23.1 C
Damauli
September 17, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

नीतिकथाको बाज र गगन–विश्वप्रकाशहरु

रमेश पोखरेल
नेपालको राजनीति असाध्यै फोहरी भयो । यसले आम नागरिकमा आशा जगाउन सकेन तसर्थ यस विषयमा अब नलेखौं  होला भन्ने लाग्न थालेको धेरै भयो । तर कहिले काहीँ लेखौं लेखौ लाग्ने अवस्था आउँछ । राजनीतिका बारेमा किन नलेख्ने ? भन्ने प्रश्न पक्कै मेरा आदरणीय पाठकहरुको मनमा उठेको होला । हामी जस्ता मोफसलका अनि तल्लो लेबलका नागरिकले लेख्दैमा वा चिन्ता गर्दैमा नेपालको राजनीति संग्लिने वा हाम्रा नेताहरु सुध्रिने भन्ने हुँदो रहेनछ । हाम्रो लेखन त केवल अरण्य रोदनमात्र रहेछन् भन्ने बुझेपछि च्याँख मरेर आउँछ । स्नातक पढ्दाको  सहासी सुगाको बुद्धकालीन कथा सम्झना हुँदा लाग्छ, सानो र निरर्थक लाग्ने प्रयत्नले कहिलकाही अपेक्षित नतिजा प्राप्त हुन्छ । त्यसैले यस पटकका लागि राजनीतिका बारेमा लेख्ने निर्णयमा पुगेको छु । 
एउटा नीतिकथाबाट आलेखलाई अगाडी बढाउने अनुमति चाहन्छु । आहाराको खोजीमा वा अन्य कुनै प्रयोजनले आकाशमा उडिरहेको बाजलाई कागले माथीबाट ठुग्ने गर्दथ्यो । बाज न त कागको प्रतिकार गर्छ न त हतास नै हुन्छ । बरु कागको ठुँगाईको वेवास्ता गर्दै उचाई लिँदै जान्छ । अन्तत धेरै उचाईमा अक्सिनज अभावका कारण काग वाजलाई ठुँग्न छोडेर तल झर्नुपर्ने हुन्छ । अनि बाज आरामले कावा खाँदै आफ्नो गन्तव्य तर्फ लाग्छ । 
गगन–विश्वप्रकाश कुनै एक पात्र होइनन् बरु समूह  हुन र गगन–विश्वप्रकाश विरुद्ध बाजका विरुद्ध काग लागे झै लाग्ने कांग्रेस भित्र थुप्रै नेताहरु छन् । खुट्टा तान्न खोज्ने, असफल बनाउन खोज्ने किनभने उनीहरुलाई लाग्छ, गगन–विश्वप्रकाश असफल हुँदा हाम्रो बाटो साफ हुन्छ । आफुले पद पाईन्छ । हामी साठी नाघेकाहरु महामन्त्री हुन सकेका छैनौं । यी हिजोका चल्लाहरु महामन्त्री भैसके । त्यहाँ इष्र्या छ, जलन छ । साउन १० मा सम्पन्न केन्द्रीय कार्य समितिको बैठकमा बोल्ने क्रममा मोहनबहादुर, आरजु, प्रकाशशरण प्रवृत्तिका थुप्रै सदस्यहरु गगन–विश्वप्रकाश विरुद्ध खुलेरै उत्रिए । पार्टी बैठकका एजेण्डालाई रद्दीको टोकरीमा फालेर खासगरी देउवाद्वारा मनोनितहरु जसरी गगन–विश्वप्रकाश विरुद्ध खनिए । त्यसबाट बुझ्न सकिन्थ्यो, उनीहरु आफ्नो असक्षमता लुकाउने असफल प्रयास गरिरहेका छन् । अनि कतिपय सभापति देउवाको भजन गाएर अरु लाभका पदमा पुग्ने दाउमा देखिन्थे । उनीहरुलाई थाहा थियो, गगन–विश्वप्रकाशलाई गाली गर्दा देउवाको प्रिय बनिन्छ । 
  तर गगन–विश्वप्रकाशले बुझ्नु पर्ने के हो भने बाजले जसरी कागको प्रतिकार पनि गर्दैन र हातस पनि हुँदैन । त्यसर िनै आफ्नो विरुद्ध विष वमन गर्नेहरुसंग प्रतिवाद गर्ने वा उनीहरुका कुराले हतास हुने होइन बरु आफ्नो क्षमतामा विश्वास राख्दै अरु राजनैतिक उचाई हासिल गर्ने कार्यहरु गर्दै जाने हो । यसो भएमा इष्र्या, जनल र कुण्ठाले ग्रस्त भएकाहरु काग झै आफै साइड लाग्छन् । जसरी कथाको बाज पहिलेकै उचाईमा कागसंग प्रतिवादमा उत्रेको भए केही समयमा थाक्थ्यो र आफ्नो उचाई लिन नसक्दा कागको ठुँगाईका शिकार भइरहनु पथ्र्याे । त्यसरी नै गगन–विश्वप्रकाशले पनि आफ्नो अनावश्यक आलोचना गर्नेहरु, इष्र्या गर्नेहरु, लान्छित गर्नेहरु, खुइल्याउँछु भनेर लाग्नेहरु, खेदो खन्नेहरु, राजनैतिक जीवन नै समाप्त पार्छु भनेर हिँड्नेहरु अनि खुट्टा तान्छु भन्नेहरु तथा आफुसंग जल्नेहरुसंग प्रतिकारमा उत्रने होइन । यदि यसो भएमा उनीहरुले यतै अल्मल्याउँछन् । थकाउँछन् र कांग्रेस रुपान्तरणको अनि पुस्तान्तरणको अभियानलाई सफल हुन दिँदैनन् । 
गगन–विश्वप्रकाश बगरबाट उठेर मुर्ती बन्दै गरेका ढुङ्गा हुन् । हामीलाई थाहा छ, बगरको ढुङ्गले राम्रो मुर्ती बन्न घन र छिनोको सयौं चोट सहनु पर्छ । केन्द्रीय समितिको मिटिङमा होस् वा अन्यत्र कतै यी दुइ भाइको अनावश्यक आलोचना गर्नेहरु, इष्र्या गर्नेहरु, खुइल्याउँछु भनेर लाग्नेहरु, खेदो खन्नेहरु, राजनैतिक जीवन नै समाप्त पार्छु भनेर हिँड्नेहरु अनि खुट्टा तान्छु भन्नेहरु त ति मुर्तीकार हुन् जसले उनीहरुलाई बगरको ढुङ्गाबाट सुन्दर मुर्ती बनाउन चाहन्छन् । कहिले काहीँ गलत नियतले गरेको कामको प्रतिफल पनि राम्रो आउँछ, जस्तै छिमेकको खेतमा भल सोझ्याउनेलाई के थाहा भलसंगै मलपनि जान्छ र छिमेकीको बाली सप्रिन्छ भनेर । 
बजारमा गएर हरियो मकै किन्न खोज्ने हो भने नपोलेको र पोलेको मकैको मूल्य भिन्ना भिन्नै हुन्छ । पोलेको मकै महंगो पर्छ किनभने त्यसले आगोको राप र ताप सहेको हुन्छ । त्यसरी नै गगन – विश्वप्रकाश आलोचना, इष्र्या,  खुइल्याईको राप–ताप सहेर पोलेको मकै बन्दैछन् । जंगलमा रहेको काठको मुढोबाट सुन्दर फर्निचर बन्ने वा सुनको डल्लोबाट सुन्दर गहना बन्ने सबै प्रक्रिया एउटै हो । काठले बञ्चाराको, आरोको, रन्दाको प्रहार सहेरमात्र राम्रो टेबलको रुप प्राप्त गर्छ । गहनाले आगोको राप र सुनारको सयांै चोट सहेपछि मात्र गहना बनेर शरिरका अंगहरुमा सजिन पाउँछ । गगन–विश्वप्रकाश प्रतिको अहिले कतिपय कांग्रेसजनको खेदाई, आलोचना, खुइल्याई सबै उनीहरुलाई ढुङ्गाबाट मुर्ती, पोलेको मकै, राम्रो टेवल वा सुन्दर गहना बनाउने अभ्यास हुन्, चाहे त्यो आग्रहवश गरिएका हुन, चााहे इष्र्यावश गरिएका हुन् वा सभापतिको चाकरी गरेर आफ्नो राजनैतिक भविष्य सुरक्षित गर्ने उद्देश्यले गरिएको होस् वा गगन–विश्वप्रकाशको राजनैतिक उचाई बढ्दा आफ्नो चाहीँ असुरक्षित हुने बुझाईका साथ गरिएको होस् । 
गगन–विश्वप्रकाशका अनेकौं कमजोरीहरु छन् । कमजोरी रहित कोही पनि हुँदैन । कोही सर्वगुण सम्पन्न छ भनेर देवत्वकरण गर्नु राम्रो पनि होइन । विभिन्न कमजोरीका बाबजुद वर्तमान सन्दर्भमा नेपाली कांग्रेसका शुभेच्छुक, समर्थकको आशाका केन्द्र यिनै युवाहरु हुन् । धेरैले ठानेको गगन–विश्वप्रकाशहरुको नेतृत्वमा कांग्रेसले काँचुली फेर्न सक्छ । कांग्रेस यथास्थितीबाट माथी उठेर रुपान्तरणको मार्गमा जान्छ । नेपाली नागरिकको समुन्नतिको चाह पूरा गर्ने काम गगन–विश्वप्रकाशहरुले गर्न सक्छन् । 

Related posts

लाटोकोसेरो दल, गधा नेपाली

admin

पक्राउ परेपछि नै कानुनी परामर्श

admin

अब सून्य संक्रमण, सून्य मृत्य र सून्य भेदभाव

admin