेल लगाएत दैनिक उपभोगका सामग्री बोकेर गाउँ आएका तर रित्तै फर्केका ट्रकहरु देख्ने त कुरै भएन आफुले उब्जाएको अन्न र तरकारीले उचित बजार नपाएका कारण कुहाएर फाल्न बाध्य किसान पनि भ्यू टावरबाट देखिँदैन । स्वास्थ्यकर्मी नभएका कारण बन्द जस्तै रहेका अस्पताल र स्वास्थ्य संस्थाको त कुरा भएन सुत्केरी व्याथा लाग्दा समयमा एम्बुलेन्स नपाएर असुरक्षित सुत्केरी हुनु परेका वा मृत्युवरण गर्न पुगेका महिलाको दुःख त विल्कुल देखिँदैन भ्यू टावरबाट ।
राष्ट्रिय राजमार्ग भनिएका सडकमा भएका ठूला खाल्डा, गुडेरभन्दा हिडेर यात्रा तय गर्दा गन्तव्यमा छिटो पुगिने धुलाम्य सडक, स्वदेशमा रोजगारीको अभाव पछि पैसासंग रगत साट्न जान बाध्य भएका युवाहरुको लाईन र आफ्नो परिवारका लागि खाना, नाना र छानाको उपयुक्त प्रवन्ध गर्न असमर्थ आधा आङ ढाक्ने लुगा लगाएर बस्न बाध्य एक वयस्कलाई त झन भ्यू टावरबाट देख्दै देखिँदैन । देखिन्छ त केवल चारैतिर समृद्धि नै समृद्धि । समग्रममा भ्यू टावर त्यस्तो ठाउँ हो जहाँबाट भुईँमान्छेहरु देखिँदैनन् ।