Tanahun Awaj
समाचार

गे्रडवृद्धि परीक्षा साउन २३ देखि, तनहुँमा ७ परीक्षा केन्द्र

एसईईको ग्रेडवृद्धि परीक्षा साउन २३ देखि सञ्चालन हुने भएको छ । असार १६ गते आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ दखि ३१ गतेसम्म उक्त परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
त्यसअघि बोर्डले दुई विषयसम्म नन्ग्रेडिङ (एनजी) मा परेका विद्यार्थीको ग्रेडवृद्धि परीक्षा साउन १८ र १९ मा हुने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । तर शिक्षामन्त्री सुमना श्रेष्ठले ७ वटै विषयमा नन्ग्रेडिङमा परे पनि मौका परीक्षा दिन पाउने निर्णय गरेपछि वोर्डले कार्यतालिका परिमार्जन गरी साउन २३ देखि सञ्चालन गर्ने निर्णय गरेको हो ।
एसईई २०८० मा देशभरबाट ४ लाख ६४ हजार ७ सय ८५ परीक्षार्थी सहभागी भएका थिए । असार १३ मा प्रकाशित नतिजा अनुसार ५२ प्रतिशत अर्थात २ लाख ४२ हजार ३ सय १३ विद्यार्थी नन्ग्रेडिङ (फेल) भएर कक्षा ११ मा भर्ना पाउन अयोग्य भएका थिए । दुई विषय सम्म ननग्रेडिङ भएका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था कायम भएको भए १ लाख १५ हजार ८ सय ३४ जनाले मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने थिए तर अब ननग्रेडिङमा परेका सबै विद्यार्थी परीक्षामा सहभागी हुन पाउने छन्
यसैबीच शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले ग्रेडवृद्धि परीक्षा सञ्चलन गर्न सातवटा केन्द्र निर्धारण गरेको छ । निर्धारित सातवटा केन्द्रबाट ३ हजार १ सय ५२ विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिने छन् ।
समन्वय इकाइ तनहुँका अनुसार रामशाह मावि आँबु खैरेनी केन्द्रबाट १९ विद्यालयका ३ सय ५१ विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिनेछन् । यसैगरी होमराज लोहनी शारदा शिक्षा सदन मावि भानु केन्द्रमा ३२ विद्यालयका ६ सय १८, सत्यवती मावि केन्द्रमा २६ विद्यालयका ५ सय ४६, निर्मल मावि केन्द्रमा ३३ विद्यालयका ५४९, खैरेनी मावि केन्द्रमा १९ विद्यालयका ३ सय ६५, पञ्चमुनी देव मावि केन्द्रमा १९ विद्यालयका ३ सय ५४ र जनज्योति मावि केन्द्रमा २२ विद्यालयका ३६९ विद्यार्थी सहभागी हुनेछन् ।

Related posts

राष्ट्रपति निर्वाचनमा दलका आ–आफ्नै दाऊ

admin

मलेसियासंग सम्बन्ध सुधारमा सक्रियता

admin

बन भोज कार्यक्रममा चुड्का नाँच (भिडियो)

admin