22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

मताधिकारको लिलाम

रमेश विकल

आज एउटा ठगको कथाबाट आजको आलेख आरम्भ गर्न चाहन्छु । एउटा ख्यातिप्राप्त ठग थियो । उ विभिन्न बहाना बनाएर मानिसहरुलाई ठग्ने गर्दथ्यो । एक दिन राजाले उसलाई दरबारमा बोलाए र आफ्नो ठग विद्याको प्रयोग गरेर आफुलाई ठग्न अग्रह गरे । राजालाई लाग्थ्यो, मलाई यसले अवश्य ठग्न सक्ने छैन । ठगले राजासामु विनम्रता पूर्वक भन्यो, महाराज ठग विद्याको पुस्तक मेरो घरमा छ । त्यो पुस्तक नभएसम्म म कसैलाई ठग्न सक्दिन । घर गएर पुस्तक लिएर आउन त हुन्थ्यो । तर घरमा मेरी श्रीमती सुत्केरी छ । मैले हजुरलाई ठग्ने भनेर पुस्तक लिएर आउन लाग्दा उसले मलाई रोक्नेछे र भन्नेछे, “यदि तिमीले राजालाई ठग्यौ भने उनले तिमीलाई पक्रेर कालकोठरीमा जाक्ने छन् । अनि मेरो स्याहार सुसार कसले गर्छ ? कसले खानेकुरा किनेर ल्याउँछ ? किन्ने पैसा कहाँ पाउने ?” त्यसैले महाराज उसलाई सुत्केरी उम्काउन पुग्ने केही रकम दिनु भएमा म घर गएर पुस्तक लिएर आउने थिएँ । राजाले सोधे कति चाहिन्छ ? उसले भन्यो, जम्मा १० हजार रुपैयाँ मात्र । र रकम लिएर उ दरबारबाट बाहिरियो । तर फर्केर आएन । अनि राजाले आफु ठगिएको थाहा पाए ।
सुशिला कार्काीको नागरिक सरकारले फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन गर्ने घोषणा गरेको छ । सरकारको निर्णयसंगै निर्वाचन आयोगले समेत निर्वाचन कार्यतालिका प्रकाशन गरिसकको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा दल तथा स्वतन्त्र उम्मेदबारहरु घर दैलोमा जाने छन् । उनीहरुको ध्येय मतदाता फकाउनु हुने बुझ्न गाह्रो छैन । नीति निर्माण गर्न नागरिकको प्रतिनिधित्व गरेर जान तम्सेकाहरु विकासे प्रतिवद्धता लिएर गाउँ–गाउँ र घर–घर पुग्ने छन् । मतदातालाई आफ्नो घर दैलोमा आएका यि उम्मेदबारहरु पालिका प्रमुख वा वडाध्यक्षका हुन कि प्रतिनिधि सभा सदस्य उम्मेदबार हुन छुट्याउन कठिन हुनेछ । विकासे प्रतिवद्धता सहित गाउँ–गाउँ र घर–घर चाहार्नु नेताहरुको बाध्यता पनि हो किनभने हामी मतदाताहरु प्रतिनिधि सभा सदस्य बनेकाहरुबाट नागरिकको हित अनूकुल नीति निर्माणको अपेक्षा गर्दैनौं बरु विकासे नेताको भूमिका अपेक्षा गर्छौं । दलका नेताहरुले नै निर्वाचनका बेला आफुहरुलाई विकासे ठेकेदारको रुपमा प्रस्तुत गर्छन् र हाम्रो अपेक्षा पनि त्यस्तै रहन्छ । र चलाख नेताहरु हामीले जे चाहेका हौं त्यही बोलिदिन्छन् , तर थुप्रै सिमितताका कारण भनेको गर्न सक्दैनन । कुनै बेला यस्तो पनि देखिन्छ, जनआकांक्षाको सम्बोधन गर्न चासो पनि दिँदैनन ।
मलाई राम्ररी थाहा छ, राजनीतिकर्म सजिलो कर्म होइन । कठिन कर्ममा लागेका वास्तविक राजनीतिकर्मीहरु प्रति मेरो सदा श्रद्धा रहने छ । त्यसैले कुनै दलका नेता वा निर्वाचनका उम्मेदबारहरुको अपनमान गर्नु, मेरो उद्देश्य होइन । तर हाम्रो राजनीति जुन दिशामा गइरहेकोछ, राजनीतिकर्मीहरुले आफुलाई जसरी प्रस्तुत गरिरहेका छन् अनि जस्तो व्यवहार आमनागरिक र मतदाता प्रति प्रदर्शन गर्छन्, त्यसले केही लेख्नै पर्ने भएको छ । कसैको आत्मसम्मानमा ठेस पु¥याउने उद्देश्य नरहेको फेरी पनि स्पष्ट पार्दै अर्काे एउटा संक्षिप्त सन्दर्भ प्रस्तुत गर्न चाहन्छु अनि थप विषयलाई अगाडि बढाउने छु ।
यो सन्दर्भ सामाजिक सञ्जालमा हेरेको हिन्दी भाषाको भिडियोबाट लिइएको हो । भिडियोमा निर्वाचनका बेला एक उम्मेदबार गाउँमा पुग्छन् । मत माग्ने क्रममा उनले मतदाताका हातमा घरको मतदाता संख्या अनुसार प्रति मतदाता पाँच सयका दरले पैसा दिन्छन् र मत आफुलाई दिन आग्रह गर्छन् । निर्वाचन जित्छन् । केही दिन पछि उनै मतदाता आफुले मत दिएर जिताएका व्यक्ति सामु आफ्ना समस्या भन्न जान्छन् तर ति नेता उनका समस्या सुन्न तयार हुँदैनन् बरु उल्टै आफुले मत किनेकाले कुनै जवाफ देहिता नभएको जवाफ दिएर हिँढ्छन् । भिडियोमा अन्य दृष्य पनि छ तर त्यसको सान्दर्भिकता यहाँ नभएकाले सबै उल्लेख गर्न आवश्यक रहेन ।
माथि नै भनिसकें कि मैले कुनै राजनीतिकर्मीका अनादर गर्न खोजेको होइन तर आम मतदाताको मनमा लागेको कुरा यही हो कि कुनै न कुनै बहाना बनाएर नेताहरु हामीलाई ठगिरहेका छन् । पढ्दा निमिठो लाग्न सक्छ तर माथि प्रस्तुत कथाको ठग जस्तै ठान्छन् नागरिकहरु नेतालाई । निर्वाचनका बेला हाम्रा नेताहरु अनेका आश्वासन बाँड्छन् । यस्तो लाग्छ, कुनै नागरिकले अब स्वास्थ्य उपचारको अभावमा मर्नुृ पर्नेछैन । कुनै गाउँमा स्वच्छ पिउने पानीको अभाव हुनेछैन । कसैले भोकै वस्नु पर्नेछैन । कुनै बालिबालिका विद्यालय जानबाट वञ्चित हुने छैनन् । विद्यालय भवनहरु सुविधा सम्पन्न हुनेछन् र सबै बालबालिकाले गुणस्तरिय शिक्षा प्राप्त गर्नेछन् ।
गाउँ गाउँमा कालोपत्रे गरिएको सडक पुग्नेछ । घरघरमा वृद्ध भत्ता । एक घर एक रोजगारी । यि र यस्तै थुप्रै सपना बाँडेर जनताको विश्वास लिएर निर्वाचन जितेर त जान्छन् तर फर्केर गाउँ आउँदैनन् । दुःखको कुरा निर्वाचन जितेपछि मतदातालाई धन्यवाद दिन गाउँ जाने फुर्सद हाम्रा नेताहरुलाई मिल्दैन । उनीहरुले दिएका आश्वासन पूरा हुने त कुरै भएन । अनि नागरिकलाई लाग्छ, यिनीहरु ठग हुन । राजनीति गर्नेहरुका प्रति चरम अविश्वास व्याप्त छ र शंकाको दृष्टिले हेर्छन् आम मानिस राजनीतिकर्मीलाई । मतदातामा भएको अविश्वास र शंका निवारण गर्ने काम नेताहको स्वयमको हो । जे गर्न सकिन्छ, त्यो बोलेर अनि जे बोलिन्छ, त्यो गरिपु¥याएर ।
पछिल्लो समय निर्वाचन अत्यन्त महंगो भएको अभिव्यक्ति नेताहरुबाट सुन्ने गरिन्छ । हामीले सुन्ने गरेका पनि छौं कि कतिपय राजनीतिज्ञहरुले पैसा नभएका कारण निर्वाचनको टिकट नलिएका । यो सन्दर्भमा नेताहरुभन्दा सायद हामी मतदाता धेरै भागिदार छौं । अरुबेला दालभात भए सन्तुष्ट हुने हामी, निर्वाचन प्रचारमा निस्कँदा मासु नभए घाँटीबाट गास तल झर्दैन । दलिय आस्था, सिद्धान्त केही कुराले हामीलाई छुँदैन, छुन्छ त केबल पैसाले । निर्वाचनको मुखमा जसले धेरै पैसा दिन्छ, उसैलाई मतदान गर्ने हामी मध्ये धेरै छौं । र यसरी जितेका नेताहरु माथिको दोस्रो सन्दर्भमा उल्लेख गरेझैं नहुने कुरै भएन किनभने किनेको मत न हो मतदान गर्ने बेला कर्मचारीले हातको नङमा निलो मसिको दाग लगाईदिने चलन छ । मतदान गरौं र नङमा मात्र दाग लिएर आउँ, स्वाभिमानमा होइन् । अधिकारको विक्रि नगरौं । यसो भएमा समुन्नत नेपाल बन्न समय लाग्ने छैन ।

Related posts

बुधबारबाट लागू आचार संहिता

admin

सम्झना करुणामय न्यायाधीशको, सन्दर्भ आफ्नै

admin

बृद्धआश्रम पनि खुसी खुसी जाऔं

admin