28.3 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

शिक्षक संघका पालिका अधिवेशन सकियो
जिल्ला अधिवेशन फागुन २० र २४ मा

दमौली/नेपाल शिक्षक संघ तनहुँको नवौं अधिवेशन फागुन २० र २४ मा हुने भएको छ । दशवटै पालिकाको अघिवेशन सकिएसंगै संघले जिल्ला अधिवेशनको मिति तय गरेको हो । माघ मसान्त सम्ममा जिल्ला अधिवेशनको मिति तय गरिसक्नु पर्ने प्रावधानलाई पछ्याउँदै आइतबार बसेको संघको बैठकले अधिवेशनको मिति तय गरेको हो ।
संघकी कार्यवाहक अध्यक्ष रशामायाँ गुरुङका अनुसार जिल्ला अधिवेशन अगाडि नै पालिका अधिवेशन गरिसक्नु पर्ने विधानको व्यवस्था बमोजिम तनहुँका दशवटै पालिकाको अधिवेशन सम्पन्न भैसकेको छ । गुरुङका अनुसार बन्दीपुर गाउँ पालिकाको अधिवेशनले शिक्षक इश्वर थापालाई अध्यक्षमा चयन गरेको छ । आँबुखैरेनी गाउँ पालिकाको अध्यक्षमा पृथ्वी गुरुङ, घिरिङ गाउँ पालिकाको अध्यक्षमा नारायण श्रेष्ठ तथा म्याग्दे गाउँ पालिकाको अध्यक्षमा सोमबहादुर थापा निर्वाचित भएका छन् । यसैगरी देवघाट गाउँपालिका अध्यक्षमा केशव काफ्ले, भीमाद नगरपालिकाको अध्यक्षमा केदार सिग्देल, व्यास नगरपालिकाको अध्यक्षमा इन्द्रप्रसाद पौडेल, शुक्लागण्डकी नगरपालिकाको अध्यक्षमा ऋषिराम लामिछाने, ऋषिङ गाउँ पालिकाको अध्यक्षमा केशर थापा तथा भानु नगरपालिकाको अध्यक्षमा ज्ञानेन्द्र पण्डित निर्वाचित भएका छन् । मिति तय भएसंगै संघ समर्थक शिक्षकहरु माझ आगामि नेतृत्व तथा कार्यदिशाका विषयमा चर्चा हुन थालेको छ । यो संगै संघको अध्यक्षमा आकाँक्षा देखाउने र पद प्राप्तीका लागि कतिपय शिक्षक नेताहरुको दौडधुप पनि सुरु भएको छ ।
अधिवेशन आउँदै गर्दा संघको अध्यक्ष हुन झण्डै एक दर्जन शिक्षकहरुले आकांक्षा प्रकट गरेका छन् । संघकी कार्यवाहक अध्यक्ष रशामायाँ गुरुङ अध्यक्षकी आकांक्षी मध्येकी एक हुन् । शिक्षकहरुको विश्वास जित्न सकेमा गुरुङले शिक्षक संघ तनहुँको पहिलो महिला अध्यक्षको रुपमा नाम लेखाउने छिन् । संघका उपाध्यक्ष ओजराज बगाले शिक्षकको पेशागत सक्षमता र अधिकार सूनिश्चित गर्न संस्थाको रुपमा संघलाई अघि बढाउने प्रतिवद्धता सहित उम्मेदबारी घोषणा गरेका छन् । बौद्धिक व्यक्तित्वको छवि बनाएका भरत काफ्लेले पनि विभिन्न १९ बुँदे प्रतिवद्धता सहित चुनावी मैदानमा होमिने बताएका छन् ।
शिक्षकका मुद्धा र मागहरुलाई सम्बोधन गर्न पहल गर्ने सन्दर्भमा सर्वोच्च अदालत सम्म पुगेका रमेशबाबु भट्टराई पनि संघको अध्यक्षका आकांक्षी हुन् । जुझारु शिक्षक नेताको रुपमा आफ्नो चिनारी बनाएका उपेन्द्र विष्ट, इमान्दार हेडमास्टरको छवि बनाएका चन्द्रमणी कोइराला, भद्र व्यक्तिको रुपमा चिनिने रोहिणीराज पौडेल, हरक्षण क्रियाशिल रहने नरेन्द्र न्यौपाने पनि संघको अध्यक्ष बन्ने आकांक्षाका साथ कम्मर कसेर लागेको बताईन्छ । दाग नलागेका र कर्मशीललाई संघको अध्यक्ष बनाउन आग्रह गर्दै विद्यालयहरुमा पुग्ने गरेका ज्ञानेन्द्र न्यौपाने पनि अध्यक्ष हुने दौडमा सामेल हुने चर्चा छ ।
तर कसले बाजी मार्छ, त्यो देख्नका लागि भने अधिवेशनको मितिसम्म प्रतिक्षा गर्नैपर्ने हुन्छ ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको संघ शिक्षकका विभिन्न पेशागत संगठनहरु मध्ये सबैभन्दा ठूलो संगठन हो । संघका सचिव अर्थ नरेन्द्र न्यौपानेका अनुसार संघ तनहुँमा झण्डै २४ सय शिक्षक आबद्ध छन् ।

Related posts

अधिकारीको निधन

Deepak Joshi

बलिदानको अवमूल्यन नगर, कार्यशैली बदल-सम्पादकीय

Tanahun Awajweekly

जनगणना २०७८को प्रारम्भिक नतिजा, महिलाको जनसंख्या प्रतिशत घट्यो

admin