24.1 C
Damauli
September 21, 2026
Tanahun Awaj
समाचार

तनहुँ बारले सम्झ्यो संहिता दिवस

फोटो तनहुँ आवाज साप्ताहिक

दमौली/नेपाल बार एशोसिएशन तनहूँ जिल्ला बार इकाईले मुलुकमा संहिता कानुन लागु भएको छैटौं स्थापना दिवसको अवसर पारेर एक दिवसीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
अभिमुखीकरण कार्यक्रमलाई बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले सहजीकरण गर्नुभएको थियो । वाग्लेले साइवर कानुन सम्बन्धी अवधारणा शिर्षकमा प्रोजेक्टरको सहायतामा ३१ स्लाइडको प्रस्तुती गर्नुभएको थियो । सहजीकरणमा कानुन व्यवसायीहरुलाई अभ्यासमा जाँदा चाहिने कानुन र त्यसको व्यवहारिक अभ्यासका बारेमा वाग्लेले प्रष्ट्याउनु भएको थियो । त्यसैगरी विद्युतीय इलेक्ट्रोनिक कारोवार ऐन २०६३ मा भएका मूलभूत व्यवस्थाहरुको बारेमा पनि चर्चा गरिएको थियो । कानुन व्यवसायीहरुका लागि आवश्यक पर्ने साईवर कानुनमा प्रयोग भएका प्राविधिक शब्दावलीहरुको बारेमा पनि सो अवसरमा स्पष्ट पारिएको थियो ।

फोटो विष्णु हड्खले


तनहुँमा कार्यरत २८ जना कानुन व्यवसायीहरुको सक्रिय सहभागिता रहेको सो अभिमुखिकरण कार्यक्रममा ऐनले गरेको सजाय सम्बन्धि व्यवस्था, मुद्धाको शुरु कारवाही र किनारा, पुनरावेदन सम्बन्धी व्यवस्थाको बारेमा स्पष्ट पारिएको थियो । भारत र नेपालको कानुनी अभ्यासको बारेमा चर्चा गर्दै बरिष्ठ अधिवक्ता वाग्लेले नेपालमा विद्युतीय कारोवार ऐन २०६३ आउनु भन्दा अगाडि पनि यस्ता कसूरलाई गालीवेइज्यती सम्बन्धी ऐन अन्तरगतको कसूरमा कारवाही चलाईने अभ्यास सुनाउनु भएको थियो । अहिले मुलुकी अपराध संहिताले पनि विद्युतीय माध्यमद्वारा गोपनीयता भङ्ग गर्न नहुने र छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न नहुने जस्ता व्यवस्था गरेको सम्बन्धमा सहजीकरण गरिएको थियो ।

फोटो तनहूँ आवाज सप्ताहिक


कार्यक्रमको समापन चरणमा सम्बोधन गर्दै बरिष्ठ अधिवक्ता परशुराम गिरीले साईवर क्राईम सम्बन्धी कसूरको जाहेरी दिन त पाईने भयो तर लिने व्यवस्था नै झन्झटिलो भएको, तर्फ तनहुँ बार र सम्पूर्ण कानुन व्यवसायीको ध्यानाकर्षण गर्नुभयो । अधिवक्ताद्वय शिवदत्त ढकाल र ऋषिराम पोख्रेलले तनहुँ बारको समसामयिक अभिमुखीकरण कार्यक्रम गर्ने प्रयासको प्रसंसा गर्नुभएको थियो ।
विद्युतीय अपराध सम्बन्धी कसूरको कारवाहीलाई नेपाल सरकारको २०८० असार ११ गतेको मन्त्रीपरिषदको निर्णय अनुसार २०८० साउन १ गतेबाट विद्युतीय कसूर र बैंकिङ्ग कसूर सम्बन्धी कारवाही जिल्ला अदालतको क्षेत्राधिकारभित्र ल्याइएपछि तनहुँ बारले अभिमुखीकरण गर्ने आवश्यकता महसुस गरेको अध्यक्ष डम्बरदेव हड्खलेले बताउनु भयो । सचिव हरिमान श्रेष्ठले संहिता दिवसमा के कार्यक्रम गर्ने भनेर परामर्श हुँदा साइवर क्राइमको नयाँ अभ्यासका बारेमा अभिमुखीकरण नै गर्न उपयुक्त हुने निकर्ष निकालेको बताउनु भयो । कोषाध्यक्ष रविन्द्र बाराकोटीले कार्यक्रमको आवश्यकता महसुस गरी कार्य समितिबाट निर्णय गराएर यो कार्यक्रम र दिनको सन्दर्भ जुटाएको बताउनु भयो ।

Related posts

जनगणना–२०७८ को प्रारम्भिक नतिजामा तनहुँको तस्वीर

admin

व्यासको जन्मस्थलमा धर्म गुरुहरुको जमघट

admin

प्रयोगात्मक सिकाइमा बालबालिकाः

admin