Tanahun Awaj
समाचार

अस्तित्व संकटमा नेपाल रेडक्रस

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटिहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) को अनुपालन तथा मध्यस्थता समिति (सीएमसी)ले नेपाल रेडक्रस सोसाइटीको आबद्धता खारेज गर्न सिफारिस गरे संगै नेपाल रेडक्रस सोसाइटीको अस्तित्व संकटमा परेको छ ।
यसअघि सीएमसीले प्रा. सुदर्शनप्रसाद नेपाल तथा नेत्र तिमल्सिनाको नेतृत्वमा रहेका रेडक्रसका दुवै समानान्तर समितिलाई २४ फेब्रुअरी २०२५ को अन्तिम समयसीमा तोकेर गर्नुपर्ने कामको सूचि सहित ‘अल्टिमेटम’ दिएको थियो । दुवै समूहले रेडक्रसको विधान संशोधन गर्ने र संशोधित विधानअन्तर्गत मे, २०२५ भित्र निष्पक्ष र खुला निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । तर सीएमसीले दिएको मितिमा दुवै समूहबीच सहमति जुट्न सकेन । पाँचौं पटक राउन्ड टेबलमा सहमति नजुटेपछि सीएमसीले यस्तो सिफारिस गर्नुपरेको जनाएको छ । तोकिएको समयमा गर्नुपर्ने काम नगरेपछि आबद्धता खारेज गर्ने निष्कर्षमा सीएमसी पुगेको बताइएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय मान्यताअनुसार ६६ सदस्यीय कार्यसमिति नै बनाउन पाइँदैन । तर नेपालको नेतृत्वमा ६६ सदस्यीय कार्यसमिति रहेको छ ।
आधा दशकदेखि विवादमा रहेको रेडक्रसमा समस्या समाधान गर्नुभन्दा सरकारले यसलाई कार्यकर्ता भर्ती केन्द्र बनायो। जो सरकारमा गयो उसले पुरानो समिति भंग गर्ने र आफू निकटलाई समिति राख्ने काममात्रै ग¥यो। भ्रष्टाचार, अनियमितता आदिका कारण थिलथिलो भएको नेपाल रेडक्रस अब प्रतिबन्धको अवस्थामा नै पुगेको छ ।
विभिन्न विवादमा परेपछि तत्कालीन अध्यक्ष सञ्जीव थापाको कार्यसमिति भंग गरेर २०७७ साउन १२ मा नेत्र तिम्सिनालाई ओली नेतृत्वको तत्कालीन नेकपाको सरकारले अध्यक्ष बनाएको थियो ।
ओली सरकार हटेपछि देउवा सरकारले नेपालको नेतृत्वमा अर्को तदर्थ समिति बनायो । लामो समय नेपाल र तिमिल्सिनाको नेतृत्वमा समानान्तर दुई कार्यसमिति क्रियाशील रहे । अदालतको अन्तरिम आदेशको आधारमा तिमिल्सिनाको समितिलाई आधिकारिकता दिए पनि नेपालको समितिले सत्ताको भरमा तिमिल्सना कार्यसमितिलाई रेडक्रसमा प्रवेशसम्म पनि दिएन । पछिल्लो समय कांग्रेस र एमालेको सरकार बनेपछि पुनः नेपालको नेृतत्वमा नयाँ कार्यसमिति बन्यो । विशाल भण्डारीले समानान्तर कार्यसमिति बनाए । दुवै कार्यसमितिलाई आईएफआरसीले मान्यता दिएन ।
सीएमसीले आईएफआरसीको गभर्निङ बोर्डलाई यस्तो सिफारिस गरेको भएपनि अन्तिम निर्णयको अधिकार भने बोर्डलाई हुनेछ ।

Related posts

माघ २२ मा देशभरका सिनेमा हल बन्द हुने

admin

ज्ञान आर्जन गर्ने भोक

admin

व्यासकाे ३६ औं नगरसभा

admin