25 C
Damauli
September 15, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

पछुतोको तादात्म्य

रमेश विकल

एक पटक एक मुर्तीकारले नदी किनारबाट दुइवटा ढुंङ्गा लिएर आयो । त्यस मध्ये एउटा ढुंगा लिएर मुर्ती निर्माणका लागि छिनोले ढुंगामा हिर्काउन थाल्यो । तर त्यो ढुंगा भित्रबाट आवाज आयो कि मलाई बेसरी दुःखी रहेको छ, अब थप म माथि प्रहार नगर । मुर्तीकारले त्यो ढुंगालाई पर राख्यो र अर्काे ढुंगा लिएर मुर्ती निर्माण कार्य थाल्यो । केही समयमा राम्रो मुर्ती तयार भयो र एउटा मन्दिरमा लगेर त्यसको प्राण प्रतिष्ठा गरियो । त्यस मुर्र्ती माथि भक्तजनले फूलमाला र अविर चढाउन थाले । श्रद्धाले ढोग्न थाले । मनोवाञ्छित फल पाइने आशाले हेर्न थाले । केही समय अगाडि सम्मको ढुंगो अब ढुंगो रहेन बरु भगवानको स्वरुप बन्यो र श्रद्धा पूर्वक पुजा गरिन् थाल्यो । मुर्र्ती बनाउँदै गर्दा आफूलाई धेरै पिडा भएको भन्दै आर्तनाद गर्ने ढुंगालाई स्थानीयले मुर्तीको तल राखे र त्यसमा नरिवल फोरेर मुर्र्तीमा चढाउने व्यवस्था मिलाए ।
एकदिन भुईँमा राखिएको ढुंगाले मुर्तीतिर फर्केर भन्यो, तिमी कति भाग्यमानि है , तिमीमाथि हरेक मानिसले फलफूल र अविर तथा अगरबत्ती चढाउँछन् । तिमीलाई ढोग्छन् र आफ्नो मनोकांक्षा पूर्णताको कामना गर्दछन् । तर छेर्वमा रहेको मेरो भाग्य हेर त हरेक मान्छे आउँछ, म माथि फोर्नका लागि नरिबल बजार्छ, मलाई पिडा दिन्छ । मुर्तीबाट जवाफ आयो, मैले जस्तो पुजिने अवसर त पहिले तिमीलाई मिलेको थियो । तर तिम्रो त्यति बेला एकछिनको पिडा सहन तयार भएको भए आज तिमी मेरो ठाउँमा हुने थियौ र म तिम्रो ठाउँमा नरिबलको चोट सहँदै बस्नेमा हुने थिए । एउटा गलत निर्णयले जीवनमा कत्रो प्रभाव पार्छ भन्ने कुराको उदाहरण तिमी छौं ।”
नेपाली कांग्रेस गण्डकीको पहिलो सम्मेलन आजभोली चर्चामा छ । मंगलबार ११ बजे सुरु हुने भनिएको सम्मेलन समयमा सुरु हुन नसकेपछि यसका कारणहरु खोज्दै जाँदा जे देखियो भन्ने समाचारहरु बाहिर आएका छन् , त्यही समाचारले कांग्रेस गण्डकी सम्मेलनलाई चर्चामा ल्याएको हो । चर्चासंग मिसिएर दुइवटा तस्वीर पनि सार्वजनिक भएका छन् । सम्मेलनको व्यानरको भनिएको एउटा तस्वीरमा लेखिएको छ, ‘विरासतको रक्षा गरौं, नेपाली कांग्रेस बचाऔ’ अनि त्यसको ठिक तल केही मसिना अक्षरमा लेखिएको छ, ‘इमान भएकाहरूलाई जिम्मेवारीमा राखौं, भ्रष्टाचारबाट पार्टीलाई बचाऔं, कांग्रेसी चरित्र पुनःस्थापित गरौं’ र अर्काै तस्वीरमा अरु सबै कुरा यथावत छन्, केवल ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्यांश छोपिएको छ ।
समाचारमा आए अनुसार पार्टी सभापति शेरबहादुर देउवाले सम्मेलन हलमा टाँगिएको व्यानरमा लेखिएको ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्याँशमा आपत्ती जनाए । ब्यानरमा लेखिएको नाराको उक्त वाक्याँश बारे जानकारी पाएपछि प्रदेश सभापति शुक्रराज शर्मा र सभापति देउवाबीच भनाभन नै प¥यो । अवस्था यस्तोसम्म आयो कि, देउवाले ब्यानर हटाए मात्र कार्यक्रमस्थलमा जाने अडान लिए । अन्त्यमा ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्यांशलाई छोप्न शर्मा तयार भए । त्यसपछि मात्रै सभापति देउवा कार्यक्रमस्थल प्रवेश गरे ।
कार्यक्रमका वक्ताहरुले ब्यानरमा राखिएको ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’े भन्ने वाक्यांश प्रति आपत्ति जनाउन त सकेनन् तर उक्त वाक्याँश छोपिएकोमा भने असन्तुष्टि जनाए । उपसभापति धनराज गुरुङले टेपले नारा छोपिएको तर्फ लक्ष्य गर्दै मन्तव्यका क्रममा भने, हातमा कालो लागेको छ भने साबुनपानीले धुने हो, रुमालले छोपेर लुकाउने होइन । रुमाल झिकेर हात पुछ्दा आफ्नै अनुहारमा कालो लाग्छ ।’
देउवा दृष्टिमा व्यानरमा रहेको उक्त वाक्यांश छोपिनु सहि हो । किनभने व्यानरमै भ्रष्टाचारबाट पार्टीलाई बचाऔं भनेर लेख्नुको अर्थ पार्टीमा भ्रष्टहरु छन् र उनीहरुले पार्टी समाप्त गर्न लागे भन्ने कुरा स्वीकार्नु हुन्थ्यो भन्ने देउवालाई लागेको हुन सक्छ । तर सत्य के हो भने व्यानरमा भएको त्यो वाक्याँश छोप्दैमा धमिजा काण्ड होस् या लाउडा काण्ड अनि अहिलेको नक्कली भुटानी शरणार्थी काण्ड यी सबैबाट कांग्रेसले सफाई पाउने अवस्था छैन ।
माथि उल्लेखित कथामा जसरी ढुङ्गालाई मुर्तीकारको चोट सहन गर्न गाह्रो भएको थियो, कांग्रेस सभापति देउवालाई कांग्रेसमा केही भ्रष्टहरु रहेको र तिनीहरुले पार्टी समाप्त पार्न लागेको स्वीकार्न कठिन भएको छ । तर त्यसलाई स्वीकारेर शुद्धिकरणमार्फत पार्टीलाई भ्रष्टाहरुबाट मुक्त गराउने आजको आवश्यकता हो । यदि यसलाई स्वीकार्न आनाकानी गर्ने हो भने कांग्रेसको अवस्था पनि मुर्तीकारको चोट सहन गर्न अस्वीकार गर्ने ढुङ्गाको जस्तै हुनेछ । कथाको ढुङ्गो जसरी आफ्नो विगतको निर्णय प्रति पछुतो गर्दैछ , त्यसरी नै पछुतोमा पर्ने पालो कांग्रेसको आउने छ ।

Related posts

संहिता सुरक्षित नागरिक अधिकार

admin

दिपावलीको शुभकामना-सम्पादकीय

admin

एचआइभीः माध्यम, लक्षण र रोकथाम

Deepak Joshi