22.3 C
Damauli
September 16, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

सिकन्दरको अन्तिम इच्छा

रमेश विकल

महाभारतमा उल्लेख गरिएको यक्ष र धर्मराज युधिष्ठिर बीचको सम्वादको एउटा अंशबाट आजको लेख आरम्भ गर्न चाहन्छु । धेरै पाठकले माहाभारतमा उल्लेखित यो सन्दर्भ आफै पढ्नु भएको वा सुन्नु भएको हुनसक्छ । यक्ष प्रश्न नामले आजकल चिनिन थालेको उक्त सम्वादका क्रममा यक्षले युधिष्ठिरसँग जिज्ञासा राखेका छन् “संसारको सबैभन्दा ठूलो आश्चर्य के हो ?” युधिष्ठिरको जवाफ थियो, “हरेक दिन मानिसहरूले अरू मरेको देखिरहेका हुन्छन्, तर बाँकी रहेकाहरूलाई लाग्छ कि उनीहरू सधैं बाँचिरहनेछन् । यो नै संसारको सबैभन्दा ठूलो आश्चर्य हो ।” शायद युधिष्ठिरले यो जवाफ मार्फत धन आर्जन गर्न हामीले गर्ने गरेको भागदौड र जायज–नजायज कामको निरर्थकता प्रष्ट्याउन खोजेका हुन् ।
ठ्याक्कै यही अर्थ बताउने प्रयत्न महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो खण्डकाव्य मुनामदन मार्फत गरेका छन् । उनी लेख्छन्,
‘हातका मैला सुनाका थैला के गर्नु धनले ?
साग र सिस्नु खाएको वेश आनन्दी मनले ।’

मुनामदनको यो अंशले धनलाई हातको मैलासँग तुलना गरेको छ । हामीलाई थाहा छ हातको मैला हात धुनासाथ हुँदैन । धनपनि त्यस्तै चिज हो, जुन अहिले मसंग छ, क्षण भरमै मबाट अन्यत्र जान्छ । त्यसैले धन प्राप्तीका लागि दौडनुभन्दा आनन्दी मनले साग र सिस्नु खानु वेश भन्न चाहेको हुनुपर्छ देवकोटाले ।
गुरु नानकसँग सम्बन्धित सुई र धनी व्यापारीको कथा पनि छ । एक पटक एकजना निकै धनी तर लोभी व्यापारी एक सन्त गुरु नानक कहाँ गए । उनी आफ्नो धनको घमण्ड गर्थे । गुरु नानकले ती व्यापारीलाई एउटा सानो सुई दिए र भने— “यो सुई राख्नुहोस् र म मरेपछि स्वर्गमा भेट हुँदा मलाई फिर्ता दिनुहोला ।” व्यापारी अचम्ममा परे र भने— “महाराज, मरेपछि त एउटा धागो पनि साथमा लैजान सकिँदैन, सुई कसरी
लैजानु ?” तब गुरु नानकले हाँस्दै जवाफ दिए— “यदि तपाईंलाई यो सानो सुई लैजान सकिँदैन भन्ने थाहा छ भने, यति धेरै धन र सम्पत्ति किन थुपार्नुहुन्छ ? किन धनका लागि अरूलाई दुःख दिनुहुन्छ र नचाहिँदा काम गर्नुहुन्छ ? जब सुई त जाँदैन भने यतिधेरै सुनचाँदी कसरी जान्छ ?”
‘धनभन्दा विद्या ठूलो’ यो, म विद्यार्थी छँदा हुने वादविवाद प्रतियोगिताको सर्वाधिक प्रयोग हुने शीर्षक । पहिले वादविवाद प्रतियोगिता हुँदा यो विषयको पक्षमा बोल्न पाउँदा शायद त्यो विद्यार्थी आफुलाई गर्व गर्दाे हो तर अहिलेको अवस्था त्यस्तो छैन । अब त शीर्षक नै विद्याभन्दा धन ठूलो भन्ने बनाउनु पर्ने अवस्था आइसकेको छ । दिनरात आफ्ना आमा बाबु, इष्टमित्र, छिमेकी सबैको धन प्राप्तका लागि भएको छिनाझम्टी, भागदौड र रस्साकस्सी देखेको एउटा बालकले धनलाई छोडेर विद्या ठूलो कसरी भनोस् ? अनि लक्ष्मीप्रसाद देवकोटाको सुनका थैला हातका मैला कथनमा कसरी विश्वास गरोस् ।धन आर्जन गर्ने होडमा वृद्धावस्थाका आमा बुबालाई वृद्धाश्रमको जिम्मा लगाउने अनि छोराछोरी होस्टेलको जिम्मा लगाउनेको संख्या दिन दुगुना रात चौगुना भएको छ । न त हामीसंग अनुभव आर्जित ज्ञानको भण्डार भएका बाबु आमासंग बसेर ति ज्ञान आर्जन गर्ने फुर्सद छ नत छोराछोरीको बालसुलभ व्यवहारमा रमाउने अनि जिज्ञासा मेटाउने फुर्सद नै । आफ्नो सानो सन्तानको कोमल हात समाएर डो¥याउँदै हिड्ने र उसका अगणित जिज्ञासाको संयम पूर्वक जवाफ दिने अनि उनीहरुलाई पिठ्युँमा चढाएर हट् घोडा हट् भन्दै रमाउने अवसर दिने फुर्सद हामीसंग छैन । छिमेकीले घरको तला थप्यो, मैले कहिले थप्ने ? छिमेकीले कार किन्यो, मैले कहिले किन्ने ? छिमेकीले फलानो सहरमा घडेरी जोड्यो मैले कहिले जोड्ने यस्तै अनगिन्ती होडमा सामेल हुँदा हुँदै हामी आफ्नै परिवारसंग टाढा भएका छौं । आफन्तहरुसंग विछोडिएका छौं । छोराछोरीसंग, आमा बुबासंग अनि आफन्त र साथीभाइसंग रमाउन भुलेका छौं । मुखमा कृतिम हाँसो मात्र देखिन्छ । धन कमाउने होडमा पछि परेको हिनताले हामीलाई उन्मुक्त भएर हाँस्न नसक्ने बनाएको छ ।
एउटा सामान्य नागरिक देखि सत्तासञ्चालकहरु सम्म जसलाई हेरेपनि प्रत्येक धनाशक्तीमात्र देखिन्छ । कसरी धेरैभन्दा धेरै कमाउने, कसरी छिमेकको भन्दा अग्लो घर बनाउने, कसरी छिमेकीले चढेको भन्दा राम्रो सवारी साधन चढ्ने भन्ने तर्फमात्र सबैको ध्यान गएको देखिन्छ । धन कमाउनु प¥यो बाटो जुन सुकै
होस् । पैसाकै लागि आफ्ना चेलीबेटी भारतका कालकोठरीमा लगेर बेच्न तत्पर छौं हामी । सम्पत्तीकै लागि जीवनभर साथ दिन्छु भनेर अग्नी साक्षी राखेर कसम खाई ल्याएकी आर्धाङ्गिनीलाई जिउँदै जलाउने पनि हामी नै ।
धनकै लागि दाजु भाइबीच काटमार चलेकै छ । धन आर्जन गर्ने कुरामा हामी यती लालची भएका छौं कि त्यसका लागि हामी मर्यादाका सबै सिमाहरु उल्लङघन गर्न तयार छौं । हाम्रो राजनैतिक नेतृत्वलाई नै हेरौं न । जनताको सेवा गर्छु भन्ने कसम खाएर निर्वाचित भएका हाम्रा नेताहरु जब सत्तामा पुगे, उनीहरुको ध्यान जनताको सेवामा होइन आफ्नो सात पुस्तालाई पुग्ने गरी धेरैभन्दा धेरै धन कसरी कमाउने भन्ने तर्फ लाग्यो । हुँदा खानेहरुको जीवनस्तरमा सुधार ल्याउने नेताका ति कसम सबै पानीका फोका भए । आफ्नै लागि कमाउन र रमाउन थाले । अन्त्यमा इतिहासका सबैभन्दा साहसी, कुशल र महत्वाकांक्षी सेनानायक मानिने विश्वविजेता भनेर चिनिने सिकन्दरका कुरा । ईसापूर्व ३५६ मा प्राचीन ग्रीसको म्यासेडोनियामा जन्मिएका उनी २० वर्षको उमेरमा राजा बनेका थिए । उनका गुरु दार्शनिक अरस्तुले उनलाई साहित्य, दर्शन, विज्ञान र राजनीति सिकाए, जसले सिकन्दरलाई केवल एक योद्धा मात्र नभई एक दूरदर्शी शासक पनि बनायो । आफ्नो जीवनमा कहिले पनि कुनै युद्ध नहारेका उनीले जब मृत्युसँग हार्ने देखे तब उनले महसुस गरेकि उनले जितेका राज्य र थुपारेका सुनचाँदीले उनलाई मृत्युबाट बचाउन सक्दैनन् । उनले आफ्ना सेनापतिहरूलाई बोलाएर तीनवटा अन्तिम इच्छा सुनाए । पहिलो थियो, मेरो शवपेटिका केवल मेरा चिकित्सकहरूले मात्र बोकुन ताकि संसारले जानोस्, संसारका उत्कृष्ट डाक्टरले पनि मृत्युलाई टार्न सक्दैनन् । दोस्रो, चिहानसम्म जाने बाटोभरि मैले कमाएका सुन, चाँदी र बहुमूल्य रत्नहरू छरियोस् ताकि मानिसहरूले देखुन् कि जुन धन कमाउन मैले आफ्नो पूरा जीवन खर्च गरें, त्यो मृत्युपछि मसँग
जाँदैन । र तेस्रो मेरो दुवै हात कफिनबाट बाहिर निकालिदिनु ताकि सबैले देखुन् कि सिकन्दर यो संसारमा आउँदा पनि रित्तै आएको थियो र जाँदा पनि रित्तै जाँदैछ । के हाम्रा अन्तिम इच्छा यस्तै होलान् ? अस्तु ।

Related posts

आकांक्षीको भीड र काँग्रेसको अग्निपरीक्षाः अबको बाटो के ?

admin

एसईई अब सामान्य शैक्षिक खुड्किलो

Deepak Joshi

पन्ध्र प्रतिशतले उब्जाएको तरङ्ग

admin