Tanahun Awaj
Uncategorized

ऋषिङमा प्रथम म्याराथन हुने

दमौली/ऋषिङ गाउँ पालिकाले स्वास्थ्य र पर्यटनका लागि खेलकुद भन्ने नाराका साथ प्रथम खुल्ला तथा स्थानीय म्याराथन अयोजना गर्ने भएको छ ।
शुक्रबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा म्याराथन प्रतियोगिता बारे जानकारी गराउँदै गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले प्रचार प्रसारमा सहयोग गर्न सबै सञ्चारकर्मीलाई अनुरोध गरे ।
अध्यक्ष श्रेष्ठका अनुसार पुष २७ गते अयोजना गरिने प्रतियोगिता अन्तर्गत ऋषिङ–८ गढीबाट प्रारम्भ भएर सोही गापा–३ दुभुङमा गएर सम्पन्न हुने खुल्ला म्याराथनमा सहभागीहुन चाहने धावकले एक हजार शुल्क तिरेर आफ्नो नाम दर्ता गर्नसक्ने छन् । गढीबाट सुरु भएको उक्त म्याराथन गाउँ पालिका कार्यालय, गोठादी, चालिसे, भीरकोट हुँदै दुभुङमा गएर समापन हुने र यसको दूरी ४० किमी हुनेछ । यसैगरी गाउँ पालिका भित्रका महिला तथा पुरुषले मात्र सहभागिता जनाउन सक्ने १० किमी दूरीको म्याराथन पनि गढीबाट नै सुरु हुनेछ र वडा नं ६को ज्यामीरेमाई मन्दिर परिसरका गएर सम्पन्न हुनेछ । गाउँ पालिका भित्रका महिलाले मात्र सहभागिता जनाउन पाउने महिला तर्फको म्याराथन जम्मा ४ किमीको हुनेछ । गढीबाट सुरु हुने उक्त प्रतियोगिता वडा नं ७ को दुर्गा भवानी मन्दिर परिसरमा गएर सम्पन्न हुनेछ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार खुल्ला म्याराथनमा विजयी धावकलाई ट्रफि, मेडल तथा प्रमाणपत्रका अतिरिक्त प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने तीनजनालाई क्रमषः ६५ हजार, ४० हजार तथा २५ हजार र १० ÷१० हजार नगद पुरस्कार प्रदान गरिनेछ । १० किमीको म्याराथनमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेले ट्रफी,मेडल र प्रमाण पत्रका साथमा क्रमषः १५ हजार १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् । यसैगरी महिला तर्फको म्याराथनमा प्रथम हुनेले १० हजार, द्वितिय हुनेले ८ हजार र तृतिय हुनेले ५ नगद पुरस्कार , ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
यी सबै पुरस्कार राशीमा लाग्ने कर गाउँपालिकाले व्यहोर्ने समेत अध्यक्ष श्रेष्ठले जानकारी गराए । गाउँ पालिकाले म्याराथनलाई सफल बनाउन स्थानीय इन्द्रबहादुर आलेको संयोजकत्वमा ९ सदस्य रहेको बाह्य सम्पर्क तथा समन्वय समिति निर्माण गरको छ ।
पौष २७ गते बिहान ८ बजे खुल्ला तर्फको म्याराथन प्रारम्भ हुने र २० मिनेटको अन्तरमा अन्य म्याराथन प्रारम्भ हुने जानकारी गराउँदै अध्यक्ष श्रेष्ठले १० लाख रुपैयाँमा प्रतियोगिता सम्पन्न गर्ने लक्ष्य रहेको बताए । श्रेष्ठका अनुसार सोही दिन म्याराथन प्रारम्भ हुने ऐतिहासिक गढीमा भ्यू टावरको शीलान्यास गरिने तथा समापन स्थल दुभुङमा निर्माण सम्पन्न भ्यूटावरको उद्घाटन पनि गरिने छ । दुभुङ भ्यू टावर गाउँ पालिकाको २२ लाख ७६ हजाररुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो ।
पत्रकार सम्मेलनमा जिसस तनहुँका प्रमुख शान्तिरमण वाग्ले, जिसस सदस्य निलबहादुर थापा, नेपमा तनहुँका सचिवालय सदस्य हरिराज कंडेल, नेका तनहुँका जिल्ला कार्यसमिति सदस्य मोहन गिरी लगाएतले म्याराथनमा आफुहरुको पूर्ण सहयोग रहने बताउँदै सफलताको कामना गरेका थिए ।

Related posts

मिडियामा छाएका ट्राफिक प्रमुख

admin

अल्ट्रा म्याराथनले पर्यटन प्रवद्र्धनमा सहयोग गरोस्-सम्पादकीय

admin

हराउँदै गरेका विद्यालयहरु

admin