21.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

अपराध अनुसन्धानका चरणहरु

ऋषिराम पोख्रेल अधिवक्ता

पृष्ठभूमिः
गताङ्कमा हामीले अपराधको सूचना, जाहेरी वा सुचना दर्ता नगरे उजुरी गर्न सक्ने, पक्राउ अनुमति लिनुपर्ने, हिरासतको व्यक्ति छाड्न सक्ने समेतका विषयमा चर्चा ग¥यौं । अपराध अनुसन्धानका चरणहरु त्यतिकैमा सकिएको हुँदैन । चरणहरु अझै बाँकी छन् । जसको चर्चा गर्न अब गरिन्छ ।
बयान वा सोधपुछ गर्नेः
सरकारी वकिलले सोधेका सवालको अभियुक्तले जावफ दिएमा अनुसन्धान अधिकारीले त्यसलाई लेखबद्ध गर्नुपर्छ । कसूरको सम्बन्धमा कुनै महत्वपूर्ण कुरा थाहा छ भन्ने विश्वास गर्नुपर्ने मनासिब कारण भएको व्यक्तिसंग अनुसन्धान अधिकारीले आवश्यक सोधपुछ गर्न सक्ने व्यवस्था छ । बालबालिका र शारीरिक अशक्तसंग सोधपुछ गर्नुपर्ने भएमा उनिहरु रहेबसेकै ठाउँमा गएर अभिभावकको रोहबरमा सोधपुछ गर्न सकिने व्यवस्था गरिएको छ ।
खानतलासी गर्न सक्नेः
अपराध अनुसन्धान अधिकारीलाई कुनै अपराधसंग सम्बन्धित सवुदप्रमाण रहेभएको शंका लागेको ठाउँ वा व्यक्तिको खानतलासी लिन सक्ने कानुनी व्यवस्था छ । तर त्यसरी खानतलासी लिनुपर्नाको कारण सहितको लिखित सूचना दिनुपर्ने व्यवस्था गरिएको छ ।
मुचुल्कामा रोहबर राख्नु पर्नेः
घटनास्थल प्रकृति मुचुल्का गर्दा वा खानतलासी मुचुल्का गर्दा वा लासजाँच मुचुल्का खडा गर्दा उपलब्ध भएसम्म अभियुक्त, स्थानीय दुई जना, स्थानीय तहका एक जना, र कसूरको सूचना दिने व्यक्तिलाई रोहबरमा राख्नु पर्ने व्यवस्था गरिएको छ ।
भौतिक परिक्षणः
व्यक्तिको रगत, बीर्य, रौं, वा शरीरको अन्य कुनै अंग, हातहतियार वा चीज वस्तु वा डि.एन.ए. वा अन्य कुनै कुराको परीक्षण गर्दा कसूरदार पत्ता लगाउन वा प्रमाण संकलन गर्न सकिन्छ भन्ने अनुसन्धान अधिकारीलाई लागेमा भौतिक परिक्षण गराउन सक्ने व्यवस्था छ । यसको साथै घा जाँच, सनाखत, नेपाल बाहिर भए गरेको कसूरको अनुसन्धान गर्न सक्ने व्यवस्था छ ।
अनुसन्धान प्रतिवेदन पठाउनेः
अपराध अनुसन्धान अधिकारीले अनुसन्धान गरिसके पछि अनुसन्धान प्रतिवेदन पठाउनु पर्ने व्यवस्था छ । अनुसन्धान अधिकारीले कुन कसुर अपराधमा कसकसलाई कस्तो अभियोग लगाउने वा नलगाउने राय सहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाउनु पर्ने व्यवस्था छ ।
निष्कर्षः
हामीले कानुनको मनसाय वा भावना अनुसार कानुनले तोकेको कार्यविधि प्रयोग गर्नु पर्दछ । नावालकलाई स्कूल ड्रेसमै जाहेरवाला मार्फत अपहरण गराएको शैलीमा जिल्ला प्रहरी कार्यालयमा ल्याउनु, अभिभावक रोहबर कागजमा मात्र राखिनु कानुनको मनसाय होइन । अनुसन्धान प्रतिवेदन मिसिलको अभिन्न अंग बनाईनु पर्दछ । अभियुक्तले आफ्नो रोहबरमा मुचुल्का उठाईनु पर्दछ भन्न सक्ने वातावरण हुनु पर्दछ ।

Related posts

आयुर्वेदप्रति आकर्षण- सम्पादकीय

admin

समय, सिमसार पुनः स्थापनाको

admin

आशा जगाउने नतिजा-सम्पादकीय

admin