Tanahun Awaj
विचार/दृष्टिकोण

आप्रवासीका दुःख सुख- सम्पदकीय

हरेक वर्ष जस्तै आज डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय आप्रवासी दिवस विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९९० मा संयुक्त राष्ट्रसङ्घले आप्रवासी कामदार र उनीहरूका परिवारको हक अधिकार संरक्षणका लागि अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर सन् २००० देखि यो दिवस मनाउन थालिएको हो । यो दिवस मनाउनुको मूल ध्येय आप्रवासीहरूले पुगेको देशको कानुन अनुसारको सेवा र सुविधा पाउनुपर्छ भन्ने सन्देश फैलाउनु हो ।

नेपाल जस्तो विकासोन्मुख राष्ट्रका लागि आप्रवासन जीविकोपार्जनको एक प्रमुख आधार बनेको छ । अहिले नेपालीहरू रोजगारीका लागि खाडी मुलुक, मलेसिया, दक्षिण कोरियादेखि युरोपसहित विश्वका १९० भन्दा बढी देशमा पुगेका छन् । उनीहरूले आफू र आफ्नो परिवारको उन्नति तथा भलाइका लागि देश बाहिर गएर अथक सङ्घर्ष गर्दै आएका छन् । यसरी विदेशिएका नेपाली श्रमवीरहरूले पठाएको विप्रेषण देशको आयस्रोतमा बढोत्तरी गर्ने कडी बनेको छ । आप्रवासीको हितलाई मानव विकासको फराकिलो दायराभित्रको महत्वपूर्ण अंशका रूपमा स्वीकार गरिएको छ ।
नेपालमा बर्सेनि आप्रवासी दिवस मनाइए पनि आप्रवासी नेपाली कामदारका समस्या भने उल्लेख्य रूपमा घट्न सकेका छैनन् । रोजगारदाताबाट समयमा वा बिल्कुलै पारिश्रमिक नपाउनु, सामान्य स्वास्थ्य उपचार सेवाबाट समेत वञ्चित हुनु, सम्झौतामा तोकिएको काम वा कार्यक्षेत्रभन्दा अन्यत्रै काम गर्न बाध्य हुनु, परिवारसँग सम्पर्क स्थापित गर्न नपाउनु, बेचबिखनको जोखिममा पर्नु जस्ता समस्या अझै थुप्रै छन् ।
आप्रवासी दिवस मनाउनुको सार्थकता तब हुन्छ, जब विदेशमा पसिना बगाउने श्रमवीरहरूको अधिकारलाई पूर्ण रूपमा सुनिश्चित गर्न सकिन्छ । सरकारले तत्काल द्विपक्षीय श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन, गन्तव्य देशमा कार्यरत नेपाली दूतावासहरूको थप सशक्तिकरण र पीडित कामदारको उद्धार तथा क्षतिपूर्तिको प्रक्रियालाई सरल र द्रुत बनाउनु आजको टड्कारो आवश्यकता हो ।
उनीहरुले विप्रेषणले हाम्रो अर्थतन्त्र धानिएको सत्यलाई आत्मसात गर्दै, उनीहरूको मानव अधिकारको संरक्षण गर्नु र समस्या समाधान गरी मर्यादित जीवनको प्रत्याभूति दिन सकेमा हरेक वर्ष आप्रवासी दिवस मनाउनुको सार्थकता रहन्छ ।

Related posts

मधुमेह अर्थात सुगर-सम्पादकीय

admin

प्रतिवेदन सार्वजनिक गर-सम्पादकीय

Deepak Joshi

भोर्लेटार चोकको भित्तो

Deepak Joshi