Tanahun Awaj
Uncategorized

कोरोनाबाट बच्न नाका नाकामा सचेतना

राम्जाकोट/ऋषिङ्ग गाउँपालिका वडा नं. ५ राम्जाकोटमा प्रवेश नाकामा कोरोना विरुद्ध सचेतना अभियान शुरु भएको छ ।
वडाध्यक्ष पदमबहादुर थापाका अनुसार वडाभित्रका शिक्षक र राजनीतिक दलका प्रतिनिधिलाई स्वयमसेवकको रुपमा परिचालन गरी सो अभियान प्रारम्भ गरिएको हो । वडा सदस्य रामचन्द्र पोखरेलका अनुसार वडामा प्रवेश गर्ने मुख्य पाँच नाकामा कोरोना विरुद्धको सचेतना अभियान सञ्चालन गरिएको हो ।
अभियानले सकारात्मक परिणाम दिन थालेको वडाप्रवेश गर्ने मुख्य नाकाको रुपमा रहेको ऋङ्गशान्ति मार्गको नाकामा सचेतना अभियानको नेतृत्व गरेका शिक्षक बेलबहादुर थापा बताउँछन् । शिक्षक थापाका अनुसार अनावश्यक काममा ओहोर दोहोर नगर्न, सावुन पानीले समय समयमा हात धुन, मास्क लगाउन, लकडाउनको नियम पूर्ण पालना गर्न, भिडभाडमा नजान तथा घरमै बस्न गरिएको आग्रह सहितको अभियान प्रारम्भ भएसंगै सानो काममा पनि वडाबाट बाहिर जानेर भित्र आउने मानिसको संख्या उल्लेख्य घटेको छ ।
नबलपुरको बुलिङ्गटार गाउँपालिकाबाट कालीनदीको पुल तरेर वडा प्रवेश गर्ने दुई नाकामा पनि सचेतना अभियान सञ्चालन भएको छ । नाकामा स्वयम सेवकको रुपमा खटिएका गाउँपालिकाका प्रवक्ता विजय दरै सामान्य स्वास्थ्य समस्या हुँदा घरमै आराम गर्न र स्थानीय स्वास्थ्य संस्थामा सम्पर्क गर्न तथा कोभिड–१९ बाट बच्ने उपाय बारे समेत जानकारी गराउने गरेको बताउँछन् ।
वडा प्रवेश गर्ने सपाङ्गदी नाका तथा घिरिङ्गबाट प्रवेश गर्ने नाकामा पनि अभियान सञ्चालन भैरहेको र जेठ महिनाभर अभियान जारी रहने वडाध्यक्ष थापाले बताए । जेठ ७ बाट प्रारम्भ भएको अभियानमा २८ जना शिक्षक तथा दलका प्रतिनिधि सहभागि छन् ।

Related posts

अब एकपटक यसरी पनि सोचौं कि ?

admin

रोग शान्तिको प्रार्थना

admin

उपशाखा सभा सम्पन्न

admin