Tanahun Awaj
Uncategorized

के विद्यालय बन्द हुँदा साँच्चै केटाकेटी बिग्रन्छन् ?

छविदीप आले [email protected]

कोभिडको दोस्रो चरणको लहरले यतिबेला मानिसलाई आक्रान्त बनाएको छ । विगतको वर्षमा पनि २०७६ चैत्रबाट सुरु भएको बन्दाबन्दीले ०७७ को सुरुवाती महिनाहरुलाई पूर्ण रुपमा प्रभावित पा¥यो । त्यही परिदृष्य फेरी दोहोरिएको छ । कुरा बुझ्दा लाग्छ हदैसम्मको सावधानी अपनाएनौं भने अवस्था विगतमा भन्दा दयनीय र भयावह हुने निश्चित प्रायः छ । अस्पतालमा बेड खाली नहुने, अक्सिजन लिनकै लागि पनि मानिसले काककुल पानीको लागि तडपिएसरी तड्पनु पर्ने, एम्बुलेन्सको अभावमा ट्याङ्करमा बिरामी ओसार्नु पर्ने अवस्थाले त सिधा संकेत यही गर्छ, अवस्था अझै विकराल बन्न सक्ने सम्भावना छ । त्यस कारण पूर्ण रुपमा सचेत र सावधान रहनुको अर्काे विकल्प हामीसंग छैन ।
राज्यमा चाहे जुनसुकै कारणले होस् परिस्थिती विषम र प्रतिकूल भएपछि त्यसको धेरथोर प्रभाव सबै क्षेत्रमा पर्छ । झन यो कोभिड जस्तो विश्वव्यापि महामारीसंग हाम्रो जस्तो अल्पविकसित राष्ट्रलाई त सामना गर्न पनि धौ धौ नै पर्छ । विश्वको मै हुँ भन्ने एकसेएक शक्तिशाली देशहरुलाई त घुँडा टेकाएको कोभिडको अगाडि हाम्रो जोर नचल्नु खास नौलो कुरा पनि
होइन् । तर फेरी फलानो देशले त केही गर्न सकेन हामीले झन के नै गर्न सकौंला र ? भनेर हात बाँधेर बस्ने कुरा पनि भएन । जे होस् मैले यहाँ जोड्न खोजेको कुरा के मात्रै हो भने राज्यमा अवस्थाहरु प्रतिकूल भएपछि त्यसले सबै क्षेत्रलाई प्रभाव पार्छ । यसर्थ शिक्षा क्षेत्र पनि यो विषम परिस्थितीको शिकार नहुने कुरै भएन् ।
कोभिडको कारणले गर्दा गत वर्षको शैक्षिकशत्र राम्रोसंंग सञ्चालन हुन सकेन । विद्यालय खोल्नुपर्ने न्यूनतम दिन पनि विद्यालय सञ्चालन हुन सकेन । वैकल्पिक र भर्चुअल कक्षाका कुराहरु आएपनि सबै ठाउँमा त्यसलाई प्रभावकारी रुपमा लागु गर्न सकिएन । पर्याप्त दिन विद्यालय सञ्चालन गर्न नपाएकोले गर्दा नै ०७७ को चैत्रमा हुनुपर्ने बार्षिक परीक्षा ०७८ को जेठमा सारियो । ०७८ को जेठमा ०७७ को वार्षिक परीक्षा गर्ने र वर्षे विदा तथा जाडो विदा लगायत कटाउन मिल्ने विदाहरु काटेर ०७८ को वाषिक परीक्षा ०७८ मै सक्नेगरी विद्यालय सञ्चालन गर्ने अवधारणा
बन्यो । तर दुर्भाग्य ०७८ लाग्दा नलाग्दै कोभिडको दोस्रो लहर फेरी उर्लिएर आयो । फलतः यतिखेर देशभरका शैक्षिक संस्थाहरु बन्द छन् । परीक्षाहरु पनि स्थगित भएका छन् । स्थानीय निकायहरुले आफ्नो आवश्यकता अनुसार बन्दाबन्दी र निषेधाज्ञा जारी गर्नुपरेको अवस्था छ । यदि वैशाख महिना सकिँदै गर्दा कोभिडको कहर पनि कम हुँदै गएको खण्डमा जेठमा ०७७ को वार्षिक परीक्षा सकेर असारमा नयाँ शैक्षिक शत्र सुरु गर्ने पूर्व निर्धारित योजना अनुसार अगाडि बढ्न सकिएला । अन्यथा यो शैक्षिक शत्र पनि अड्को पड्को तेलको धुप भनेझै हुन बेर छैन । तत्कालको दृष्य नियाल्दा स्थिति त्यति सजिलै सामान्य अवस्थामा आइहाल्ला जस्तो देखिँदैन ।
शैक्षिक संस्थाहरु बन्द भए लगतै अभिभावकहरुको विशेषतः दुइथरी गुनासो आउन थालेका छन् । पहिलो वार्षिक परीक्षा सम्बन्धि गुनासो । अब परीक्षा के होला ? कहिले
होला ? घरमै बसेर एकै चोटी परीक्षा दिन जाँदा आफ्ना छोराछोरीले राम्रो गर्न सक्लान्, नसक्लान् ? आफुले कक्षामा ल्याई राखेको स्थान ल्याउलान्, नल्याउलान् ? यो खालको तनाब अन्य अभिभावकलाई त छँदैछ अझ विशेषगरी यो वर्षको एसईईमा सहभागी हुने विद्यार्थीहरुको अभिभावकमा ज्यादा छ । दोस्रो गुनासो स्कुल नभएर केटाकेटी विग्रिए । यो खालको गुनासो ठूला भन्दापनि विशेषतः सानो (आधारभूत र अझ बढी प्राथमिक) विद्यार्थीहरुको अभिभावकमा बढी पाईएको छ ।
एउटा जिम्मेबार र सचेत अभिभावक भएको नाताले आफ्नो बालबच्चाको पढाईप्रति, भविष्यप्रति चिन्तित हुनु स्वाभाविक कुरा हो । तर संगसंगै यो चिन्ताले जन्माउने केही प्रश्नहरु प्रति पनि चिन्तन गरिनु आवश्यक छ । जस्तो कि के परीक्षामा प्राप्त गरीने अङ्क नै सबैथोक हो त ? हामीले हाम्रो बालबच्चा के छ, कस्तो छ भनेर मूल्याङ्कन गर्ने एकमात्र आधार परीक्षा मात्रै हो त ? अनि के विद्यालय नहुँदा साँच्चै नै हाम्रा बालबालिका विग्रिहाल्छन् त ? के हाम्रो बालबच्चालाई सपारिदिने भनेको विद्यालयले मात्रै हो त ? हाम्रो आफ्नै चाहिँ कुनै जिम्मेबारी नै हुँदैन त आफ्नै बालबच्चा प्रति ?
मैले धेरैपटक अभिभावकहरुले भनेको सुन्ने गरको छु, शनिबार पनि नआइदिए हुन्थ्यो जस्तो लाग्छ । केटाकेटीले भनेको नमानेरै हैरान पार्छन् । बरु स्कुल गएको दिनमा ढुक्क हुन्छ । सबै अभिभावक त निश्चय नै यस्तो सोच्नु हुन्न होला तर म आफैले धेरै पटक यहि प्रश्नको सामना गरेको छु । कहिले काँही त भनौं कि जस्तो पनि लाग्छ, तपाईँँहरुलाई आफ्नै छोराछोरीले हप्तामा एकदिन सताउँदा यत्रो आपत छ । हामीलाई हप्ताको ६ दिन दशथरी बच्चाले सताउँदा कस्तो हुन्छ होला ? तर मेरो पेशागत नैतिकताले मलाई यो कुरा भन्न दिँदैन । मैले यहाँ जोडन खोजेको कुरा चाहिँ के मात्र हो, हामीलाई अहिले जसरी हुन्छ आफ्नो बच्चाले परीक्षामा धेरै अङ्क ल्याओस् । बच्चाले परीक्षामा ल्याउने अङ्क एकातिर बाँकी सबै कुरा अर्काेतिर । परीक्षामा धेरै अङ्क ल्यायो भने उसको बाँकी सबै कमीकमजोरी माफ तर थोरै अङ्क ल्यायो भने उसको अन्य क्षमताहरु पनि केही होइन । परीक्षा बालबालिकाको क्षमता जाँच्ने, उसको मूल्याङ्कन गर्ने साधन, उपाय मध्ये एक
हो । उसको समग्र मूल्याङ्कन गर्ने एक मात्र उपाय बिल्कुलै होइन् । तसर्थ वार्षिक परीक्षा के होला, कहिले होला भनेर अनावश्यक चिन्ता लिइराख्नु पर्दैन । बालबालिकाले विद्यालयमा जे जति सिक्नु पथ्र्याे अथवा भनौं सिक्न सके त्यो सिकिसके विद्यालय बन्द भएको यो समयमा उनीहरुलाई घरमै प्रशस्त तयारी गर्ने समय मिलाईदिनुस् । शिक्षकहरुसंग सम्पर्कमा रहिरहने व्यवस्था गरिदिनुस् । परीक्षाको कुरा भोली समय अनुकुल भएपछि भइहाल्छ ।
अर्काे कुरा स्कुल नभएर केटाकेटी विग्रिउ । यो ज्यादै ने गहन विषयवस्तु हो । निसन्देह विद्यालय बालबालिकालाई सहि मार्ग निर्देशन गर्ने थलो हो । तर बालबालिकाको भविष्य निर्माण गर्ने एकामात्र थलो विद्यालय होइन् । यो कुरा सबै अभिभावकले बुझ्नु जरुरी छ । बालबच्चा सप्रने वा विग्रने भन्ने कुरा उसको परिवार, पारिवारिक तथा सामाजिक संस्कार, साथीभाइ, पोषण, विद्यालय, वंशज आदि धेरै कुराहरुले निर्धारण गर्छ । बालबालिकाको चरित्र निर्माणमा विद्यालयको ठूलो हात हुन्छ । यसका शंका छैन । तर छोराछोरीलाई स्कुल पठाएर मैले आफ्नो सबै जिम्मेवारी पूरा गरें भन्ने सोच्नु र जसरी हुन्छ आफ्नो बाबुनानी धेरै भन्दा धेरै समय विद्यालयमै रहुन् भन्ने चाहनु चाहिँ गतल हो । सम्पूर्ण अभिभावकहरुले के बुझ्नु जरुरी छ भने स्कुल नखुलेर केटाकेटी विग्रिदैनन् । बरु हामीले पर्याप्त समय दिन नसक्दा भने अवश्य विग्रन्छन् । तसर्थ अहिले विद्यालय बन्द भएको अवस्थामा स्कुल बन्द भयो केटाकेटी विग्रने भए भनेर चिन्ता गर्नु भन्दा बरु धेरैभन्दा धेरै समय आफ्नो बच्चाबच्चीसंग बिताउनुहोस् उ उनीहरुलाई बुझ्ने प्रयास गर्नुस्, उनीहरुलाई घरको व्यवहारिक कामहरु सिकाउनुहोस्, पढ्ने समय तालिका मिलाईदिनुस्, कुनै न कुनै रुपले सृजनात्मक र रचनात्मक कामका बाल बालिकालाई व्यस्त राख्नुहोस् । सम्भव हुन्छ भने छरछिमेकमा पढेलेखेका मानिस होलान्, त्यहाँ पढ्ने व्यवस्था मिलाईदिनुस् । यसैपनि अहिलेको विषम परिस्थितिमा तपाईँ हामीले चाहेर मात्र विद्यालय खोल्न सकिने कुरा पनि त होइन्, आखिर । स्कुल बन्द भएर केटाकेटी विग्रन्छन् भन्ने गलत मानसिकतामा बस्नु भयो भने यो खाली समयलाई राम्रोसंग सदुपयोग गर्न सक्नु
हुन्न । त्यसैले चिन्ता भन्दा पनि बरु यो समयलाई कसरी सदुपयोग गर्ने योजना बनाउनुहोस् । सम्पूर्ण अभिभावकहरुमा मेरो नम्र निवेदन के छ भने यति कुरा बझिदिनुस्, विद्यालय बन्द भएर मात्र केटाकेटी विग्रँदैनन् । हाम्रो बालबालिका सप्रने र विग्रने कुरा एउटा शिक्षकभन्दा पनि कयौं गुणा धेरै हामी आफैमा भर पर्ने कुरा हो ।

Related posts

देउसीभैलोबाट मन्दिर

admin

के छोराले सम्हालान् त नेता जोशीको राजनीतिक विरासत ?

admin

२४ घण्टामा थपिए एकहजार २२८ संक्रमित

admin