Tanahun Awaj
समाचार

जेन–जेड विद्रोह: ज्वाला बनेका झिल्काहरू

रमेश विकल
–२०७६ भदौमा सिधाकुरा कार्यक्रमका सञ्चालक हाल रास्वपा सभापति रवि लामिछाने आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परे । नुवाकोटका सहकर्मी सालिकराम पुडासैनीले चितवन पुगेर रविका कारण आत्महत्या गर्नु परेको उल्लेख गरेर खिचेको भिडियो सार्वजनिक भएसंगै लामिछानेलाई चितवन प्रहरीले पक्राउ गरेको थियो । शोषण, उत्पिडनमा परेका नागरिकको पक्षमा , वैदेशिक रोजगारीमा जान तयार तर म्यानपावर कम्पनीबाट ठगिएका युवाको पक्षमा अनि भ्रष्टाचारका विरुद्धमा तथा विदेशमा बेचिएका चेलीको उद्धारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने रवि त्यस्तो अपराध गर्न सक्दैनन् भन्ने आम बुझाई थियो । त्यसैले रविका पक्षमा र सरकारका विरुद्धमा नारावाजी नै भयो ।
भ्रष्टाचारलाई राजनैतिक संरक्षण, आफु अन्यायमा परेको भनेर उजुरी दिन जाँदा अनेक बहानामा उजुरी नलिने बरु पिडकलाई संरक्षण गर्ने प्रहरी प्रशासन, फैसला सुनाउने तर न्याय नदिने अदालत, सरकारी कर्मचारीले सर्वसाधारणलाई अनाहकमा दिने दुःख सम्झेका नागरिकले रविको जयजयकार र सरकारको आलोचना गर्दै गरेको प्रदर्शन विद्रोहको झिल्को थियो । १३ महिना अगाडि बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको बलात्कारी हत्यारा राजनैतिक पहुँच वाला भएको बुझाई र त्यसलाई कानूनी कठघरामा ल्याउन भएको ढिलाईले आगोमा मट्टीतेल थपेको थियो ।

– २०७६ कै अन्तिम तिर युवा समुहले “इनफ इज इनफ अभियान सुरु गरे । पृष्ठभूमिमा थियो, कोभिड–१९ महामारी, महामारी व्यवस्थापन गर्न सरकारले देखाएको अक्षमता र हेलचेक्र्याईँ । कोभिड विरुद्धको खोप लगाउन समेत पहुँच चाहिने, खोप तथा मास्क खरिदमा अनियमितता भएको भनि आएका समाचार, सरकार प्रमुखले रोजगारी खोसिएर भोकै हुने अवस्थामा पुगेका नागरिकमाथि गर्ने खिसिट्युरी आदिले युवाहरुलाई संगठित हुन प्रेरित गरेको थियो ।
उनीहरुले यि सबैमा सरकारको ध्यानाकर्षण गर्न २०७७ साउन १६ मा प्रधानमन्त्री निवास बाहिर बालुवाटार प्रदर्शन गरे । सडकमा कुनै हिंसात्मक भीड उफ्रिएन, हिंसा भएन । टायर जलाइएको थिएन र रेलिङ भाँचिएको थिएन । तर यो विद्रोहको अर्काे झिल्को भने अवश्य थियो ।
– २०८१ भदौ १० गते सोमबार गौरा पर्व मनाउन खुल्ला मञ्च टुँडीखेल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा विरुद्ध सहभागी युवाले चर्काे नारावाजी गरे । आफुहरु विरुद्धको नारावाजीबीच संक्षिप्त भाषण गरेका प्रधानमन्त्री ओलीले आफ्ना कमजोरी सच्याउने वचन दिनु साटो नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताए । विपक्षीलाई तल्लो स्तरमा ओर्लेर गाली गर्न माहिर ओली आफ्नै समकालिन नेताको नाम लिँदा मुख कुल्ला गर्नुपर्ने जस्तो तल्लो स्तरको टिप्पणी गर्छन् । आफु प्रधानमन्त्रीबाट हट्नु परे प्रधानमन्त्रीको कुर्सी नै भाँचिदिने भाषण गर्ने, महिलाहरुले संविधान प्रदत्त अधिकारको माग गर्दा एनजिओको ट्याउँट्याउँ भनेर होच्याउने अनि आत्महत्या गर्न नसकेकाहरु शिक्षक हुन्छन् भनेर शिक्षकलाई निकृष्ट गाली गर्ने ओलीले मर्यादा, सभ्यता र शिष्टताको कुरा गरेको मन पराएनन् । चित्त नबुझेको कुरामा प्रश्न गर्न पाउने अधिकारका लागि लडेको बताउने देउवा पनि विरोध पचाउन नसकेर गालीको तहमा उत्रिय ।
तर युवाले निरन्तर नाराबाजी गरिरहे शायद यो अघिल्ला दुइको तुलनामा अनि ठूलो झिल्को थियो विद्रोहको ।
उज्यालोका नायक नामले चिनिएका कुलमान घिसिङको २०८१ चैत्र ११ मा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्ती, टिकटकमा प्रतिबन्ध, विद्युत बक्यौता उठाउन गरिएको ढिलाई, एनसेलको बक्यौता उठाउन गरिएको आनाकानी आदिले विद्रोहको वातावरणलाई मलजल गरिरहेका थिए ।
यि त विद्रोहको विज रोप्ने वातावरण निर्माणका केही उदाहरण भए । अरु यस्ता थुप्रै कारणहरु थिए जसले युवालाई विद्रोहमा उत्रन अझ ककतयार पार्दै थियो । र हरेक नागरिककोे अत्यावश्यक दैनिकी बनेको सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धले विद्रोहको झिल्कोलाई ज्वालाको रुप दिने काम गर्यो । त्यसपछि के भयो, त्यो हामी सामु छ ।
तर दुर्भाग्य, नेतृत्वमा अझै सच्चिने चेत फिरेको देखिएको छैन । बरु उही अभिमान बोकेर उपदेशक बन्दै सडकमा देखिन थालेका छन् ।

Related posts

युवा रेडक्रस सर्कल चण्डिदेवीद्वारा उत्कृष्ट युवा छनौट तथा पुरस्कृत

admin

निर्वाचन नजिकिदै गर्दा दलहरुमा बढ्दो आन्दोलित मानसिकता

admin

ऋषिङकी कल्याणदेवी

admin