Tanahun Awaj
समाचार

कोषको संकल्प (विज्ञप्ति)

दमौली/गोवर्धन शर्मा स्मृति कोषले बुधबार एक विज्ञप्ति प्रकाशित गरी कोषले गम्भिरता पूर्वक मनन गरेको जनाउँदै आठ बुँदे धारणा सार्वजनिक गरेको छ ।
विशेषतः कोषले गण्डकी प्रदेशबाट कोषको नाममा विनियोजित बजेटको विषयमा सामाजिक सञ्जाल र पत्रपत्रिकामा भएको टिकाटिप्पणी र मुख्यमन्त्रीको नीजि सचिवालयबाट विज्ञप्ति मार्फत कोषको नाममा विनियोजित बजेट अन्य प्राथमिकताको क्षेत्रमा खर्च गर्न निर्देशन जारी गरिएको विषयलाई गम्भिरतापूर्वक मनन गरिएको उल्लेख छ ।
कोषका कार्यवहाक प्रमुख सचिव रमेशदत्त वाग्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा गण्डकी प्रदेश सभामा आफ्नो धारणा राख्ने क्रममा गोवर्धन शर्मा र उहाँको योगदानप्रति सम्मान व्यक्त गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरिएको छ ।
बजेट विनियोजन गर्दा संस्थाको पृष्ठभूमि, उद्देश्य, भएका गरेका कार्य समेतका जानकारी राखी बजेट विनियोजन गरिएको भए टिकाटिप्पणी र आलोचना हुने थिएन भन्ने कोषको निष्कर्ष रहेको छ ।
विज्ञप्तिमा संस्थाले २०५७ सालमा जन्मेर उद्देश्य अनुसार छात्रबृत्ति, स्वास्थ्य शिविर, दैवीप्रकोप, भूकम्प, महामारीका समयमा राहत वितरण गरेको चर्चा समेत गरिएको छ । साथै आयआर्जन लक्षित प्रागारिक कृषि कार्यक्रमलाई अगाडि बढाउँदै प्राङगारिक कृषि अध्ययन अनुसन्धान केन्द्रको अवधारणालाई अगाडि बढाएको पनि चर्चा गरिएको छ ।
स्वर्गिय गोर्वधन शर्माले २००७ सालको जनक्रान्तिमा, २०१७ सालको जननिर्वाचित सरकारलाई अपदस्त गरि मौलिक अपहरण हुँदाका कठोर र संकटपूर्ण दिनहरुमा आफ्नो सम्पत्तीको सर्वश्वहरण हुँदा र सामाजिक बहिष्करणमा पर्दा समेत अविचलित भै राजनीतिक एवं सामाजिक परिवर्तनका लागि सामाजिक विभेदको अन्य गर्ने अभियानमा हलो क्रान्ति, हरित क्रान्ति, दलित उत्थान कार्यक्रम, मोहियानी हक सुरक्षणको अभियान चलाएको अविस्मरणिय योगदानको स्मरण गराइएको छ । सहयोग र अनुदान प्राप्त नहुँदा पनि कोषको उद्देश्य र लक्ष्यमा पुग्न निरन्तर अगाडि बढ्ने संकल्प कोषले गरेको छ ।

Related posts

दिगो विकास र समृद्धि लोकतन्त्रका आधार स्तम्भ: राष्ट्रपति पौडेल

admin

व्यास र आबुँमा सार्वजनिक सुनुवाई

admin

आज लक्ष्मी पुजा

admin