Tanahun Awaj
विचार/दृष्टिकोण

भिखारीको नियतिमा शिक्षक

रमेश विकल

एउटा भिखारी कुनै घरमा दैनिक भिक्षा माग्न जान्थ्यो । ढोकामा एक वृद्धा बसिरहेकी हुन्थिन् । उनले भिखारीलाई हेयको भावले हेर्थिन र भिक्षा दिन अस्विकार गर्थिन । उनी थप्थिन, तिम्रो कुनै काम छैन सधैं माग्न आउने । हाम्रो घर बाहेक अरु कुनै घर देख्दैनौ माग्न ? भिखारी दिनदिनै माग्न आउँथ्यो, वृद्धा त्यसरी नै उसलाई हप्काउँदै पठाउँथिन् ।
एकदिन वृद्धा कतै गएको बेला भिखारी आयो र केही दिन भन्यो । घरमा बुहारी थिइन्, उनले पनि सासुले जस्तै केही दिन नसक्ने बताइन् । भिखारी फर्कँदै थियो, बाटोमा वृद्धा भेट भईन् । उनले भिखारीलाई सोधिन, कता गएर आएको ? भिखारीले भन्यो, हजुरको घरमा गएको थिएँ । वृद्धाले सोधिन, केही पायौं ? भिखारीले भन्यो, कहाँ पाउनु । हजुरकी बुहारीले दिन मान्नु भएन । बुहारीले दिन अस्विकार गरी ? त्यो को हो दिन्न भन्ने ? फर्केर हिँड । भिखारीले सासु बुहारीको झगडाले आफुलाई फाइदा हुने सम्झ्यो र वृद्धासंगै उनको घर गयो । घर पुगेर वृद्धाले बुहारीसँग सोधिन, तिमिले दिइनौं ? जवाफमा बुहारीले भनिन्, दिन अस्विकार गरें आमा । किन नदिएकी ? वृद्धाले पुनः सोधिन । हजुर दिनु हुन्थेन, त्यसैले मैले पनि दिन अस्किार गरें । झोंक्किँदै वृद्धाले भनिन्, किन अस्विकार गरेकी ? मैले जे गर्छु तिमीले त्यही गर्ने ? मेरो बराबरी हुन खोज्ने ? हिजो आएर मेरो घरमा हैकम चलाउन खोज्ने ? मैले जे भन्छु, त्यो हुन्छ । तिमीले कसरी भिक्षा दिन्न भन्यौं ? बुहारीले गल्ती भएकोमा माफी मागिन् तर बृद्धाको चित्त बुझेन उनले थपिन्, यो गल्ती मात्रै हो ? मसंग बराबरी गर्न खोज्नु अपराध हो । अक्षम्य अपराध । भिखारीले सोच्यो अब मैले केही पाउँछु । तर बृद्धाले बुहारीलाई गाली गर्दै भनिन्, भिक्षा नदिने भए म दिन्न भन्थें । तिमी को हौं दिन्न भन्ने । र भिखारीतिर फर्केर भनिन्, बाबा जाउ तिमीले केही पाउँदैनौं ।
नेपालका शिक्षकहरुले सरकारसँग पुरानो ऐनलाई विस्थापन गर्दै नयाँ ऐन जारी गर्न माग राखी रहे । सोही क्रममा सरकार र शिक्षकहरुबीच २०७५ सालमा, २०७८ सालमा र २०८० सालमा सम्झौता भए । शिक्षकका मागहरु समेट्दै ऐन जारी गर्ने सम्झौता गरेका सरकारहरु आफैले बनाएको संविधानको व्यवस्था कार्यान्वयन गर्न उदासिन रहे । र अहिले शिक्षकहरु नयाँ ऐन नलिइकन विद्यालय नफर्किने भन्दै काठमाण्डौँ केन्द्रीत आन्दोलनमा छन् । तर आन्दोलनरत शिक्षकको अवस्था भने माथि उल्लेख गरिएको कथाको भिखारीको जस्तै छ । केही पाउँछु कि भन्ने आशा राख्यो । दिने कसैले होइन । दिन्छन् त केवल आश्वासन ।
कथामा पनि वृद्धा छन् र सरकारको नेतृत्वमा पनि तीन वृद्धहरु पालैपालो छन् । कथाकी वृद्धाले त बरु हाक्कै दिन्न भन्छिन् तर यहाँ त दिन्छु भन्छन्, सम्झौता गर्छन् तर दिँदैनन् । एक पटक विगतलाई फर्केर हेरौं न । २०७५ सालमा शिक्षकले आन्दोलन गर्दा सरकारको नेतृत्वमा खड्गप्रसाद शर्मा ओली थिए । उनले आश्वासन दिए तर ऐन दिएनन् । २०७८ मा फेरी उहि माग राखेर शिक्षकहरु आन्दोलनमा उत्रिए । त्यतिबेला प्रधानमन्त्रीको कुर्सीमा विराजमान थिए, शेरबहादुर देउवा । उनले पनि सम्झौता गरे । तर काम गरेनन् । २०८० असोजमा शिक्षक फेरी आन्दोलनमा उत्रिए । काठमाण्डौंमा विशाल प्रदर्शन भयो । प्रधानमन्त्री थिए, पुष्पकमल दाहाल । उनले पनि सोेही हिउँदे अधिवेशनमा विधेयक पेश गरेर संसदबाट पारित गर्ने आवश्वासन दिए तर कामको नाममा केही गरेनन् । समग्रमा भन्नु पर्दा शिक्षा ऐन देउवा, ओली र दाहाल कसैको पनि प्राथमिकतामा परेन ।
दशकौं अगाडी बेलायतका तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरलाई निर्वाचनका बेला सोधिएको तपाईँका मुख्या तीन प्राथमिकता के हुन् भन्ने प्रश्नमा उनको जवाफ थियो रे, मेरो पहिलो प्राथमिकता शिक्षा, दोस्रो प्राथमिकता शिक्षा र तेस्रो प्राथमिकता शिक्षा । तर हाम्रा यि वृद्ध नेताहरुलाई उनीहरुका प्रमुख तीन प्राथमिकता सोध्यो भने उनीहरु भन्ने छन्, सत्ता, सत्ता र सत्ता । यता शिक्षकहरु–जसकोे प्राथमिकता केवल सत्ता छ, उसँगबाट शिक्षामा सुधारका अपेक्षा गरेर आन्दोलन गरिरहेका छन् । शौचालयको सोच बोकेकासँग मन्दिरकोे कुरा । पढ्दा नमिठो लाग्छ तर यो नेतृत्वबाट सुधारको अपेक्षा राख्नु झिँगाले मह दिएन भनेर गुनासो गर्नु जस्तै होे ।
शायद सत्ताका भोेगी वृद्ध नेताहरुसँग शिक्षकहरुको अपेक्षा थिएन् । उनीहरुले केही आशा युवा भनिएका नेताहरुबाट राखेका थिए । जसरी भिखारीले बुहारीले केही दिन्छिन् कि भन्ने आशा राखेको थियो । तर युवा नेता भनाउँदाहरु पनि कथाकी बुहारी जस्तै देखिए । बुहारी सासु नदिएका कारण भिक्षा दिन अस्विकार गर्ने यता युवा भनाउँदा नेताहरु बुढा नेताको फेर समातेर माथि जाने लोभमा शिक्षकका मागको वेवास्ता गर्ने । वास्ता गरेजस्तो गरेकाहरुको वास्तविकता पनि बुहारी कै । बराबरी हुन खोजेको भनेर खप्की खाइने डरले कार्यान्वयनमा दवाव दिन डराउने । शिक्षकहरु सडकमा रहँदासम्म केही गरे जस्तो, गर्र्न खोजे जस्तो गर्ने तर विद्यालय फर्कना साथ विधेयकका मस्यौदा थन्क्याएर सांसदहरु निर्वाचन क्षेत्र र विदेश सयरमा निस्कन छाडेनन् । झिँगाको संगतले फोहरमा पुगिन्छ भन्ने उखान यहाँ चरितार्थ भयो शायद र सत्ताका लोभी नेताको संगतले युवाहरु पनि सत्ता बाहेक केही नसोच्ने भए । सुशासन, विकास, समुन्नति त भन्ने कुरा मात्र भए । भए भरका प्राथमिकतामा केवल सत्ता । जन आवाज बोल्ने थलो भनिएको संसदमा कुर्सी फेरिएपछि विचार नै फेरिने । फरक विचार राख्नेहरुका प्रति छुद्र टिप्पणी र तल्लो स्तरको गाली । काही पनि भोका, बस्त्र विहिन, शिक्षाको अधिकारबाट वञ्चित, सिटामोल नपाएर हप्तौं ओछ्यानमा परेका र मृत्युको मुखमा पुगेका तल्लो तहका नागरिकको आवाज उठाउन तयार देखिँदैन ।
माथिको कथामा जसरी सासु बुहारी नै भिखारीलाई केही नदिने कुरामा एकमत छन् । त्यसरी नै जनआवाज खासगरी अहिलेको सन्दर्भमा दुइ साता देखि काठमाण्डौंको सडकमा आन्दोलन गरिरहेका शिक्षकको आवाज वेवास्ता गर्ने मात्र होइन बरु उनीहरुलाई दुत्कार्ने, होच्याउने, खिसिट्युरी गर्ने मामलामा दलका सबै तहका नेताहरु एकमत छन् । आन्दोलन स्थलमा आएर ऐक्यवद्धता जनाएको वा छलफल चलाएर अग्रसरता लिएको नाटक गर्नेहरुसँग आम शिक्षक र शिक्षक नेतृत्व सजग हुनु जरुरी छ । शिक्षकहरुले बुझ्नु जरुरी छ, कोही पनि शिक्षकको माग सम्बोधन गर्न र सहजै शिक्षक विद्यालय फर्किउन भन्ने सोचमा छैनन् । गैंडाको छालाको चेतना भएको राजनैतिक नेतृत्वको चेतना जागृत गर्न शायद अब शिक्षकहरुले आन्दोलनको स्वरुपबारे विचार गर्नुपर्छ ।

Related posts

सफाई पाउँदा पनि चित्त नबुझ्ने अवस्था

Deepak Joshi

नियात्रा: मुक्तिनाथ सम्मको यात्रा

admin

ज्याला मजदुरी सम्बन्धी व्यवस्था

admin