Tanahun Awaj
खेलकुद

उपलब्ध साधनको अधिकतम सदुपयोग गर्दै नागरिकका आवश्यकता परिपूर्ती मेरो प्राथमिकता : वडाध्यक्ष राना

वैशाख–३० मा सम्पन्न स्थानीय निकाय निर्वाचनमा ऋषिङ–५ को वडाध्यक्षमा निर्वाचित बुद्धिमान राना तरुण दल ऋषिङका अध्यक्ष तथा नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नं २ का सदस्य पनि हुन् । वडाध्यक्षको कार्यभार सम्हालेको दुइ महिना पुग्न एक दिन बाँकी रहँदा हाम्रा सहसम्पादक रमेश विकलसंग कुरा गर्न उपस्थित भएका रानाले भने, म नागरिकलाई “गाउँ गाउँमा सिहदरबार” नारा नभएर यथार्थ भएको अनुभूति हुनेगरी काम गर्छु । प्रस्तुत छ, वडाध्यक्ष रानासंग गरिएको कुराकानीको सम्पादित अंशः

वडाध्यक्षका रुपमा दुइ महिनाको कार्य अनुभव कस्तो रह्यो ?
रानाः
सबैभन्दा पहिले त मलाई आफ्ना विचारहरु राख्ने अवसर प्रदान गरेकोमा तनहुँ आवजप्रति आभार व्यक्त गर्न चाहन्छु । हामी निर्वाचित भए लगतै पालिकाको नीति तथा कार्यक्रम र बजेट आउने भएकाले नागरिकका आवश्यकतालाई मसिनो गरी खोज्ने काममा केही समयवित्यो । सिमिति बजेट र असिमित जनआकाँक्षाबीच तालमेल गरेर बजेट बनाउन निकै कठिन रहेछ । अब बजेट आएको छ । यसको अधिकतम सदुपयोग गर्दै वडावासीको आवश्यकता पूरा गर्ने काममा अब लागि पर्नेछु । यो अवधिका वडाका कर्मचारी लगाएत पालिका प्रमुख, उपप्रमुख सबैको सकारात्मक सहयोग पाएको छु । काम सिक्दै पनि छु ।

आगामी पाँच वर्षे योजना के छन् ?
रानाः
आगामी पाँच वर्ष मेरो प्राथमिकता नागरिकका चासोका विषय सम्बोधन नै हो । बाटो, विजुली, स्वास्थ्य, खानेपानी, शिक्षा, कृषी लगाएत आम नागरिकका चासोका विषय हुन् र यीनीहरुको सम्बोधनमा मेरो प्राथमिकता रहने छ । म मेरो वडाका नागरिकलाई “गाउँ गाउँमा सिँहदरबार” नारा नभएर यथार्थ भएको अुनभूत गर्नेगरी काम गर्ने कुरामा आफु प्रतिबद्ध रहेको जानकारी तपाईँको लोकप्रिय सञ्चारमाध्यम मार्फत गराउन चाहन्छु ।

जिर्ण वडा कार्यालयबाट सेवा प्रदान गरिरहनु भएको छ । पक्की र व्यवस्थित वडा कार्यालय कहिले बन्छ ?
रानाः
पक्की वडा कार्यालय भवन बनाउनका लागि टेण्डर परिसकको र सिलान्यास समेत भैसकेको अवस्था छ । हामी निर्माण कार्यलाई तिव्रता दिई चालु आर्थिक वर्ष भित्रै निर्माण सम्पन्न गर्ने योजनामा छौं । निर्माण सम्पन्न पश्चात नयाँ, पक्की र व्यवस्थित भवनबाट सेवा प्रवाह सुरु हुनेछ ।

यहाँले आफ्ना प्राथमिकतामा शिक्षा रहेको बताउनु भयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थीसंख्या वृद्धिका लागि वडाका योजना के के छन् ?
रानाः
दक्ष र तालिम प्राप्त शिक्षकहरु उपलब्ध हुने तथा छात्रवृत्ति, दिवा खाजा लगाएतका सुविधा हुँदा हुँदैपनि सामुदायिक विद्यालयका प्रति अभिभावकको विश्वास जगाउन नसकिएको कुरा सत्य हो । यसका लागि विद्यार्थीको रुचि र चाहना अनुसारको शिक्षण सिकाई क्रियाकलाप गर्न, सिकाईमा समतामुलक सहभागिता गराउन, विद्यार्थीको विविधता अनुकुल सिकाई क्रियाकलाप गर्न, प्रभावकारी सिकाई क्रियाकलाप अपनाउन शिक्षकहरुलाई आग्रह गर्दै आएको छु । विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने तथा अन्य आवश्यक सहयोग गर्ने गरेर भएपनि हरेक बालबालिकालाई शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्न वडा प्रतिवद्ध छ । विद्यालयको शैक्षिक र भौतिक वातावरण सुधार गर्न बजेट व्यवस्था समेत गरिएको छ ।

वडाध्यक्ष बुद्धिमान राना

आँखा भनेको विजुली हो भनिन्छ, तर वडा नं ५ मा विद्युत सेवा भरपर्दाे छैन । महसुल भुक्तानी सम्बन्धी समस्याका कारण विद्युत काटिने समस्या पनि छ । विद्युत सेवालाई भरपर्दाे बनाउन तथा अन्य समस्या हटाउने कस्ता योजना छन् ?
रानाः
हामी कहाँ सामुदायिक विद्युत उपभोक्ता समिति मार्फत विद्युत वितरण भइरहेको छ । अघिल्लो समितिले समयमा विद्युत महसुल नतिर्दा लाईन काटिने समस्या पनि भयो । तर अहिले गाउँ पालिका मार्फत बजेट छुट्याएर बाँकी महसुल तिर्ने र राष्ट्रियकरण गरेर नागरिकलाई सहज विद्युत उपलब्ध गराउन हामी प्रतिवद्ध छौं । वर्षाैँ पुराना काठका पोलका कारण पनि विद्युत वितरण प्रणालीमा बेलाबेला समस्या आउने गरेको छ । यसलाई समाधान गर्न गाउँ पालिकासंग समन्वय गरेर छिट्टै स्टीलपोलले काठे पोललाई विस्थापन गरिनेछ ।

तपाईको वडामा खानेपानीको समस्या पनि टडकारो छ । वडा नं ५ का वासिन्दाले स्वच्छ खानेपानी कहिले पाउँछन् ?
रानाः
स्वच्छ खानेपानीको उपलब्धता मेरो प्राथमिकतामा छ । नयाँ पानीका श्रोतहरुको खोजी गरेर अभाव भएका गाउँ वस्तीमा खानेपानी सुविधा उपलब्ध गराउनु जनप्रतिनिधिका नाताले मेरो कर्तव्य पनि हो । धेरै गाउँ वस्तीमा खानेपानीको सुविधा पुगीसकेकोे छ । जुन ठाउँमा पुग्न सकेको छैन, ति ठाउँहरुमा आफ्नो कार्यकालमा सफा र शुद्ध खानेपानी सुविधा उपलब्ध गराउने कुरामा म विश्वास दिलाउन चाहन्छु ।

वडा भित्रका सडकहरुको अवस्था कस्तो छ ? सडकको स्तरोन्नतिका नयाँ योजना छन् ?
रानाः
वडालाई श्रृङ्ग पथसंग जोडने, श्रृङ्शान्ति मार्ग, ढुङ्गागाढे–रुपाटार मार्ग तथा साभुङ देउरालीबाट पिपलटार जोडने मोटर मार्गहरुका लागि बजेट विनियोजन भएको छ । स्थानीय सरकार र प्रदेश सरकारसमेतको सहयोगमा ढुङ्गागाढे–रुपाटार मार्ग कालोपत्रे गर्न तथा नाला बनाउने काम अगाडि बढाइने छ । आगामी ५ वर्षमा यो मार्गको सम्पूर्ण भाग नालासहित कालोपत्रे गर्ने कुरामा म प्रतिवद्ध छु । श्रृङ्शान्ति मार्ग अन्तर्गत दोस्ती भिरमा बाटो फराकिलो बनाउने कामका लागि ३० लाख प्रदेश सरकारले उपलब्ध गराउने भएको छ भने गाउँ पालिकको १ करोड ७५ लाख रुपैयाँले १२ मिटर बाटो कालोपत्रे योजना रहेको छ । देउराली पिपलटार मार्ग फराकिलो बनाउने तथा नाला निर्माण गर्ने काम हुनेछ भने वडा कार्यालयलाई गाउँ पालिकासंग जोडने गाउँ पालिका मार्गको नयाँ ट्रयाक खोल्न समेत बजेट विजियोजन गरिएको छ ।

पिपलटार औद्योगिक ग्रामको काम कति अघि बढ्यो ?
रानाः
यसलाई केन्द्र सरकारले नै चासो दिएकाले औद्योगिक ग्राम स्थापनाको काम अगाडि बढ्नेछ ।

वडाबाट प्रदान गरिने सेवालाई प्रभावकारी र सहज बनाउन के गर्दै हुनुहुन्छ ?
रानाः
म वडाध्यक्ष भएर आए देखि नै नागरिकले दुःख नपाउन भन्ने कुरामा सचेत छु । मैले कर्मचारी साथीहरुलाई पनि भनेको छु कि नागरिकका काम सहज रुपमा गरिदिनु होला । सेवाग्राहीले कतिपय कुरा नबुझेका हुन सक्छन्, यस्तोमा बुझिनेगरी बताउने र उनीहरुलाई आवश्यक सेवा प्रदान गर्ने कुरामा जनप्रतिनिधि तथा कर्मचारीहरु सदा तत्पर रहनेछौं । वडाका योजनाका उपभोक्ता समितिलाई योजना र कार्यान्वयका लागि कार्यालयिय कामका सन्दर्भमा प्रशिक्षण दिने योजना पनि रहेको छ ।

पत्रिका मार्फत आफ्ना वडाका नागरिकलाई के भन्न चाहनुहुन्छ ?
रानाः
सबैभन्दा पहिले त मलाई वडाध्यक्षमा निर्वाचित गरिदिनु भएकोमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
यसका साथै निर्वाचनका बेला मैले आम मतदाता समक्ष गरेको प्रतिवद्धताको स्मरण गराउँदै प्रतिवद्धता अनुरुप काम गर्न कामका लागि बेलाबेला झक्झक्याउन तथा कामका सन्दर्भमा आवश्यक सुझाब र सल्लाह प्रदान गर्नुहुन अनुरोध
गर्दछु ।

Related posts

भानुमा सिद्धबाबा कप

admin

सनवे इभेइन्ट्स ले आयोजन गरेको सनवे कप फुटसल प्रतियोगितामा २०१९ मा न्यू मिलेनियम कलेज प्रथम

admin

ग्रेस एनएमसी कप फुटसल प्रतियोगितामा रेडन कलेज प्रथम

admin