Tanahun Awaj
Uncategorized

१०५ तन्त्र

छविदीप आले
[email protected]

मैले लिटरको ठ्याक्कै हिसाब त गरेको छैन तर अक्सर मलाई हप्ताको ५ लिटर पेट्रोल चाहिन्छ । म आफै भन्दा पनि ज्यादा मेरो भाइको काम पर्ने हुनाले त्यति पेट्रोल चाहिन्छ । तर जब यो लकडाउनको सुरुवात भयो मलाई त्यति इन्धनको आवश्यकता भएन अत्यावश्यक काम भन्दा बाहेक म घर भन्दा बाहिर पनि निस्किन्न तर अस्ती ताका दमौली जानुपर्ने भयो बाईक लिएर निस्के बाइक रिजर्भ भा रहेछु पेट्रोल पम्प गएर हेरेको लिटरको रु.१०५ रहेछ । बाईकमा तेल हाल्न नगएको धेरै भएको थियो । लगभग दशदिन पछि पछिल्लो समय तेल हाल्दा लिटरको एक सय दुई रुपयाँ थियो । अहिले एक सय पाँच भएको रहेछ । न त मलाई पेट्रोलको भाउ बृद्धि भएको जानकारी नै थियो । न त त्यस सम्बन्धी सूचना नै । त्यसैले तत्काल केही गर्न सक्ने र भन्ने अवस्था रहेन । त्यतिखेर एउटै कुराले मात्र दिमागमा दस्तक दिईरहन्थ्यो । आखिर पेट्रोलको भाऊ कसरी बढ्यो । अर्थशास्त्रमा एउटा नियम छ, बजारमा कुनै बस्तुको माग बढ्यो भने मूल्य बृद्धि हुन्छ र कुनै बस्तुको उत्पादन बढी भयो भने पनि मूल्य घट्दछ । त्यस्तै नियम नेपाल आयल निगममा पनि लागू हुनु पर्ने हो । तर नेपाल आयल निगमले अर्थशास्त्रको यो नियमलाई पनि फेल गराई दियो । यतिखेर बजारमा पेट्रोलियम पदार्थको माग कम छ । किनभने सरकार नियन्त्रणमा रहेका लगायत व्यक्तिगत स्वामित्वमा रहेका उद्योग धन्दा पनि ठप्प छ । जस्ले गर्दा उत्पादन बन्द छ । यसको अर्थ आयात निर्यात छैन । जस्ले स्पष्ट बुझाउँछ कि पेट्रोल डिजेल लगायतका बस्तुको खपत कम छ र पनि मूल्य बृद्धि चाही किन ? अचम्म लाग्दो कुरा सुनको खासै कारोबार हुँदैन र पनि दिनानु दिन सुनको भाऊ बढ्दो छ । त्यस्तै सवारी साधन बन्द छन् र पनि पेट्रोलियम पदार्थको भाऊ बढ्दो छ । कस्तो अचम्म ? यो कली युगको अचम्म हो कि कम्यूनिष्ट शासनको निर्लज्जपन । घट्दाखेरी एक सय रुपयाँको ९८ रुपयाँ हुन्छ । बढ्दा खेरी ९८ रुपयाँबाट एक सय पाँच हुन्छ । अलिकति घटाएर कक्रक्कै मार्ने गरी यो कस्तो कम्यूनिष्टवाद र समाजको स्थापना गर्न खोजेको हो ?सायद अब नेपाल आयल निगमले पनि अर्को कूलमान खोजेको हुँदो
हो ।
हुन त हामीले भागि राखेको कुरा हो, अन्तराष्ट्रिय बजारमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय रुपयाँ भन्दा कम हुँदा नेपाली बजारमा एक सय रुपयाँ भन्दा बढीमा बिक्रि भैरहेको थियो । जब कि भ्याट लगायत अन्य सबै शुल्क तिर्दा पनि नेपाली बजारमा पेट्रोलको मूल्य एक सय रुपयाँ भन्दा बढी कुनै पनि हालतमा पर्दैनथ्यो । यहीबाट थाहा हुन्छ, नेपाल आयल निगमका पदाधिकारीहरुको भ्रष्टाचार र निजी पेट्रोलपम्प व्यवसायीहरु संगको साँठगाँठ । एउटा कार्यालय सहयोगीले टिएडिए र अनेकौं सुविधाको नाउँमा कमाएको सम्पत्तिको त छानविन गर्न सम्भव छैन भने उच्च अधिकारीहरुको कुरा त एकादेशको कथा भयो । जुन देशमा सर्वोच्च न्यायालयको न्यायाधीश नै सतरञ्जको गोटी जस्ता हुन्छन्, अरुले चाले अनुसार चल्ने ।
नेपाल आयल निगमका सबै कर्मचारीहरु भ्रष्ट छैनन्, यो सत्य हो । तर भ्रष्टचारीहरुको र कालो धन कमाउनेहरुको जालोले यसरी जलेको छ कि त्यसको इतिहास खोतल्ने हो भने नेपालका धेरै विशिष्ट व्यक्तिहरु कानुनको दायरामा आउनेछन् , बडो दुःखको कुरा ।
नेपाल आयल निगमको काम कर्तब्य र अधिकारको दायराको आफ्नै क्षेत्र होला । त्यो अलग कुरा हो । तर मलाई जिज्ञासा लागेको कुरा चाही त्यो पेट्रोल होस् चाही डिजेल या जाहे ग्यास सबै सर्बसाधारणले भनेको मूल्यमा त्यसको खरिद गरेका छन् । पेट्रोलियम पदार्थको भाऊ बढ्दा विभिन्न विद्यार्थी संगठनले विरोध जनाउँछन् अनि एक सय रुपयाँ पाँचको एक तीन रुपयाँ बनाउँछन् । त्यसको दुई दिन पछि फेरी एक चार पुगेको कसैलाई वास्ता हुँदैन । हामीलाई पनि एक सय पाँचबाट एक सय तीन रुपयाँ बनाउँदा ठुलै राहत भए जस्तो हुन्छ । तर फेरी एक सय चार पुग्दा मौन रहन्छौं । हामी आमनागरिक आफ्नो जिविकोपार्जन गर्ने सम्बन्धमा यस्ता कैयौ सानातिना चलखेललाई नजर अन्दाज गर्दछौं । हामी सोच्छौं दुई रुपयाँले के नै हुने हो र ? तर हामीले वेवास्ता गरेको यही दुई रुपयाँले सीमित मान्छे करोड बन्छ र करोडौं नेपाली जनताको शीरमा लाखौंको ऋणभार थपिन जान्छ । उदेक लाग्दो कुरा, कैयौं नेपाली बच्चाहरु आफनो आमाको काखमा हुँदा नै प्रतिव्यक्ति आयको ऋण बोकेर जन्मन बाद्य छन् । के यो कथित समाजवादको नतिजा होइन र ? जस्ले हुनेलाई अझै हुने बनाउँदो रहेछ । नहुनेलाई अझै नहुने बनाउँदो रहेछ ।
नेपाली मुद्रा अन्तराष्ट्रिय बजारमा कमजोर छ, विशेष गरी अमेरिकन डलरसंगको प्रतिष्प्रधामा । अमेरिकासंग मात्र होइन, नेपाल अन्तराष्ट्रिय बजार प्रतिष्प्रधामा धेरै नै पछाडि छ । यसको अर्थ नेपाल साँच्चै नै कमजोर छ भन्ने होइन । तर नेपालको नेतृत्व कमजोर छ भन्ने चाही पक्कै हो । यस कारण नेपालको एक सय पाँचको आतंकसंगै यी सबै बृद्ध नेतृत्वको विर्सजन गर्नु अति आवश्यक छ ।
यस्तो रमिता चाही विश्वमै सायदै कही भएको होला, माग छैन तर मूल्यबृद्धि । नेपालमा भएको छ । किनभने यहाँ त कमाउनु छ ।
हामी सबैलाई थाहा छ इन्धनको व्यापार कहिले घाटामा नजाने व्यापार हो । किनभने जस्तो सुकै अप्ठ्यारो आईपरेपनि मानिसले यसको प्रयोग गर्न छाड्दैनन् र दैनिक रुपमा यसको उपभोग बढी रहेको छ र पनि किन नेपाल आयल निगमले घाटामा व्यापार गरिरहेको छ । नाफा भएको भए किन सस्तोमा दिंदैन ? यदि वास्तवमै पेट्रोलियम पदार्थको उपभोगले हामीलाई राष्ट्रिय अर्थतन्त्रमा घाटा भैरहेको छ भने किन सरकारले नविकरणीय उर्जाको स्रोत प्रयोगमा प्रबद्धन गर्दैन ? हाम्रोमा डिजेल पेट्रोलको मूल्य एक सय बाट बढेर एक सय पाँच पुग्छ भने अनेकथरी आन्दोलन गरी सकेपछि एक सय पाँचबाट एक सय दुईमा झर्छ, पहिला सय अनि एक पाँच अनि एक सय दुई यो तीन रुपयाँको नाममा अरबौंको चलखेल कहिलेसम्म ?
सरकार, नागरिक स्वतन्त्र जीवन जिउन चाहन्छन् । आफ्नो कारोबार व्यवसाय या कुनै धन्दा गरी आराम पूर्वक जीवन जिउन चाहन्छन् । तिम्रो लुटतन्त्रले नागरिकको यही सपना माथि तुसारापात गरि दिएको छ । नेता ज्यू, तिमी सरकार चलाउ तर नागरिकलाई जीवन चलाउन देऊ ।

Related posts

नेपाली काँग्रेस तनहुँ क्षेत्र नंं. २ को भेलामा गर्जिए ने.का. नेता जोशी

admin

अचम

admin

आवासीय किरियापुत्री भवन निर्माण सम्पन्न

admin