23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

स्थानीय निर्वाचन, गठबन्धन र काँग्रेस

छविदीप आले [email protected]

अबको स्थानीय निर्वाचन समयमै होला या नहोला अन्यौलताको अन्त्य तत्कालको लागि भएको छ । स्थानीय निर्वाचनबाट निर्वाचित पाँच वर्षको स्थायी सरकार विघटन भएर गठबन्धनको सरकारले राज्य सञ्चालन गरिरहेको परिप्रेक्षमा स्थानीय निर्वाचनको कुरालाई लिएर आम मानिसमा मात्र होइन, राजनीतिक हस्तिहरुमा समेत अन्योललता थियो । तर काँग्रेस नेतृत्वको गठबन्धनको सरकारले आगामि बैशाख ३० गतेको लागि स्थानीय निर्वाचनको मिति तोकेर त्यो अन्योलतालाई मेटाई दिएको छ । चालीसौं बर्षदेखि राज्यलाई अल्मल्याई रहेको, राष्ट्रघाती सन्धी सम्झौतामा हस्ताक्षर गरेको, प्रतिपक्षमा रहँदा पनि प्रतिपक्षको धर्म अनुकूल कार्य गर्न नसकेको आरोप खेपिरहेको काँग्रेसलाई आफ्नो नेतृत्वमा रहेको सरकारले तोकेकै समयमा स्थानीय निर्वाचन सम्पन्न गराउन सक्ने हो भने पक्कै पनि त्यो काँग्रेसको भविष्यको लागि राम्रो कुरा हुनेछ , आममानिसमा काँग्रेसप्रति फैलिरहेको वितृष्णा घटाउन साहेकसिद्ध हुनेछ, चाहे चुनावी मत परिणाम, जे जस्तो सुकै आओस्, काँग्रेसको पक्षमा या विपक्षमा जननायक वि.पि. कोईरालाको योगदान र सिद्धान्तको व्याजमा बाँचि रहेको आरोप लागेको काँग्रेस, पार्टीको सभापति र व्यक्तिगत रुपमा सत्तालिप्साको आरोप खेपिरहेको नेता भएपनि तत्कालिन अवस्थामा सम्माननिय प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवाको स्थानीय निर्वाचनको मिति तोक्ने निर्णय सह्रानिय र स्वागतयोग्य कदम हो । स्थानीय निर्वाचनको मिति तय भएसंगै चुनावी सरगर्मि बढ्न थालेको छ । आउँदादिनहरुमा निश्चय पनि त्यो अझ बढ्दै जानेछ । यदि तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने हो भने आममानिसलाई आफूतर्फ आर्कषित गर्न नेपालका साना ठूला हरेक पार्टीसंग करिब तीन महिनाको समय छ । जुन आजभन्दा भोलि, भोलिभन्दा पर्सि घट्दै जाने कुरा हो । त्यस कारण जति दिन घट्दै जान्छ, उति चुनावी माहोस तातिदै जानु, नौलो कुरा पनि होइन, विगतका चुनावहरुमा पनि यस्तै खालको अभ्यासहरु हामीले देखिभोगि रहेककै कुरा हो । जति निर्वाचनको दिन नजिकिदै जान्छ, उति चुनावी प्रचार प्रसार र निर्वाचन जित्ने दाउपेच पनि बढ्दै जान्छ । मत परिणाम आफ्नो पक्षमा पार्न हरेक राजनीतिक पार्टीले सामदाम दण्डभेद सबै खालको रणनीतिहरु अपनाउने गर्दछन् । तिनै रणनीतिहरु मध्ये अरु पार्टीको खोईरो खनेर विरोध गर्नु, हुदो नहुँदो आरोप र लान्छना लगाउनु, अरुलाई सत्तो सराप गर्नु नेपालको प्रायः सबै राजनीतिक पार्टीको पहिलो रणनीति हो । त्यसबाट पनि काम नबन्ने अवस्था भएमा अरु पार्टीसंग साँठगाँठ गरेर गठवन्धन गर्नु आफ्नो सकारात्मक पक्ष उजागर गरेर आफ्नो पार्टीले गरेको राम्रो कुराहरु जनतामाझ राखेर चुनावी मैदानमा उत्रने राजनीतिक संस्कार त नेपालमा एकादेशको कथाजस्तै भैसक्यो । चुनाव जित्नु छ भने या त अरुको करतुतको पोल खोल, या त कसैसंग हात मिलाऊ । यसलाई राजनैतिक पार्टीको दुदर्शा भन्ने हो या हामी नेपालीको दुभाग्य । वर्तमान अवस्थामा एक्लै चुनावी मैदानमा उत्रेर पनि हामी चुनाव जित्न सक्छौं भन्ने आँट र हिम्मत कुनै पनि राजनीतिक पार्टीसंग छैन ।

चुनावी माहोल र गठबन्धनको कुरा गर्दै गर्दा नेपाली काँग्रेसको एकजना महानतम नेताले भरखरैमात्र आफ्नो भाषणमा व्यक्त गर्नुभएको अभिव्यक्ति यहाँनेर उल्लेख गर्न मन लाग्यो । कुरा हो नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको । नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा सभापति पदका प्रत्यासीको रुपमा व्यापक हल्ला चलेर पनि अन्तिम समयमा पार्टीको भविष्यको लागि भनेर पछि हट्दै निष्ठा र त्यागी नेताको रुपमा वाहवाही कमाएका नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले केही समय पहिले आफ्नो भाषणमा गठबन्धनलाई चुनावसम्म लैजानु पर्ने कुरा बताउनु भएको थियो । एक्लै तीस प्रतिशत सिट पनि सुरक्षित नहुने उहँको धारणा थियो । उहाँले थप भन्नु भयो, एक्लै जित्ने एक्लै लड्ने हो, नजित्ने ठाउँमा गठबन्धन गर्ने हो । गठबन्धनकै कारणले राष्ट्रिय सभामा छ सिट प्राप्त गरेको कुरालाई उहाँले ठूलो उपलब्धिको रुपमा व्याख्या गर्नुभयो । उहाँको नजर र दृष्टिकोणबाट उहाँले बोल्नु भएको कुरा आफ्नो ठाउँमा ठीक होला, तर हरेक सिक्काको दुई पाटो हुन्छ भने जस्तै प्रश्न गर्ने ठाउँ त्यहाँ पनि रहन्छ । त्यही अर्को पाटोको, केही प्रश्नहरु यो आलेखमा जिज्ञासाको रुपमा पोख्ने कोशिश गर्दैछु ।

नेपाली राजनीतिमा सबैभन्दा पुरानो पार्टी र लामो समयसम्म सबैभन्दा ठूलो पार्टीको रुपमा रहेको नेपाली काँग्रेसले गठबन्धन नगर्ने हो भने तीस प्रतिशत सिट पाउन मुस्किल छ भनेर पार्टीकै बरिष्ठ नेताले सार्वजनिक रुपमा भन्नुले नेपाली काँग्रेसको वर्तमान स्थितिको बारेमा के सन्देश दिन्छ ? के अब नेपाली काँग्रेस अरुको साहारा विना हिड्दै नसक्ने स्थितिमा पुगेको हो ? नेपाली राजनीतिमा नेपाली काँग्रेसको साख सकिएकै हो त ? यात हामी जित्छौं, या त हार स्वीकार छ भनेर एक्लै चुनाव लड्ने आँट र हिम्मत नेपाली काँग्रेससंग साँच्चै नभएकै हो त ? गएको चुनावमा वामपन्थीधारका राजनीतिक शक्ति एक हुँदा निश्चय नै नेपाली काँग्रेसलाई अप्ठेर अवस्था थियो । जसको नतिजा पनि हामीले देखिसक्यौं । तर यो पटक त्यो अवस्था पनि छैन । यस्तोमा पनि गठबन्धन विना चुनावी माहोलमा उत्रनु हुँदैन भनेर काँग्रेसका नेताहरुले भन्नुले काँग्रेसको कुन अवस्था देखाउँछ ? सच्चा हृदयदेखि नै काँग्रेसप्रति समर्पित काँग्रेसजनहरुले के महसुस गर्ने ? रुख छोडेर अरु चुनावी चिन्हमा कसरी मतदान गर्ने ? त्यतातिर नेता ज्यूहरुले सोच्नु भएको छ कि छैन ? फेरी गठबन्धन पनि कस्तो, जित्ने ठाउँमा एक्लै भिड्ने, नसके मात्र मिल्ने । एउटा उदाहरण हेरौं, माओवादी पार्टीलाई यहाँ म तिमीलाई जित्छु, तिमीसंग एक एक लड्छु, अर्को ठाउँमा म अलि कमजोर छु, तिमी र म मिलौं भन्दा माओवादीले सर्लक्कै मान्ला त ? काँग्रेस बलियो भएको ठाउँमा त्यही माओवादीसंग भिड्ने, कमजोर भएको ठाउँमा त्यही माओवादीसंग मिल्ने, यसले स्पष्ट रुपमा काँग्रेस चुनाव जित्ने कुरासंग मात्र मतलब राख्छ भन्ने अर्थ दिन्छ कि दिदैन ?

नेता ज्यूहरुले स्पष्ट रुपमै भन्नुभएको गठबन्धन भएन भने चुनाव जितिदैन, तर कहि पनि उल्लेख गर्नुभएको छैन कि नेपालको विकासको लागि काँग्रेस सत्तामा रहन आवश्यक छ, त्यसको लागि भएपनि गठबन्धन गरौं, आखिर कुरा देशको विकास र समृद्धिको छ । अहँ यो भाव आएन, कुरो आयो त खाली चुनाव जित्नु पर्दछ, नेता ज्यूलाई म सोध्न चाहन्छु अरुको काँधमा चढेर आफू अग्लो छु भन्ने भ्रममा कतिञ्जेल बाँच्ने, अर्को कुरा यदि काँग्रेसले चुनावकै लागि मात्र गठबन्धन गर्दछ भने स्वयम काँग्रेसजनले पनि काँग्रेसलाई विश्वास गर्ने छैनन् । हिजो चुनावी गठबन्धन हुँदै पार्टी नै एकिकरण गरेको एमाले र माओवादीको तमासा ताजै छ, फेरी गठबन्धन गरेर चुनाव जित्दै गर्दा, भोलि सरकारमा अर्को पार्टीले पनि सर्तहरु राख्ला । उसका सर्तहरु नेपाली काँग्रेसको सिद्धान्त र आस्था विपरितको भयो भने ? गठबन्धन गरेर काँग्रेसले चुनाव त जित्ला । त्यसपछि पाँच बर्ष मन्त्रालयको बाँडफाँड र भागबण्डा नपुगेर मन्त्रालय टुक्रयाउने गर्दै विताउने हो त ? अनि त्यही पाराले बचेखुचेको इज्जत पनि लिलाम गर्ने हो त ?

त्यसकारणले यदि काँग्रेसले आफूलाई नेपाली राजनीतिक शक्तिहरुको ठूलो शक्ति मध्ये मान्छ भने यो स्थानीय निर्वाचनलाई गठबन्धन गरेरै भएपनि सत्तामा पुग्ने बाटोको रुपमा प्रयोग गर्नु हुँदैन । यदि काँग्रेससंग थोरै भएपनि हिम्मत र आफ्नो सिद्धान्तप्रति विश्वास छ भने यो चुनावलाई आफ्नो वर्तमान अवस्था जाँच्ने र भावि रणनीति बनाउने अग्नी परिक्षाको रुपमा स्वीकारर्दै एक्लै चुनावी मैदानमा उत्रनु पर्दछ । अरुको पोल खोलेर होइन, आफूले गरेको गल्तिको आत्माआलोचना गरेर अगाडि आउन सक्नु पर्दछ । अरुको सहारामा होइन, आफ्नै दममा उभिने आँट गर्नु पर्दछ, चाहे मत परिणाम जे सुकै होस्, साना दल भनिएका पार्टीहरुलाई सरकारसम्म पुग्न र आफ्नो कुरा राख्न गठबन्धनको आवश्यकता पर्न सक्दछ, तर ठूलो दल भनेर चिनिएको नेपाली काँग्रेसलाई यो सुहाउने कुरा होइन । या त काँग्रेसले एक्लै चुनाव जित्न सक्नु पर्दछ, या त हार स्वीकार गर्न तयार रहनु पर्दछ । यदि साँच्चै नै काँग्रेसको देश विकास होस् भन्ने चाहन्छ भने । होइन, गठबन्धन गरेरै भएपनि सरकारमा त जानु पर्दछ भन्छ, यदि काँग््रसले भने काँग्रेस पनि अरु पार्टी जस्तै सत्ता र शक्तिको लालची छ । नेपाली काँग्रेस र अरु पार्टीमा नाम बाहेक केही फरक छैन भन्ने प्रमाणित हुन्छ तसर्थ नेपाली काँग्रेसले कालो चश्मा लगाएर दिउसै अध्यारो भयो भन्ने गल्ति पनि नरोस् र जुन देखाएर घाम सितल हुन्छ नि भन्ने भ्रम पनि नछारोस्, आफ्नो सार्मथ्य जाँच्न र अवस्था स्वीकार्न काँग्रेस तयार होस् । अस्तु ।

Related posts

अपराध रोक्न र घटेपछि हाम्रो कर्तब्य

admin

नैतिकता बोधित आचारसंहिता

admin

समय सन्दर्भ

Deepak Joshi