कोटदरबार/नेपाल रेडक्रस सोसाईटी कोटदरबार उपशाखाले भदौ १९ मा चन्दादाताको नामावली अंकित शिलालेख अनावरण तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
६२ औैं रेडक्रस दिवसको अवसर पारेर उपशाखाले उपशाखालाई पाँच हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग गर्ने दाताहरुको नामाङ्कित शिलालेख अनावरण गरेको हो । शाखा सभापति इन्द्रबहादुर आलेको अध्यक्षतामा आयोजित कार्यक्रममा शिलालेखको अनावरण गर्दै ऋषिङ गाउँ पालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले शिलालेख अनावरण गर्दै कोटदरबार उपशाखाले रेडक्रस अभियानको विस्तारमा निर्वाह गरेको सक्रिय भूमिकाको प्रसंशा
गरे । प्रमुख अतिथी श्रेष्ठले एम्बुलेन्स सञ्चालनमा ल्याएर कोटदरबार उपशाखाले ऋषिङका जनतालाई ठूलो गुन लगाएको बताउँदै रेडक्रसको नवनिर्मित भवनको निर्माण सम्पन्न गर्न आफुले सकेको सहयोग गर्ने बताए ।
उक्त अवसरमा ऋषिङ–६ इम्बीरका अग्नी पीडित टेकबहादुर सार्कीलाई उपशाखाको तर्फबाट नगद तीनहजार र एकसेट भाँडाकुँडा तथा लत्ताकपडा हस्तान्तरण गरिएको थियो । सोही अवसरमा चन्दादातालाई सम्मान समेत गरिएको उपशाखा सभापति इन्द्रबहादुर आलेले जानाकारी दिए ।
शिलालेखमा उपशाखालाई पाँच हजार रुपैयाभन्दा बढी आर्थिक सहयोग गर्ने एकसय ४८ दाताहरुको नाम अंंकित गरिएको छ ।
शिलालेखमा उल्लेख भए अनुसार उक्त उपशाखालाई सबैभन्दा धेरै आर्थिक सहयोग गर्ने ऋषिङ गाउँ पालिका रहेको छ । उक्त गाउँ पालिकाले पाँच लाख ९१ हजार आर्थिक सहयोग गरेको छ । यसैगरी देवघाट गाउँ पालिकाले तीन लाख सहयोग गरेको छ । व्यक्ति तर्फ सबैभन्दा धेरै धु्रव थापा, अर्खालछापले एकलाख ११ हजार १११ आर्थिक सहयोग गरेको छ ।
श्रृङ माविका प्रधानाध्यापक टंकबहादुर थापाले तनहुँ आवाजलाई दिएको जानकारी अनुसार उपशाखाको आयोजनामा सम्पन्न आधारभुत तहको वक्तृत्वकला प्रतियोगितामा श्रृङ्ग मावि ऋषिङ–६ का पासाङ तामाङ प्रथम भए । रेडक्रस र रक्तदानको महत्व शिर्षकमा आयोजित प्रतियोगितामा अमर आवि ऋषिङ–७ की प्रयोग्ना राना द्वितीय तथा सरस्वती आवि ऋषिङ–६ की अनुष्का रानाभाट तृतीय भए । यसैगरी प्रतियोगितामा श्रृङ्ग माविकी दिसना आले र शिवसरस्वती माविकी खुसी विकले सान्त्वना स्थान हासिल गरे । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान प्राप्तगर्ने विद्यार्थीहरुलाई पुरस्कार स्वरुप महावीर पुनद्वारा लिखित पुस्तक तथा निर्णायकहरुलाई आनी छोइङ डोल्माको पुस्तक फूलको आँखामा उपहार दिइएको थियो ।
उपशाखाको भवन रेडक्रस डाँडामा आयोजित शिलालेख अनावरण तथा वक्तृत्वकला प्रतियोगितामा अतिथीको स्वागत उपसभापति खेलीमायाँ थापाले गरेकी थिइन् ।
कोटदरबारमा ६२ औ रेडक्रस स्थापना दिवस
previous post