20.6 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

महोत्सवमय तनहुँ: होला अर्थतन्त्र चलायमान, पुग्ला बजारीकरणमा टेवा ?

रमेश विकल
स्थानीय कृषि उत्पादनको बजारीकरणमा सहयोग पुग्ने आशा सहित मंगलबारबाट प्रथम भानु महोत्सव आरम्भ भएको छ । मंगलबार भानु नपा–१ भन्सारमा प्रथम भानु नगर महोत्सवको उद्घाटन् गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई नेपालकै उत्कृष्ट साहित्यिक तिर्थस्थलका रूपमा विकास गर्नु पर्ने बताए । उद्घाटनको अवसरमा बोल्ने सबैको झण्डै एउटै बोली थियो, महोत्सवले स्थानीय उत्पादनको बजारिकरणमा टेवा दिने छ । चुँदीरम्घालाई साहित्यिक तिर्थस्थलको रुपमा विकास गर्न सहयोग पुग्नेछ । देश भित्रै थुप्रै सम्भावना रहेकाले उद्योग तथा व्यापारको क्षेत्रमा लगानी गर्न आग्रह गर्न समेत मञ्चको प्रयोग बक्ताहरुले गरे ।
‘कला, साहित्य शिक्षा र पर्यटन कृषि व्यापार उद्योग भानुको पहिचान’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा १ सय २० वटा स्टलहरु रहेका छन् । १ लाख ५० हजार दर्शकहरुले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा झण्डै ३ करोडको आर्थिक करोबार हुने लक्ष्य राखिएको आयोजकले बताएका छन् । पौष १९ सम्म चल्ने महोत्सवको नाफाबाट भानु नगर उद्योग वाणिज्य संघको अधुरो भवन निर्माण सम्पन्न गर्ने योजना पनि आयोजकको छ ।
जिल्ला सदरमुकाम दमौलीमा पनि पौष २५ गते बाट कोभिड पछि सुस्त भएको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य रोखेर महोत्सव गर्न लागिएको छ ।

तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने नारा सहित तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा गर्न लागिएको महोत्सवमा कृषि र घरेलुका स्टल निशुल्क उपलब्ध गराइने आयोजकले जनाएको छ । स्थानीय उत्पादन, घरेलु सामग्रीको बजारीकरणमा सहयोग पुग्नुका साथै पर्यटकीय स्थलको प्रचारप्रसारमा टेवा पुग्ने विश्वास सहित गर्न लागिएको महोत्सवको दुइलाख बढी दर्शकले अवलोकन गर्ने तथा पाँच करोड रुपैयाको कारोबार हुने अपेक्षा आयोजकको छ । महोत्सवमा खाना, कृषि उत्पादन, अटो, सूचना केन्द्र लगाएतको दुइसय स्टल रहने छन् ।
यस्ता मेला महोत्सवले सुस्त भएको अर्थतन्त्रलाई चलायमाना बनाउने कुरामा शंका छैन तर त्यसको लाभ कसले
लिन्छ ? भन्नेमा भने विगतका महोत्सवहरु हेर्दा शंका गर्ने र प्रश्न गर्ने ठाउँ छ । शिक्षा, स्वास्थ्यसंग सम्बद्ध विषय उपेक्षामा पर्ने यस्ता महोत्सवको लाभ स्थानीय उत्पादक तथा व्यापारीलेभन्दा भारतीय व्यापारीले लिने गरेको आवाज उठ्ने गरेको छ । महोत्सव स्थलमा पानी देखि लिएर खाने कुरामा लिइने अनपेक्षित मूल्यका बारेमा बारम्बार आवाज उठ्ने तर आयोजकहरुले यस्ता कुरामा आँखा चिम्लेन गरेको आरोप लाग्ने गरेको छ ।
अर्थतन्त्र चलायमान बनाउने नाममा कतै महोत्सवहरुले ग्रामिण नागरिकको सानो सानो वचतलाई परिचालन त गर्ने तर त्यसको लाभ अरु कसैले लिने अवस्था बनिरहेको त छैन ? यस तर्फ सोच्नु जरुरी छ ।

Related posts

विपद् प्रतिकार्य सम्बन्धी सचेतना

admin

चण्डिदेवीमा निःशुल्क आँखा शिविर

admin

शिक्षा र स्वास्थ्य समता शुल्क फिर्ता-जनमुखी निर्णय कि आन्तरिक शक्तिको टकराव ?

Deepak Joshi