21.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

समाजवादी चिन्तकको सम्झना

रमेश विकल

लामो समयदेखी घाँटीको क्यान्सरसंग जुधिरहेका कांग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको निधन भएको भदौं ४ मा तीन वर्ष पूरा भएको छ । गिरीको निधनसंगै नेपाली कांग्रेस पार्टी निर्माण, सत्ता राजनीति र शक्ति प्रयोगका लागि मात्रै होइन, यसको वैचारिक पक्ष छ तर त्यो छाडिँदै गयो भनेर चिन्ता व्यक्त गर्ने अनि विचारभन्दा टाढा रहेर पार्टीको संगठन चल्दैन भन्ने आफ्नो दृष्टिकोणमा अडिग एउटा चिन्तकको अवसान भयो । र सम्भवतः यही दिनबाट उनका सच्चा अुनयायी हौं भन्ने गगन , विश्वप्रकाशहरुले उनलाई पछ्याउँदै विचारको राजनीति गरिरहे भने बाहेक कांग्रेसबाट विचारको राजनीतिको पनि निरन्तर अवसान भइरहेको छ ।
प्रदीप गिरीका समग्र पक्षका बारेमा यो सानो आलेखमा लेखेर अटाउन सम्भव छैन । तर केही सन्दर्भहरु उल्लेख गर्न मन लागेको छ, जसले मृत्यु पर्यन्त नै किन नहोस् उनलाई चिनाउन सघाउने छ । यतिबेला मलाई तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटका सन्दर्भमा स्व. गिरीले व्यक्त गरेको विचार सम्झना भइरहेको छ । खतिवडाले आफ्नो वजेटमा उल्लेख गरेका थिए, “नेपालको विकास गर्न सुविधायुक्त सहर बनाउनु जरुरी छ र यो बजेट सुविधायुक्त सहर बनाउँदै देशलाई विकास र समृद्धिको मार्ग तर्फ डो¥याउन केन्द्रीत छ ।” खतिवडाको बजेटमा उल्लेखित यही वाक्याँश दोहो¥याउँदै गिरीले संसदमा बजेट माथिको छलफलमा भाग लिने क्रममा भनेका थिए, “सुविधायुक्त सहर बनाएर होइन सुविधायुक्त गाउँ बनाएर मात्र नेपाललाई विकास र समृद्धिको मार्गमा लैजान सकिन्छ । बजेटमा संलग्न सहर शब्दलाई गाउँ बनाउन सके बजेटमा सहमति जानउन सकिन्छ ।”
गिरीले संसदमा प्रस्तुत गरेको यो विचार सुन्दा र सम्झँदा तत्कालिन एमाले नेता घनश्याम भुसालले भने जस्तै थिए उनी भन्ने लाग्छ । भुसाल भन्छन्, सबै मानिस आ–आफ्नो समयमा बाँच्छन् तर केहीले मात्रै आफू बाँचेको समयको कुरा बुझ्छन्, आफू बाँचेको समयको कुरा बुझ्ने सबैले त्यसलाई भाषा दिन सक्दैनन्, भाषा दिन सक्नेहरूमध्ये सबैले त्यस्तो भाषा बोल्ने हिम्मत गर्दैनन् । प्रदीपजी ती व्यक्ति हुन् जसले आफ्नो युगको कुरा बुझे, त्यसलाई भाषा दिए र दुनियाँसामु जोडजोडले बताइरहे ।

स्व. गिरी सत्ता राजनीतिका प्रति कति निरपेक्ष थिए भन्ने सन्दर्भमा २०५६ को प्रतिनिधि सभाको निर्वाचन ताकाको एउटा सन्दर्भले स्पष्ट पार्दछ । उक्त निर्वाचनमा नेपाली कांग्रेसले सन्त नेता कृष्णप्रसाद भट्टराईलाई निर्वाचन पछिको प्रधानमन्त्रीका रुपमा अघि सारेको थियो । भट्टराई गिरीको गृहजिल्ला सिराहा पुगे र चुनावी सभालाई सम्बोधन गर्दै भने, “तपाईहरु गिरीलाई जिताएर पठाउनुस् म उहाँलाई शक्तिशाली मन्त्री बनाउँछु ।” गिरीले निर्वाचन जितेनन् । जितेका भए पनि भट्टराईले उनलाई मन्त्री बनाउन सक्ने थिए वा थिएनन्, त्यो इतिहासको खोजी गर्नेहरुका हातमा छोडिदिउँ । तर गिरीले त्यसलाई आफु सकिनबाट भगवानले बचाएको भन्ने अर्थ लगाएका थिए ।
उनले त्यस सन्दर्भमा भनेका थिए, ‘मैले चुनाव जितेको भए किसुनजीको आग्रह टार्न सक्दिनथेँ होला र शायद म मन्त्री बन्थें हुँला । खुसी छु किनभने म निर्वाचनमा पराजित भएँ । मलाई मन्त्री बन्नबाट भगवानले बचाउनुभयो । ‘‘मन्त्री हुँदा स्वतन्त्रता गुम्छ, मैले मनमौजी गर्न मिल्दैन, मेरो आफ्नो स्वतन्त्रता र आफ्नैपनको जीवन गुम्न पनि
सक्छ । मन्त्री भएपछि मेरा सबै जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने हुन्छ, म फुटपाथमा हिँड्दै त्यहाँका पुस्तक पढ्न नपाउने स्थितिमा पनि पुग्न सक्छु, मप्रति जनताका आशा अपेक्षा बढी होलान्, त्यसैले मलाई व्यक्तिगत जीवनमा हस्तक्षेप मान्य छैन ।’’
राजनीति सेवा कम, व्यवसाय ज्यादा बनेको वर्तमानमा राजनीतिमा लागेर पद र शक्ति आर्जनको सपना नदेख्ने नेता कमै छन् । तर नेपाली राजनीतिमा करिब पाँच दशकसम्म प्रभावशाली भूमिका निभाएका गिरीले पद र सत्ता प्राप्तिका लागि आशक्ति कहिल्यै देखाएनन्, जुन कुरा माथि प्रस्ततु सन्दर्भबाट प्रष्ट हुन्छ । संसद पदको पारिश्रमिक पाएको दिन काठमाण्डौका पुस्तक पसलमा पसेर किताबहरु किन्ने अनि आफुलाई चिन्तन र मननमा डुवाउने गिरी नेपाली कम्युनिस्टका लागि माक्र्सवाद पढाउने व्यक्ति थिए । त्यसैले त उनलाई अलिक संकिर्ण विचार बोक्ने कांग्रेसहरु नेपालमा माक्र्सबाद पढाएर कम्युनिस्ट बढाउने भन्दै आलोचना गर्ने गर्दछन् ।
नेपाली कांग्रेस फुटेका समयमा शेरबहादुर नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिकमा लागेका उनले उक्त पार्टीमा “कदमजम” का आधारमा पार्टी र राज्य संरचनामा प्रतिनिधित्वको अवधारणा प्रस्तुत गरेर पार्टीमा त कार्यान्वयन समेत गरेका थिए । पहिले पार्टी अनि राज्यमा कर्णाली (क), दलित (द), मधेसी (म), जनजाति (ज) र महिला (म) को आधारमा प्रतिनिधित्व हुनपर्छ भन्ने उनको विचार नेपाली समाजको संरचनागत विभेदलाई अन्त्य गर्ने सन्दर्भमा अत्यन्त महत्वपूर्ण रह्यो ।
पहिला नेताहरुले क्रियाशिल सदस्य छान्ने अनि पछि तिनै क्रियाशिल सदस्यले नेता छान्ने कांग्रेसको विद्यमान परिपाटी पनि गिरीलाई पटक्क चित्त बुझको थिएन् । कांग्रेसको पार्टी संरचना उदार र खुल्ला प्रकृतिको हुनपर्छ भन्ने उनको धारणा थियो । कुनै पनि पार्टी जीवन्त रहन त्यहाँ भित्र संघर्ष हुनुपर्ने अनि अधिकारको आन्दोलन हुनुपर्ने गिरी लामो समय एउटै व्यक्ति पार्टी नेतृत्वमा लामो समय रहँदा नविन विचारले प्रश्रय पाउन नसक्ने र नेता तथा कार्यकर्तामा उत्साह नहुने विचार राख्थे ।
कांग्रेस महामन्त्री गगन थापाले भनेझैं नयाँ पुस्ताका राजनीतिकर्मीहरुले उहाँबाट सिक्नुपर्ने कुरा भनेको राजनीति केका लागि भन्ने हो ? अबका युवाले म राजनीतिका किन छु भनेर आफैलाई प्रश्न गर्नुपर्छ । जवाफ हुन्छ, समाजमा सकारात्मक परिवर्तनका लागि । र परिवर्तनका लागि कुनै कार्यकारी पदमै रहेर काम गर्नुपर्छ भन्ने छैन भन्ने जवाफ प्रदीपलाई सम्झँदा प्राप्त हुन्छ । जीवित छँदा गिरीको आदर्शको अनुसरण गर्ने चासो नदेखाएको कांग्रेसले थोरै भएपनि उनका आदर्शको अनुशरण गर्ने जाँगर गरोस्, तेस्रो वार्षिकीको अवसरमा यही कामना साथै आदर्शवादी राजनीतिज्ञ गिरीका प्रति शब्द श्रद्धा ।

Related posts

मेरो रेडियो

admin

विकासमा जनप्रतिनिधिको भूमिका

admin

एसइइको शुभकामना-सम्पादकीय

admin