23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

सरस्वतीका प्रसादको सम्झना र श्रद्धा

रमेश विकल

आज हिन्दु सभ्यताका अनुयायीहरुको दोस्रो ठूलो पर्व तीहरको तेस्रो दिन अर्थात लक्ष्मी पूजा । धनधान्यकी देवी लक्ष्मीको पूजा गर्ने भएकाले मात्र होइन साहित्यानुरागी नेपालीका लागि यो दिन विशेष महत्वको छ । किनभने यो दिन नेपाली साहित्यका उज्ज्वल नक्षेत्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म भएको दिन हो ।
अछामको देवकोट गढीका बासिन्दा भएकाले देवकोटा कहलाउन थालेका लक्ष्मीप्रसादको जन्म १९६६ कार्तिक २७ गते लक्ष्मीपूजाको दिन भएको थियो । न्वारनको नाम तीर्थमाधव भएपनि बुबा तिलमाधवले लक्ष्मीको प्रसादको रुपमा ग्रहण गर्दे उनको नाम लक्ष्मीप्रसाद राखेका थिए ।
१० वर्षको उमेरमा उनले लेखेको कविताको दुई लाइन मात्र अध्ययन गर्ने हो भने पनि उनमा भएको विशिष्ट क्षमता सहजै आँकलन गर्न सकिन्छ । उनले लेखेका छन्,
“घनघोर दुःख सागर संसार जान भाई
नगरे घमण्ड कहिले मर्नू छ हामीलाई”

भनिन्छ, अघिल्लो पटक संस्कृतमा कविता लेख्दा यस्तो बेकम्मा कविता लेखेको भनेर उनको हातबाट खोसेर फ्याँकेका देवकोटाका बुबा यो कविता पढेपछि खुसी भएका थिए । हामी मुहारले राम्रो भएकोमा वा सम्पन्न भएकोमा वा राम्रो कुलमा जन्मेकोमा वा अन्य थुप्रै कारणहरुले अभिमान गरिरहेका हुन्छौं तर देवकोटाले १० वर्षको उमेरमा नै मानव जीवन क्षणिक भएकाले कुनै पनि कुरामा अभिमान गर्न नहुने बुझेका
रहेछन् । १० वर्षमै जीवनको यो वास्तविकता बुझेर त्यसलाई लिपीमा उतार्ने क्षमता अरु सबैमा कहाँ हुन्छ र ?

“क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन”

मुनामदन नामक खण्डकाव्यको माथि उल्लेखित अंश मार्फत आजभन्दा ७ दशक अगाडि जातिय समानताका पक्षमा देवकोटाले उठाएको आवाज साँच्चै प्रशंसनिय छ । हामी कहाँ विद्यमान जात प्रथाले मानिस मानिसबीच विभेदको पर्खाल खडा गरिदिएको छ । तँ सानो, म ठूलो भनेर मानिस मानिस विच विभाजनको रेखा कोरिदिएको छ । काटे सबैको रातो रगत आउँछ तर ठूलो र सानो भनेर संसारको सर्वोत्कृष्ट प्राणी भनिएको मानव, दानव बन्न खोजेको सन्दर्भमा देवकोटाको क्षेत्रीको छोराले जनजातिको छोराको पाउ ढोगेर मानिस जातले होइन कर्मले ठूलो हुने उद्घोष गर्छन् । उनी कोही पनि मानिस जात कै आधारमा ठूलो नहुने बरु मनले ठूलो हुने बताउँछन्, मुना मदन मार्फत ।
हातका मैला सुनका थैला के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्दी मनले

आफ्नो लोकप्रिय खण्डकाब्य मुना मदनमा देवकोटाले धनलाई हातका मैला भन्दै सबैभन्दा ठूलो धन भनको आनन्दको मन हुनु भएको उल्लेख गरेका छन् । पैसाका लागि जे पनि गर्न तयार हुने पुस्ता तयार हुँदै गरेका बेला धनको अर्थहिनता बोध गर्न देवकोटाको यो भनाईले सहयोग गर्नेछ । मुना मदनका यि हरफहरु संझँदै गर्दा एक बादशाहले मृत्यु पछि आफुलाई चिहानमा गाड्दा दुवै हात बाहिर देखाएर गाड्न आफन्तहरुलाई आग्रह गरेको सन्दर्भ याद आउँछ । उनले सम्पत्ति र शक्तिको आशक्तिमा नदौडने सन्देश प्रवाह गर्न रित्तो हात देखाउन चाहेका थिए ।
फर्क फर्क हे जाऊ समाउ
मानिसहरुका पाऊ ।
मलम लगाऊ आर्तहरुको,
चहराईरहेको घाउ

यात्री कविता मार्फत महाकवि देवकोटाले मानिसको शरिर नै मन्दिर भएको भन्दै मानिसको काँध चढेर मन्दिर नधाउन यात्रीलाई तीर्थ यात्रीलाई आग्रह गरेका छन् । उनी तीर्थ यात्रीलाई फर्केर गएर मानिसलाई नै इश्वर सम्झी पुजा गर्न आग्रह गरेका छन् । मानिसहरुमा अभाव, गरिबीले बनाएको घाउमा मलम लगाउन सके त्यही इश्वरको वास्तविक पुजा ज्ञहुने देवकोटाको आशय छ ।
जीवन र जगतलाई यति राम्रोसंग बुझेका देवकोटाको जीवन भने नामभन्दा ठिक उल्टो भयो । नाम लक्ष्मीप्रसाद भए पनि उनी कहिल्यै लक्ष्मीका प्यारा हुनसकेनन् । बरु सरस्वतीको भने असाध्यै प्यार भए । क्यान्सरले थलिँदा उपचार समेत गर्न नसकेर बस्नु पर्दाको पिडा शायद देवकोटाले राम्रं भोगे । भनिन्छ, क्यान्सरको पिडाले मुख पोल्दा उनी मुखमा बरफ हालेर बस्थे र अझै दारुण कथा त के छ भेन उनी आफुलाई भेटन आउने आफन्त र साथीभाईसंग पोटासियम साइनाईड माग्ने गर्थे । देवकोटाका अन्तिम दिन तिरका सुन्दा मनै भक्कानिने अर्काे पनि सन्दर्भ छ । आफ्ना अन्तिम दिनहरुमा देवकोटाले आफ्नी श्रीमतीसंग सोधे, अब तिमीसंग कति पैसा बाँकी छ ? श्रीमतीले जवाफ दिईन्, दुइसय जति छ । श्रीमतीको जवाफ सुनेपछि देवकोटाले भने, ए, त्यसो भए अरु दिन म बाँचें भने मलाई खुवाउन पनि तिमीलाई गाह्रो पर्नेछ । यति रकमसम्मले मेरो अन्तिम संस्कार गर्न पुग्छ । उनको परिवारमा रहेको आर्थिक दूरावस्थाको चित्रण गर्न यो प्रसंग नै काफि छ ।
जीवनका अन्तिम दिनहरुमा पनि उनको प्रजातन्त्रका प्रतिको प्रतिवद्धतामा र विश्वासमा कुनै कमि आएको थिएन । उनको जीवनको अन्तिम वाक्य “प्रजातन्त्र मर्न नपाओस् फलोस् फुलोस्” थियो भन्ने थाहा पाउँदा उनलाई प्रजातन्त्र गुम्न लागेको पूर्वाभाष थियो भन्ने अनुमान समेत लाउन सकिन्छ । यी अद्भुत क्षमताका धनी देवकोटालाई राष्ट्रले चिन्न नसक्दा समयमा उपचार पाएनन् र उनको थप साहित्यिक योगदानबाट हामी वञ्चित हुन अभिषप्त
भयौं ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रति सम्झना र शब्द श्रद्धा । नेपाल सम्बत ११४५ को शुभकामना, सूर्यका उपासना र पूजा गरिने पर्व छठको शुभकामना साथै उज्यालो तथा दिदी बहिनी र दाजु भाइबीचको आत्मियता बढाउने पर्व तीहरको सबैमा शुभकामना ।

Related posts

बेमेलको राजनैतिक परिवर्तन

admin

उकुसमुकुस सहर
गाउँ बन्दै खण्डहर

admin

भुईँमान्छे नदेखिने भ्यू टावर

admin