23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

छाता प्रजातिको संरक्षण-सम्पादकीय

हामी मध्ये धेरैलाई थाहा नहुन सक्छ कि बाघलाई अम्ब्रेला स्पेसिज अर्थात छाता प्रजातिको नामले पनि पुकारिन्छ । बाघको संरक्षण गर्न धेरै ठाउँ अर्थात जंगल चाहिने भएकोले बाघको संरक्षणसंग ठूलो क्षेत्रफलमा जंगल संरक्षण जोडिएर आउँछ । यसरी बाघ संरक्षणका लागि जंगलको संरक्षण गर्दा अन्य जिवजन्तु र चराचुरुङ्गीको बासस्थान र खाद्यान्नको पनि संरक्षण हुने भएकाले बाघलाई छाता प्रजाति भनिएको हो । बाघ र यसको संरक्षणसंग अन्य जिवजन्तुको पनि जीवन जोडिएकोले यसको संरक्षण विश्व मानव समुदायका लागि अपरिहार्य भएको छ ।
फेलिडी परिवारको प्यान्थरा वर्ग अन्तर्गत पर्ने ठुलो बिरालो समुहको सबैभन्दा ठूलो र शक्तिशाली जङ्गली जनावर हो, बाघ । कुनै समय पश्चिममा टर्कि, उत्तरमा साइबेरियादेखि दक्षिणमा बालीसम्मको भूभागमा शिर्ष शिकारीको रूपमा राज गरेको यो जनावर अहिले पूर्वी र दक्षिणी एसियाका १३ देशहरूमा मात्र सिमित हुन पुगेको छ । र विश्व समुदाय बाघले वातावरणको सन्तुलनमा दिने योगदानको महत्व आत्मसाथ गर्दै यसको संरक्षणमा जुटेको छ । झण्डै १०० वर्ष अगाडिसम्म लाखको संख्यामा रहेको बाघको संख्या अहिल घटेर ३८०० मा पुगेको समाचारले वातावरणविद् तथा संरक्षणविद् संगै विश्व समुदायलाई चिन्तित तुल्याएको छ ।
वासस्थानको विनाश, आहाराको अभाव तथा चोरी शिकारी आदि कारण लोपोन्मुख अवस्थामा पुगेको यो प्राणीको संरक्षणमा सक्रिय सहभागी हुँदै नेपालले पनि सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता जनाएको थियो, सन् २०१० मा । र नेपालले प्रतिवद्धता जनाएको १२ वर्षमै १२१ बाट बढाएर बाघको संख्या ३५५ पु¥याईसकेको छ । यो संख्या दोब्बरमा मात्र नभएर झण्डै तेब्बर हो । यस्तो अवस्थामा आफ्नो प्रतिवद्धता पूरा गर्न र वातावरणिय सन्तुलन कायम राख्न नेपालले बाघको मुख्य वासस्थानको रुपमा रहेका चितवन तथा बर्दिया राष्ट्रिय निकुञ्जमा वासस्थानको विनाश रोक्नु तथा बाघले आफ्नो मुख्य आहारा बनाउने प्रजातिका वन्यजन्तुको संख्या वृद्धि र संरक्षण पनि आवश्यक छ भने अवैध चोरी शिकारी पनि रोक्नुछ ।
बाघको संख्या वृद्धिसँगै बाघ रहेका राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका बस्तीहरूमा मान्छे र सम्पत्ति क्षति हुने क्रम बढेसंगै घोषणा गरिएको प्रधानमन्त्री बाघ संरक्षण तथा जीविकोपार्जन कार्यक्रम कार्यक्रममा मात्र सीमित नरहोस् । आगामी सोमबारपरेको विश्व बाघ दिवसको अवसरमा मानिस–बाघ द्वन्द्व घटाउँदै बाघको संरक्षणमा नेपाललाई अझ सफलता मिलोस् भन्ने शुभाकांक्षा ।

Related posts

ईसिडी शिक्षक, लेखा कर्मचारी र कार्यालय सहयोगीका पक्षमा

Deepak Joshi

शिक्षा ऐन र दलका घोषणापत्रः शिक्षकको सुझाव

Deepak Joshi

किराको किताब यात्रा

admin