30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

प्रतिशोधपूर्ण सिफारिसका विरुद्ध कार्यकर्ता

दमौली/नेपाली काँग्रेस व्यास नगरपालिका वडा नं. ७ का कार्यकर्ताले प्रतिशोध पूर्ण सिफारिसका विरुद्ध सुक्रवार दमौलीमा पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गरेका छन् । झण्डै बीसको संख्यामा उपस्थित रहेका कार्यकर्ताहरुले एक स्वरमा प्रतिशोध पूर्ण कारवाहीका विरुद्धमा अभियान जारी राख्ने बताएका छन् ।

     सहभागि सबैको एकै स्वर थियो- ‘भावी नेतृत्वमा समेत आउन नदिन देखाइएको प्रतिशोधबाट हामी विचलित हुँदैनौं । एघारजनालाइ कारवाहीको सिफारिस गरेर मात्रै पुग्दैन । प्रमाण पुर्याउन सक्नु पर्दछ । हामीलाइ नबोलाइ हाम्रा कुरा नसुनि हामीलाइ थाहा नदिइ कारवाहीको सिफारिस गर्नु प्रतिशोध हो । प्रमाण पुर्याउन नसके आरोप लगाउनेलाइ कारवाही हुनु पर्दछ ।’

     नेपाली काँग्रेस व्यास नगरपालिका वडा नं. ७ वडा कार्य समितिको बैठक पनि बसेको छैन । जेठ १४ गते क्रियाशिल सदस्यहरुको भेला पनि बोलाइएको छैन । एक सय एकासी क्रियाशिल सदस्य रहेको वडामा नेपाली काँग्रेसको बैठक बस्ने र भेला गर्ने ठाउँ सबैले थाहा पाएको कलेस्ती हो । त्यहाँ भेला पनि भएको छैन । दुइ तिहाइ भन्दा बढी क्रियाशिल सदस्यले थाहा नपाएको कथित भेलाको वैधानिकता हुन सक्दैन भन्दै पत्रकार सम्मेलनमा प्रतिशोध र भ्रमपूर्ण हल्लामा विश्वास नगर्न नेपाली काँग्रेसका सच्चा इमानदार र निष्ठावान कार्यकर्तालाइ आव्हान गरिएको छ । साथै नेपाली काँग्रेसप्रतिको आस्थालाइ संरक्षण र न्याय प्राप्त हुने विश्वास सहितको कारवाहीको लागि गरिएको सिफारिस निराधार रहेको जानकारी पत्र नेपाली काँग्रेसको व्यास नगर समिति र जिल्ला कार्य समितिलाइ पनि बुझाइएको सो अवसरमा जानकारी गराइयो ।

पत्रकार सम्मेलनमा उपस्थित वडा कार्यसमितिका सदस्य पूर्णबहादुर गुरुङले कारवाही गर्ने निर्णय गर्ने खालको बैठक र भेला नै नभएको बताउनु भयो । त्यसैगरी क्यामिन कालिका टोल विकास समितिका सभापति हरिकुमार श्रेष्ठले आफू वडाको क्रियाशिल सदस्य समेत रहेको हुँदा कुनै भेला नै नबोलाइएको बताउनु भयो । त्यसैगरी जुनलाल प्रधान जितनारायण कँडेल समेतका क्रियाशिल सदस्यहरुले वडा कार्यसमितिको बैठक बसेको र भेला बसेको आफूहरुले थाहा नपाएको बताउनुभयो ।

स्थानीय तहको निर्वाचनमा वडा नं. ७ को वडाध्यक्षमा सतिशचन्द्र न्यौपानेले चुनाव हारेपछि नेपाली काँग्रेस व्यास-७ कार्यसमितिले ११ जनाको विरुद्ध कारवाहीको सिफारिस गरेको तथ्य सार्वजनिक भएपछि सुक्रवार पत्रकार सम्मेलन गरिएको थियो । वडा सभापति युवराज गुरुङले कारवाहीका लागि नेपाली काँग्रेसका क्षेत्रीय सदस्य कूलचन्द्र वाग्ले सहित ११ जनाको विरुद्धमा सिफारिस गरेको बताइएको छ । कारवाहीको सिफारिसमा पर्नेहरुमा वडा कार्य समितिका वरिष्ठ उपसभापित सिकन्दर प्रसाद गुरुङ, क्षेत्रिय प्रतिनिधिहरु कल्पना केसी, लालप्रसाद प्रधान, नगर कार्यसमिति सदस्यहरु शम्सेर बहादुर कुवँर, मोतिलाल श्रेष्ठ, पम्फा वाग्ले, वडा कार्य समिति सदस्यहरु रमेश वाग्ले, क्रियाशिल सदस्यहरु शिवलाल प्रधान, हर्कलाल श्रेष्ठ, अमर जि सी रहेका छन् ।

नेपाली काँग्रेस व्यास-७ का भावि नेतृत्वलाइ दागी बनाउन सयपत्री अभियानमा नलागि नेपाली काँग्रेसको आधिकारीक उम्मेदवार रामचन्द्र पौडेललाइ सहयोग गरेको प्रतिशोधमा आफूहरुको विरुद्ध कारवाही गरिएको भाव पत्रकार सम्मेलनमा झल्किएको थियो ।

Related posts

निराशाका नौ महिना

admin

छैठौं आदिवासी जनजाती महोत्सव

admin

सामाजिक सुरक्षा भत्ता वितरणमा ऋषिङको विशेष कार्यक्रम

admin