22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

न्यायीक आस्था बचाउन बोल्यो बार

ऋषिराम पोख्रेल
अधिवक्ता

पृष्ठभूमिः
नेपाल बार एशोसिएशनले आमनागरिकमा न्यायीक आस्था जगाउन सत्र बुँदे ध्यानाकर्षण पत्र प्रधानन्यायाधीशलाई बुझाएर मुख खोलेको छ । संवैधानिक सर्वोच्चता, विधिको शासन, मानव अधिकार, स्वतन्त्र, निष्पक्ष, र सक्षम न्यायपालिका, प्रेस स्वतन्त्रता, व्यवसायीक हक हित संरक्षण र प्रवर्धनको पक्षमा नेपाल बार एशोसिएशन आफ्नो स्थापनाकालदेखि सदाकाल क्रियाशिल रही आएको न्यायपालिकालाई स्मरण गराउँदै कहिकतैबाट दखल, हस्तक्षेप पुगे वा पु¥याएमा खुलेर विरोध गर्ने नेपाल बारले जनाएको छ ।
न्यायपालिकाको भूमिकाः ध्यानकर्षणमा न्यायपालिकाको भूमिका पनि स्मरण गराइएको छ । राज्यका तीन अंग मध्येको एक अंग न्यायपालिकाले राज्यका कार्यपालिका र व्यवस्थापिका समेत संवैधानिक अंगहरुबाट बेलाबखत हुने संविधान, तथा कानुन विपरितका त्रुटी र गल्तीहरु सच्याइ वा सच्याउन लगाई आमनागरिकलाई न्यायीक सुरक्षाको प्रत्याभूति दिलाएर आमनागरिकको न्यायीक आस्था बचाएको प्रसंग ध्यानाकर्षणमा झल्काएको छ । अदालतको स्वतन्त्रता, सक्षमता, निष्पक्षता, पारदर्शिता, स्वच्छतापूर्ण कार्यबाट अदालतप्रति आमनागरिकको विश्वास बढ्दै जाने सन्दर्भलाई उल्लेख गरेर न्यायीक मार्गमा हिड्न सजग गराएको छ । न्यायमा सहज, सरल र सार्थक पहूँचका लागि नागरिकको हक हित रक्षाका लागि संविधानको पूर्ण परिपालना गर्न, गराउनका लागि र विकृति विसंगति हटाउने कुरामा सदा सचेत र सतर्क भई लागि रहेको र लागि रहने प्रतिबद्धता देखाएको बारले अदालतलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।
ध्यानाकर्षणको स्वरुपः
स्थापनाकालदेखिको बारको भूमिका उल्लेख गर्दै न्यायाधीशको प्रमुख भूमिका, न्याय परिषदको कमजोरी, न्यायपालिकाको समग्र सुधार, विशेष आयोग गठनको माग गरेको छ । न्यायाधीशमा पदानुकुलको अनुभव र अध्ययनको लागि प्रशिक्षण, माग गरिएको छ । २०७६ बैशाख १० गतेदेखि २०७७ साउन ४ गतेसम्मका छवटा ध्यानाकर्षण, विज्ञप्ति, अपिल समेतको छायाँकपि राखेर १७ बुँदे ध्यानाकर्षण पत्र साउन २५ गते प्रधानन्यायाधीश समक्ष प्रस्तुत गरेको छ । नेपाल बारको साउन २३ गतेको बैठकको निर्णय अनुसार १७ बुँदे कार्य तत्काल शुरु गर्न जोडदार माग गरेको छ ।
सत्र बुँदाको सारांशः
सबै तहका अदालतहरुमा पेशी तोक्ने प्रणालीमा त्रुटी कमजोरी रहेको कारण र आम सञ्चार माध्यमका गतिविधिबाट न्यायपालिकाले जनआस्था अभिबृद्धि गर्न नसकेको, वितृष्णा फैलिन गएको चर्चा गर्दै एक महिनाभित्रै विद्युतीय स्वचालित प्रणाली (ब्गतयmबतष्यल) मार्फत पेशी तोक्ने व्यवस्था गर्न माग गरेको छ । दोस्रो बुँदामा पुराना मुद्धाको सुनवाई उचित व्यवस्थापन गर्न माग गरेको छ । तेस्रो बुँदामा संवैधानिक इजलासको कार्यक्षेत्रभित्र पर्ने विवादहरुको नियमित सुनवाई गर्ने व्यवस्था मिलाउन माग गरेको छ । चौथो बुँदामा पेशी स्थगित हुँदा समान प्रकृतिका मुद्धामा समान आधार कारणका आधारमा स्थगन गर्न भनिएको छ । पाँचौ बुँदामा अदालत परिसरमा अविलम्ब कानुन व्यवसायीको सवारी पार्किङ्गको उचित व्यवस्था गर्न मागिएको छ । तीन तीन महिनामा बार बेञ्चको नियमित छलफल गर्न माग गरिएको छ ।
सातौं बुँदामा कानुन व्यवसायीहरुले न्यायाधीशहरुमा पदानुकूलको अनुभव तथा ज्ञानको समेत अभाव रहेको भन्ने गुनासो आएकोले प्रशिक्षण, तालिम र अध्ययनको उचित व्यवस्था गरेपछि मात्रै बेञ्च तोक्न माग गरिएको छ । आठौ बुँदामा स्वचालित पेशी प्रणाली लागू नहुन्जेलसम्म उच्च अदालतको वाणिज्य इजलाशमा न्यायाधीश तोक्ने कार्य विषय विज्ञका आधारमा सम्बन्धित अदालतका मुख्य न्यायाधीशलाई प्रदान गर्न माग गरिएको छ । नवौं बुँदामा न्याय परिषद ऐन २०७३ को दफा ४ को व्यवस्था लागु गर्न माग गरेको छ ।
दशौं बुँदामा एकै प्रकृतिका मुद्धामा उही बेञ्च तथा फरक बेञ्चबाट फरक फरक फैसला भएको पाईएको चर्चा गर्दै फैसलामा एकरुपता कायम गर्न जोडदार माग गरिएको छ । एघारौं बुँदामा न्याय क्षेत्रभित्रका विसंगती, बिकृति, विचौलिया र भ्रष्ट्राचार नियन्त्रण गर्न नेपाल बार एशोसिएशनको प्रतिनिधि समेत सम्मलित एउटा विशेष संयन्त्र अविलम्ब गठनमा जोड दिएको छ । बाह्रौं बुँदामा न्यायाधीश नियुक्ति न्यायालयमा हुने सबै प्रकारको राजनीतिक हस्तक्षेप निषेध र अस्विकार गर्न माग गरिएको छ । बरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्दा बारको सुझावलाई गम्भिरतापूर्वक लिन आग्रह गरिएको छ । चौधौं बुँदामा न्यायाधीश र नेपाल बार एशोसिएशनका पदाधिकारीहरुको सम्पत्ति पारदर्शी रुपमा छानविन गरी सार्वजनिक गर्ने व्यवस्था मिलाउन माग गरिएको छ । पन्ध्रौ बुँदामा अदालतका आदेश, फैसलाहरुको कार्यान्वयन तत्काल गरी न्याय परेको अनुभूति दिलाउन माग गरिएको छ । सोह्रौ बुँदामा अदालतमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाको प्रवेश र प्रभावलाई तत्काल नियन्त्रण गरियोस् भनेको नेपाल बारले मुख्य न्यायाधीश, मुख्य न्यायाधीश भई काम गर्ने न्यायाधीश वा न्यायाधीश नियुक्ति गर्दा निश्चित आधार र कारण र मापदण्डका आधारमा गर्न माग गरिएको छ ।
निष्कर्षः
नेपाल बार एशोसिएशनले सत्र बँुदे ध्यानाकर्षण पत्र प्रधान न्यायाधीशलाई बुझाएर न्यायपालिकाप्रति घटेको जनआस्था जगाउन एक कदम अगाडि बढेको छ । निश्चित रुपमा न्यायाधीश हुन योग्यता पुगेको, अनुभव र ज्ञानको भण्डार भएको व्यक्ति हुनुपर्दछ । न्यायाधीश नियुक्तिमा हुने राजनीतिक हस्तक्षेपमा प्रत्यक्ष अप्रत्यक्ष बार नै साधन बनेको विगत इतिहास साक्षी छ । न्याय क्षेत्रमा विचौलिया र भ्रष्टाचार नियन्त्रण गर्नका लागि अदालत भन्दा बढी नेपाल बार नै जिम्मेवार हुनु पर्दछ । कतिपय अवस्थामा दलालीको भूमिका कानुन व्यवसायीहरु नै सक्रिय हुन सक्ने संभावना तर्फ नेपाल बारले आँखा चिम्लन मिल्दैन । अनुभव र ज्ञान न्यायाधीशलाई मात्रै होइन, कानुन व्यवसायीलाई पनि आवश्यक हुन्छ ।
आफ्ना कानुन व्यवसायीहरुलाई प्रशिक्षण दिलाउने तर्फ नेपाल बार पनि जिम्मेवार ढंगबाट प्रस्तुत हुनु पर्दछ । १७ बुँदे मागप्रति नेपाल बार सदाकाल आफ्नो तहबाट इमानदार भूमिका निर्वाह गर्न दृढ रहोस् । न्यायप्रतिको जनआस्था बचाउन नेपाल बारले कानुन व्यवसायी परिषदलाई पनि निष्पक्ष, विना पूर्वाग्रह सक्रिय तुल्याउनु पर्दछ । मागेर, चाकडि गरेर, भागवण्डामा परेर होइन, विज्ञता र निष्पक्षताको आधारमा बारको सदस्य न्यायाधीश हुन सक्ने पद्धति नेपाल बारले बसाल्न सक्नु पर्दछ ।

Related posts

अदालतका सेवाग्राहीले थाहा पाउनै पर्ने कुरा

admin

कहिले ब्यूझन्छ सरकार ?

admin

म्याराथनले स्वास्थ र पर्यटनको अभिबृद्धी होस्

admin