22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
समाचार

बालबालिकाको हार्ट स्क्रिनिङ

विद्यालयमा अध्ययनरत बालबालिकाको मुटु परिक्षण गरिदै ।

दमौली/दमौली स्तिथ सत्यवती माध्यमिक विद्यालय तथा बालमन्दिर माध्यमिक विद्यालयका बालबालिकाको हार्ट स्क्रिनिङ सम्पन्न भएको छ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान तनहुँको आयोजनामा आइतबार विद्यालयमा बालबालिकाको हार्ट स्क्रिनिङ सम्पन्न भएको हो । नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रबाट बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीको नेतृत्वमा आएको पाँच जना डाक्टर सहित प्राविधिक टोलीले दुइ विद्यालयका गरी झण्डै दुइहजार चारसय विद्यार्थीको मुटुको स्क्रिनिङ गरेको हो ।
प्रतिष्ठान तनहुँका अध्यक्ष कृष्णचन्द्र पाण्डेका अुनसार टोलीले सामान्य परिक्षणका क्रममा थप परिक्षण आवश्यक भएका ३६ छात्र तथा २७ छात्राको इकोकार्डियोग्राफी (मुटुको आन्तिरिक संरचनाको जाँच) गरेको थियो । इको गर्दा थप समस्या देखिएका सात बालबालिकालाई उपचारका लागि काठमाण्डौं रेफर गरिएको प्रतिष्ठान तनहुँका उपसभापति चुडामणी दाहालले जानकारी दिए । दाहालका अनुसार ति बालबालिकाको थप उपचार सम्बन्धि सम्पूर्ण व्यवस्था प्रतिष्ठान केन्द्रले गर्नेछ ।
टोली सदस्य तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रमे बैद्यका अनुसार नेपालमा औषतमा प्रति हजार बालबालिकामध्ये दुइ जनामा मुटु रोग देखिने गरेको अध्ययनले देखाएको छ । झण्डै दुइहजार चारसयको परिक्षणमा सात जनामा मुटुको समस्या देखिनु औषतकै हाराहारी रहेको डा. बैद्यले बताए ।
यस अघि नेपाल रेडक्रस सोसाईटी तनहुँका समापति कृष्णप्रसाद गौतमको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गौतमले मुटुरोगका सन्दर्भमा हरेक नागरिक सचेत हुन जरुरी भएको बताए । कार्यक्रममा व्यास–२ का वडाध्यक्ष काशीराम श्रेष्ठ, नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बलराम न्यौपाने, सत्यवती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्ले, बालमन्दिर माविका प्रधानाध्यापक राजेन्द्र खनाल लगाएतले मन्तव्य राखेका थिए ।
प्रतिष्ठान तनहुँका अध्यक्ष कृष्णचन्द्र पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा अतिथिको स्वागत गर्दै उपाध्यक्ष चुडामणी दाहालले निःशुल्क मुटु परिक्षणको यो अवसरको सबैलाई सदुपयोग गर्न आग्रह गरेका थिए ।

Related posts

सार्वजनिक विदामा पनि सेवा सूचारु

admin

छुवाछुत तथा भेदभाव विरुद्ध वृहत कार्यक्रम

admin

अर्ब नाघ्यो व्यासको बजेट

admin