Tanahun Awaj
Uncategorized

माध्यमिक शिक्षा परीक्षा(एसइई)आजबाट

देशभर पाँच लाख १४ हजार ७१ परीक्षार्थी

दमौली/राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गर्ने यसवर्षको माध्यमिक शिक्षा परीक्षा आजबाट सुरु भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यसवर्षको परीक्षामा विद्यार्थीहरुको सङ्ख्या गत वर्षभन्दा ४९ हजार दुई सय ८६ जना बढेर पाँच लाख १४ हजार ७१ जना रहेको जानकारी गराएका छन् । नियन्त्रक पौडेलले परीक्षाको मर्यादा उल्लङ्घन गर्ने परीक्षार्थीलाई निष्कासन गर्ने, विषय रद्द गर्ने, एक वा दुई वर्षसम्म पनि परीक्षा दिनबाट वञ्चित गर्न सकिने प्रावधानहरु रहेको तथा कर्मचारी, शिक्षकको हकमा कारवाही स्वरुप स्पष्टीकरण सोध्ने, ग्रेडवृद्धि, बढुवा रोक्ने जस्ता विभागीय कारवाही हुने बताए ।
यो वर्ष काठमाडौंबाट सबैभन्दा धेरै ३९ हजार ६ सय विद्यार्थी एसइईमा सहभागी हुने भएका छन् भने सबैभन्दा कम विद्यार्थी मनाङमा छन्, जहाँबाट ४३ जना विद्यार्थीले एसइई दिँदै छन् ।

कार्यालयले यस वर्षको एसइईका लागि देशभर दुई हजार ७९ तथा जापानका एक परीक्षा केन्द्र निर्धारण गरेको छ । २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् । चैत १९ सम्म सञ्चालन हुने परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तिर्ण भएका थिए । २०८२ वैशाख मसान्त भित्र उत्तर पुस्तिका परीक्षण तथा सम्परीक्षण सकेर असार ६ गते भित्र नतिजा प्रकाशन गर्ने कार्यतालिका पनिकाले सार्वजनिक गरेको छ ।
यसैबीच गत सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले देशभर आजबाट सञ्चालन हुने एसईईलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न निर्देशन दिएकी छन् । परीक्षामा नियमविपरीत कार्य गर्ने जो कोहीलाई पनि कठोर कारबाही गरिने चेतावनी दिँदै उनले मर्यादा कायम राख्न इकाई प्रमुखसमेत जिम्मेवारी हुनुपर्ने औंल्याइन् ।
तनहुँमा २६ केन्द्र,छ हजार तीन सय दुइ परीक्षार्थी
तनहुँमा भने नियमित तर्फ चार हजार आठ सय ४४, प्राविधिक तर्फ एक सय तेत्तीस र ग्रेडवृद्धि तर्फ एक हजार तीन सय २५ गरी कूल छ हजार तीन सय दुइ जना एसइईमा सहभागी हुँदैछन् ।
शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका अनुसार परीक्षा सञ्चालनका लागि जिल्ला भर २६ केन्द्रहरु तोकिएका छन् । इकाइका अनुसार सत्यवती माविबाट एसइईमा सहभागी हुने विद्यार्थी संख्या सबैभन्दा धेरै छ । सत्यवतीबाट दुइ सय ७१ जना सहभागी हुँदैछन् भने सबैभन्दा थोरै गणेश मावि म्याग्देबाट दुइ जना परीक्षार्थी एसइईमा सहभागी हुँदैछन् ।
यसैगरी सबैभन्दा धेरै चार सय ११ परीक्षार्थी निर्मल मावि केन्द्रमा तथा सबैभन्दा कम एक सय ४१ परीक्षार्थी चन्द्रावती मावि भानुमा रहेका छन् ।

Related posts

नेकपा भित्रको अन्तर कथा- चिसै पानीले नुहाउँदै दाहाल–नेपाल

admin

जनता अन्योलमा

admin

राहत रकम हस्तान्तरण

admin