Tanahun Awaj
विचार/दृष्टिकोण

गगनसंग गनगन

रमेश पोखरेल

चैत्र १० मा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी स्थानीय निर्वाचनका लागि घोषणा पत्र तयारी समितिको संयोजकमा महामन्त्री गगनकुमार थापालाई मनोनयन गरेका छन् ।
नागरिक जीवनमा प्राणको रुपमा रहने अपेक्षा गरिएका स्थानीय निकायको आसन्न निर्वाचनको घोषणा पत्र तयारी जस्तो महत्वपूर्ण जिम्मेबारी प्राप्तीका लागि महामन्त्री थापालाई बधाई । संगसंगै आम नागरिकको रुपमा गगनबाट मैले रोखेका अपेक्षा र घोषणा पत्र निर्माण गर्दैगर्दा ध्यान दिनका लागि केही आग्रहबारे यसपटक तनहुँ आवाज मार्फत संयोजक गगनसंग गनगन गर्ने जमार्काे गरेको छु । गनगन किनभने,मेरो आग्रह गगनसम्म नपुग्ने सम्भावना धेरै छ । पुगेपनि मजस्ता सामान्य नागरिकको आग्रह र अपेक्षाको सुनुवाई अनि सम्बोधन गर्नु शायद गगनका लागि सम्भव हुनेछैन । तथापी वितेको पाँच वर्षमा स्थानीय सरकारहरुले गरेको कामको मूल्याङ्कन गर्दै आगामी दिनमा तिनका प्राथमिकता निर्धारण र जनअपेक्षाको सम्बोधनमा भूमिका बारे कांग्रेसको घोषणा पत्रमा विषय वस्तु समेटिउन भन्ने अपेक्षाका साथ केही कुरा प्रस्तुत गर्न चाहन्छु । गगनसम्म नपुगे पनि वा उनले सम्बोधन गर्न नसकेपनि स्थानीय तहका नेता तथा उम्मेदबारहरुले आफ्ना प्राथमिकता निर्धारण गर्दा , आगामी कार्ययोजना बनाउँदा मैले प्रस्तुत गरेका तर आम नागरिकको चासो रहेका विषयलाई आत्मसाथ र सम्बोधन गरुन् भन्ने अपेक्षा गरेको छु ।
डेढ दशकलामो स्थानीय निकायको रित्ततालाई पूरण गर्दै पाँच वर्ष अगाडि पुर्नसंरचित राज्यको स्थानीय निकायमा स्थानीय निकायमा जन प्रतिनिधिहरु आउँदा उनीहरुमा प्रसस्त अलमल
थियो । काम गर्ने कानून थिएन । ६ महिनापछि २०७४ असोजमा मात्र स्थानीय सरकार सञ्चालन एैन, २०७४ आयो । कहाँ बसेर काम गर्ने ठाउँ र भवन थिएन । कर्मचारीहरु थिएनन् । १५ वर्षसम्म हुन नपाएको अभ्यासले कसरी काम गर्ने भन्ने राम्रो ज्ञान थिएन । तर कोभिडको महामारीका बेला स्थानीय सरकारहरुले जसरी काम गरे त्यसले उनीहरुका प्रति आम जनतामा आशाको सञ्चार गरायो । कोभिडका कारण रोजगारी खोसिएर गास जुटाउन नसकेकाहरुका लागि राहत वितरण देखि कोभिडको रोकथाम र नियन्त्रण जुन प्रभावकारी भूमिका स्थानीय सरकारहरुले निर्वाह गरे वास्तवमै त्यो स्तुत्य रह्यो । आम नागरिकले अहिले खोजेको भनेको विद्युत, सञ्चार, सडक, स्वास्थ्य लगाएत सुविधा हुन । यि सुविधा आफ्ना नागरिकलाई उपलब्ध गराउन स्थानीय सरकारहरुले जुन तदारुकता देखाए त्यो पनि उल्लेख्य रह्यो । कतिपय सन्दर्भमा नागरिकले सरकार भएको अनुभूति गर्न पाए । संघीय सरकार र प्रदेश सरकारको भन्दा बढी विकास खर्च गर्ने क्षमता पनि स्थानीय सरकारहरुले
देखाए । यसले उनीहरुमा सक्षमताको अभाव भन्ने देखिएन ।
तर सबै काम राम्रा भए भन्ने ठाउँ भने स्थानीय सरकारहरुले राख्न सकेनन् । प्रत्येक वर्ष वढ्दै गएको स्थानीय निकायको बेरुजुले आम मानिसमा चिन्ता थप्दै गएको
छ । यतिमात्र होइन, भ्रष्टाचारका मुद्दाको कुरा गर्ने हो भने प्रति पालिका सरदर तीनवटाका दरले अख्तियारमा भ्रष्टाचार सम्बन्धि मुद्दा दर्ता हुनुले नागरिकमा थप चिन्ता थपेको छ । अनावश्यक ठाउँमा सस्तो लोकप्रियताका लागि बजेट विनियोजन तथा खर्च गर्ने कुरामा त स्थानीय निकायहरु अग्रसर नै भए नभए पालिका पिच्छे भ्यूटावर हुने थिएनन् । नागरिकले विरामी पर्दा सिटामोल नपाएका समाचार प्रकाशित भइरहँदा लाखौं र अझ कतिपय पालिकामा त करोडौंको लागतमा भ्यूटावर बनेका समाचार संगै आउनु विडम्बना थियो । यो बीचमा नागरिकले विकासे योजनामा आफ्नो सहभागिता भन्दा सरकारी लगानी मात्र खोजेर बसे । जनप्रतिनिधिका रुपमा नागरिक सहभागिताको खोजी गर्दै सम्पन्न योजनामा अपनत्व भाव उत्पन्न गराउने कुरामा खास चासो देखाउन सकेनन् । राम्रालाई भन्दा हाम्रालाई ठेक्का दिने, अनुत्पादक क्षेत्रमा अनावश्यक लगानी गर्ने, आफ्ना कार्यकर्ता र निकटहरु भर्ती गरेर राज्य श्रोतको दुरुपयोग गर्ने कुरामा पनि पालिकाहरुको कमजोरी रह्यो । यसरी हेर्दा स्थानीय निकायहरु आफ्नो गन्तव्य भुलेर बरालिएको अवस्थामा पुगेका भेटिए ।
र अहिले दोस्रो पटक स्थानीय निकायको निर्वाचन आउँदै गर्दा तन र मनले युवा भनिएका गगन थापाको काँधमा नेपाली कांग्रेसको घोषणा पत्र तयारी समितिको नेतृत्व गर्ने जिम्मेबारी आएको छ । वितेको पाँच वर्षमा स्थानीय सरकारहरुले गरेका राम्रा काम अनि तिनीहरुबाट भएका कमजोरी दुबैबाट सिक्दै घोषणा पत्र होइन प्रतिज्ञा पत्र बनाउनु छ, गगनले ।
कांग्रेसले नेतृत्व गरेका स्थानीय निकायले गरेका राम्रा र जनमुखी कामको निरन्तरताको प्रतिज्ञा सो पत्रमा हुन जरुरी छ भने आलोच्य विषयको खोजी गर्दै आगामी दिनमा त्यस्ता काम नदोहो¥याउने प्रतिज्ञा पनि उक्त पत्रमा गर्नु पर्नेछ । आफ्ना कमजोरीहरुलाई स्वीकार्दै आगामी दिनमा त्यसको पुनरावृत्ति हुन नदिने प्रतिवद्धताले नै आम मतदातामा आफ्ना प्रति विश्वास अभिवृद्धि गर्न सकिन्छ ।
कतिपय कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको व्यवहार तदनुकुल नहुँदा कांग्रेसका प्रति जनतामा वितृष्ण पैदा हुनपुगेका दुःखद अवस्थाहरु पनि छन् । तर सबैभन्दा सुखद कुरा के हुन्छ भने, मानिस भएकाले गल्ती हुन सक्ने तर त्यसलाई पुनः नदोहो¥याउने प्रतिवद्धता जाहेर गर्न सक्नु हुनेछ । अवश्य पनि अघिल्लो निर्वाचनका बेला गरेका बाचा पुरा गर्न सकेको छैन । त्यसमा विभिन्न कारणहरु रहे । ति कुराहरु नागरिकलाई बुझाउँदै कांग्रेसका प्रति भरोसा जगाउने खालको प्रतिज्ञा पत्र गगनले बनाउनु पर्छ । फेरी पनि ओलीमार्का गफ गरेर जनमत बटुल्ने खालको प्रतिज्ञा पत्र सहित गाउँ गएमा मतदाताले विश्वास गर्ने छैनन् ।
त्यसैले स्थानीय टोलहरुलाई सक्रिय बनाउँदै प्रभावकारी कामका प्रतिवद्धता सहित मतदातासम्म जाने प्रतिज्ञा पत्र गगन र उनको नेतृत्वको समितिले निर्माण गरोस् । प्रतिज्ञा पत्रमा आम मतदाताले आफ्ना सुख–दुःखको तस्वीर देखुन् । प्राथमिकता निर्धारण गर्दा नेताहरुको सपना के थियो होइन, मतदाताका सपना के हुन् ? सोधेर सोही अुनुकल गरियो भने आम मतदाताले फेरी एकपटक कांग्रेसलाई अवश्य अवसर दिनेछन् तर मुख्य कुरो कुरा होइन काम गर्छ भन्ने विश्वास मतदातामा जगाउनु प¥यो ।

Related posts

उकालो लाग्दै ओमिक्रोन-सम्पादकीय

admin

आज आकाशमा उड्ने कुरा -सम्पादकीय

admin

पन्ध्र गतेको उच्च सतर्कता-सम्पादकीय

admin