20.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
कानुनविचार/दृष्टिकोण

अष्टलोह– अर्थ र कानुनी धरातल

ऋषिराम पोख्रेल अधिवक्ता

पृष्ठभूमिः
अष्टलोह एक प्रकारको इच्छा पत्र नै हो । यो इच्छा पत्र आफ्नो अंशभागको सम्पत्ति आफू छँदै दिन चाहेको मान्छेलाइ दिन नपाउने नसक्नेहरुले आफ्नो शेषपछि पनि आफ्नो भाग हिस्सा कायम गरी खान पाउने सक्ने गरी दिने इच्छा पत्रलाइ अष्टलोह भनेर अथ्र्याएको पाईन्छ । नेपाली समाजमा यसको प्रयोग विगत देखि नै हुँदै आएको पाईन्छ । अघिल्ला समयमा धार्मिक भावनाले भएको पाईन्छ भने अहिले कर्म गर्नेलाइ फल दिलाउने अधिकारको प्रयोग भएको बुझ्न सकिन्छ ।
के हो अष्टलोहः
अष्टलोह भनेको खासगरी शेषपछिको बकस पत्र नै हो । फरक के भने अष्टलोहमा कुनै जग्गा धनिको जग्गा दिइएको हुँदैन । कित्ता नम्बर उल्लेख गरिएको हुँदैन । क्षेत्रफल उल्लेख गरिएको हुँदैन । सगोलमा रहेको सम्पत्ति बण्डा नहुँदै कसैलाई आफ्नो भाग अर्को कुनै व्यक्तिलाई दिन मन लाग्यो भने दिन पाइने कानुन अन्तरगत मालपोत कार्यालय तनहुँबाट पारित हुने लिखतलाइ अष्टलोह भनेर बुझ्न सकिन्छ । यो इच्छा पत्र आफ्नो नाउँमा दर्ता श्रेस्ता नै नभएको व्यक्तिले पनि आफ्नो हक लाग्ने सम्पत्ति हक छुट्टिएको बखत अष्टलोह पाउनेले दाखा गरी लिन खान पाउने गरी पारित गरिदिने लिखतलाइ बुझ्नु पर्दछ ।
इच्छापत्रको प्रकारः
आफ्नो नाउँको सम्पत्ति दिएकै मितिबाट खान भोगचलन गर्न पाउने गरी दिने इच्छापत्रलाइ हालैको बकस पत्र भनेर बुझाइएको छ । यस्तो इच्छा पत्र जग्गाधनीले कित्ता नं. र क्षेत्रफल उल्लेख गरेर दिइन्छ । त्यसैगरी शेषपछिको बकस पत्र पनि अर्को प्रकृतिको इच्छा पत्र नै हो । यो लिखत पालन पोषण गर्ने व्यक्तिले काल भेडाएपछि आफने नाउँमा दाखा गरी खान पाउने गरी जग्गाधनीले आफ्नो भागहिस्साबाट कित्ता नं. र क्षेत्र फल उल्लेख गरी मालपोतबाट पारित गरि दिइन्छ । दाताले यो लिखत जिवित छँदै जहिले सुकै बदर गराउन सक्ने व्यवस्था छ । अष्टलोहमा अंश हक सगोलिमा रहेका अंशियारहरुले आफुलाइ देखभाल संरक्षण सुसार गर्ने व्यक्तिलाई आफ्नो भाग हिस्सा खान पाउने गरी कित्ता नं. र क्षेत्रफल उल्लेख नगरी दिने कागज हो ।
हाम्रो अभ्यासः
नेपाली कानुनी अभ्यासमा अष्टलोह, जिउनी जस्ता वाक्याशंहरु कानुनको किताबबाट हटाइएको छ । जीउनीको प्रवधान त कानुनबाटै हटाइयो । अष्टलोह पनि कानुनी किताबहरुमा उल्लेख भएको पाईदैन । तर व्यवहारमा शेषपछिको बकस पत्र कै प्रकृतिको लिखतको रुपमा मालपोत कार्यालयबाट पारित गराउने गरिएको छ । अष्टलोहसंग सम्बद्ध विवादहरु सर्वोच्च अदालतसम्म पुगेर व्याख्या समेत भएको पाईन्छ । यस सम्बन्धमा सर्वोच्च अदालतले २०५८ सालमा भएको व्याख्या अंक ११÷१२ मा प्रकाशित भएको छ । २०६८ सालको अंक ४ मा पनि व्याख्या भएको छ । त्यसैगरी २०८० सालको अंक १२ मा पनि सर्वोच्च अदालतले व्याख्या गरेर आफू जिउँदै छँदै आफ्नो हकपुग्ने चलअचल सम्पत्ति इच्छाएको व्यक्तिलाई दिन पारित गरेका इच्छापत्रलाइ वैधानिकता प्रदान गरेको छ ।
निष्कर्षः
सम्पत्ति माथिको नैसर्गिक अधिकारको प्रयोग यो अष्टलोहबाट गर्न पाएको देखिन्छ । आफ्नो हक हिस्सा नछुट्टिै दिन सकिने यो कानुनले सेवा गरे फल पाउने विश्वास दाता र सेवकमा जगाएको छ ।

Related posts

नेपाल विकास मोडल र आर्थिकक्रान्ति

admin

निर्मलादेखि इनिशासम्म

Deepak Joshi

बहुविवाह सम्बन्धी कानुनी सिद्धान्त

admin