23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

हिमाल जोगाउने चिन्ता

रमेश विकल
यो साता गत शनिबार डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो । आइतबार अर्थात डिसेम्बर १० बाट महिला हिंसा विरुद्धको १६ दिने अभियान समाप्त भयो । यही साता मर्यादित महिनावारी दिवस  र अन्तर्राष्ट्रिय मानव अधिकार दिवस पनि परेका थिए । 
मर्यादित महिनावारी दिवस मनाइरहँदा अनि मर्यादित महिनावारी के हो ? भन्ने विषयमा वहसहरु चलिरहँदा एउटा तस्विर सामाजिक सञ्जालमा भाइरल भयो । तस्वीरमा ऊँकार पुजा सामग्री भण्डारले टाँसको सूचनामा लेखिएको छ, “कृपया महिनावारी हुनु भएका महिलाहरुले पसलको कुनै पनि सामान नछोइदिनु 

होला ” भनेर लेखिएको छ । र यो तस्वीरले बोलेको तितो यथार्थ हो, नेपालमा मर्यादित महिनावारीको कुरा अझै पर छ । महिनावारीका बेला महिलामाथि हुने दुव्र्यवहार र विभेदको अभेद्य प्रमाण थियो त्यो तस्वीर । यसैगरी सोमबार अन्तर्राष्ट्रिय पर्वत दिवस
मनाइयो । भित्तामा झुण्डिएको क्यालेण्डर हेर्ने हो भने वर्षभरी नै कुनै न कुनै दिवस परिरहेको देख्न पढ्न पाईन्छ ।
गत साता गाडीमा संगै यात्रा गर्दाका क्रममा मेरा एक मित्रले तिलिचो, निलगिरी, खंग्सार तथा मुक्तिनाथ हिमालको काखमा अवस्थित तिलिचो ताल र त्यस वरपरका हिम श्रृङ्खलाका दृष्यको बडो मनमोहक तवरले वर्णन गर्नुभयो । उहाँको कथन थियो, “तिलिचो पुगेपछि थाहा भयो, नेपाललाई त्यसै भूस्वर्ग भनिएको होइन रहेछ ।” विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल समुन्द्र सतहबाट ४९१९ मिटर उचाइमा छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने यो ताल मनाङलाई पर्यटकको आकर्षणको केन्द्र बनाउन सफल यो ताल अन्य विश्वका अग्ला स्थानमा रहेका भनिएका दक्षिण अमेरिकाको पेरु तथा बोलिभियाको सिमानामा रहेको टिटीकाका ताल भन्दा ११०७ मिटर अग्लो स्थानमा रहेको छ । तर वायु प्रदूषणका कारण बढ्दै गएको पृथ्वीको तापमानले हिमालहरु पग्लँदै जाँदा तिलिचो लगाएतका हिमाली क्षेत्रमा भएका तालहरुको अस्तित्वमा संकट आउन थालेको छ ।

समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित राराताल नेपालको सबैभन्दा ठूलो ताल मात्र होइन अप्सरा नामले विभुषित यो ताल आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको केन्द्र पनि हो । विश्वमा अन्यत्र कहिँ पनि नपाइने असला जातको माछा पाइने यो तालसम्म पुग्ने र त्यहाँको अनुपम प्राकृतिक सौन्दर्यको रसस्वादन गर्ने चाह नबाकेको नेपाली शायद कोही छैन । पृथ्वीको बढ्दो तापमान र वढ्दो वायु प्रदुषणको असर यसमा पनि देखिन थालेको छ । नेपालको सबैभन्दा गहिरो तालको रुपमा चिनिने शेफोक्सुण्डो होस् या सबैभन्दा ठूलो मानव निर्मित इन्द्र सरोवर अनि पोखराको पर्यटन विकासमा महत्वपूर्ण योगदान दिने फेवा, वेगनास ताल सबैको अस्तित्व विभिन्न कारणले संकट उन्मूख
छ । मैले यहाँ तालहरुको सन्दर्भ किन उठाएको भने स्वदेशी वा विदेशी पर्यटकलाई लोभ्याएर पर्यटनको विकासमा महत्वपूर्ण योगदान दिने यि तालहरुको अस्तित्व हिमालको अस्तित्वसंग जोडिएको छ ।
जब हिमालको अस्तित्व खतरामा पर्छ, तालहरुको अस्तित्व स्वतः खतरामा पर्छ र हाम्रो पर्यटन विकास र यसबाट समुन्नति प्राप्त गर्ने सपना पनि खतरामा पर्छ ।
नेपालमा सगरमाथाका अतिरिक्त कञ्चनजङ्घा, ल्होत्से, मकालुु, चोयु, धौलागिरी प्रथम, मनास्लु तथा अन्नपूर्ण प्रथम समेत गरि आठ हजार मिटर अग्ला आठवटा हिमालहरु छन् । नेपालमा रहेका छ हजार मिटर अग्ला हिमालको संख्या गणना गर्ने हो भने त चार अंकको संख्या नै बन्छ । अर्थात नेपालमा छ हजार मिटर अग्ला एकहजार भन्दा बढी हिमशिखरहरु छन् । तर ति हिमशिखरहरु अब हिमशिखर जस्ता छैनन् । अर्थात तिनीहरुमा हिउँको मात्रा घट्दै गएको हामीले प्रत्यक्ष देखेका छौं ।
केही वर्ष अगाडिसम्म पोखराको न्यूरोडमा उभिएर उत्तर फर्केर हेर्दा हिउँले ढाकिएको माछापुच्छ्रे र अन्नपूर्णको मनमोहक दृष्य देखिन्थ्यो । अहिले हेर्ने हो भने माछापुच्छ्रको अधिकांश भागमा कालो पत्थरमात्र देखिन्छ । यस्तो नियती अन्य हिमालहरुको पनि होला । अर्थ हो, हिमालमा हिउँ घट्दै गएको छ । र यसबाट हामीले बुझ्नु पर्ने सत्य के हो भने हामीलाई पानीको संकटले
घेर्दैछ । जलवायु परिवर्तन यसको एउटा कारण होला । तर संगसंगै सरकारले क्षणिक लाभको लागि जुनसुकै हिमाल चढ्न दिने गरेको अनुमती, सगरमाथा आरोहणमा दिइने असीमित अनुमति तथा हिमाल आरोहीले गर्ने फोहरका कारण हिमालहरु संकटमा छन् र माथि नै भनियो, हिमालमा हिउँ घट्दै जाँदा भविष्यमा पानीको अभावले छट्पटिनु पर्ने कुराले हाम्रो तनाव भने बढ्दै गएको छ ।
मानिस होस् या कुनै पनि सजिव सबैको अस्तित्व रक्षामा हिमालको महत्वपूर्ण भूूमिका छ । नघुमाई भन्नु पर्दा हिमालको अस्तित्व सकिँदा हाम्रो अस्तित्व पनि सकिन्छ । पृथ्वी, मानिस लगाएतका लाखौं जीवजन्तु र वनस्पति रहित मरुभूमिमा परिणत हुन्छ । तर हिमाल जोगाउने चिन्ता अहिले प्रमुख बनेको छ । हिमाललाई कालो पत्थरको थुप्रोमा परिणत हुनबाट जोगाउने हो भने हामीले बढ्दो वायु प्रदुषण नियन्त्रणका लागि तत्काल प्रयासहरु थालनी गर्नुपर्छ । यसका साथै हिमाल आरोहीहरुले त्यस क्षेत्रमा गर्ने फोहर नियन्त्रणमा पनि ढिलाई गर्नु हुँदैन । हिमाल हाम्रा प्राकृतिक निधि हुन् । यिनीहरको संरक्षण गर्न सक्दा हाम्रो जीवन सहज त हुन्छ नै हाम्रो समुन्नतिको चाह पनि पूरा हुन्छ । त्यसैले आजैबाट हिमाल जोगाउने अभियानमा जुटौं ।

Related posts

पुर्ख्यौली थलोमा राष्ट्रपति-सम्पादकीय

admin

एकै साथ खडेरीको चामल अभाव- सम्पादकीय

admin

ढंटुवा छोरो र हाम्रा नेताहरु

admin