21.1 C
Damauli
October 9, 2026
Tanahun Awaj
Uncategorized

बालबालिका माथि हुने अत्याचार विरुद्ध एक मत बनौं

अप्सरा भट्टराई
व्यास–१ गल्बुवेसी

केही समय अगाडि भक्तपुरको एक निजी विद्यालयकी शिक्षकले परीक्षामा राम्रो अंक नल्याएको भन्दै साना बालबालिकालाई पेन्सिल कटरको ब्लेडले नाडीमा चिर्न लगाएको घटना सार्वजनिक भएको थियो । सोही आसपास गृहकार्य नगरेको भनेर पिट्दा विद्यार्थीको हात भाँचिएको घटना पनि सार्वजनिक भएको थियो । बालबालिका माथि हुने अत्याचारका यस्ता घटनाहरु हामीले बारम्बार पत्रपत्रिका पढ्छौं । रेडियोमा सुन्छौं ।
मैले यो सन्दर्भ यहाँ किन उठाएकी हूँ भने आज जुन ४ तारीख संसारभर निर्दोस बालबालिका माथि अत्याचार विरुद्धको दिवस मनाउने गरिन्छ र माथि प्रस्तुत सन्दर्भहरु बालबालिका माथि हाम्रो समाजमा हुने अत्याचारका केही उदाहरण हुन् । अन्तराष्ट्रिय स्तरमा यो दिवस मनाउनुको अर्थ पक्कै पनि बालबालिका माथि कसैले पनि जानेर वा नजानेर अत्याचार नगरोस भन्ने नै हुनु पर्दछ । त्यो विषयमा आमनागरिकमा सचेतना जगाउने र आगामि दिनहरुमा बालबालिका कुनै पनि खालका अत्याचारको शिकार हुन नपरोस भन्ने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।
बालबालिका माथि हुने अत्याचार यतिमा मात्र सीमित छैन । केही समय अगाडि मात्र काठमाण्डौ उपत्यकाका विभिन्न निजी विद्यालयमा अध्ययन गर्ने बालबालिका माथि हुने अत्याचारको समाचार प्रकाशित भएको थियो । सामाचारमा उल्लेख भए अनुसार जाउलाखेलका कतिपय बालबालिका बुढानिलकण्ठका पढ्न जान्छन् । अनि बुढानिलकण्ठका कतिपय बालबालिका जाउलाखेल । उनिहरुव विहान ७ बजे स्कूल बस चढ्नु पर्ने हुन्छ, दश बजे स्कूल पुग्न । आधा जसो बालबालिका उभिएरै यात्रा गरिरहेका देखिन्छन् । विद्यालय जान लागेको एउटा बालकलाई तीन घण्टासम्म उभ्याएर यात्रा गराउँदा उसले विद्यालय पुगेर के पढ्न सक्ला ? साँझ चार बजे छुट्टि भएर घर हिडेको उ फेरी ३ घण्टा उभिएरै यात्रा गर्न बाद्य हुन्छ । र ७ बजे घर आईपुग्छ । के यो बालबालिका माथि भएको अत्याचार होइन ? गुणस्तरीय शिक्षा प्रदान गर्ने नाममा अभिभावकले बालबालिका माथि कहिलेसम्म यस्ता खाले अत्याचार गरिरहने हो ? अनि यातायात शुल्क अभिभावकको ढाड सेकिने गरी असुल्ने तर विद्यार्थीलाई दैनिक थुप्रै घण्टा उभ्याएर यात्रा गराउने प्रबृत्ति ति विद्यालयले कहिल्य त्याग्ने ?
हामी शहर बजारका होटलहरुमा गयौं भने होटलको पछिल्लो भागमा रहेको अध्यारो र फोहर कुनामा कुनै बालक वा बालिका आफूभन्दा ठूला भाँडा माझि रहेका भेटिन्छन् । समयमा काम नसकेको भनेर होटल मालिकले खान नदिएका, कुटपिट गरेका, तलब नदिएका घटना थुप्रै भेटिएका छन् । घरेलु कामदारको रुपमा काम गर्न राखिएका बालबालिका घर मालिकले बाँधेर राख्ने गरेका घटनाहरु पनि बारम्बार देखिन्छन् सुनिन्छन् । सवारी साधनहरुमा सहचालकको रुपमा काम गर्ने खासगरी बालकमाथि हुने अत्याचार पनि कम छैन । आफ्नो तौल भन्दा गह्रौं सामान उचाल्नु पर्ने, समयमा काम नसकेको भनेर चालकले कुट्ने गरेका प्रसस्त भेटिन्छन् । अंगभंग गरेर माग्ने काममा लगाउने, जोखिम पूर्ण काममा लगाउने, लागू पदार्थ ओसार पसारको काममा लगाउने, बाल बालिकालाई यौन दुराचारको शिकार बनाउने लगायतका थुप्रै अत्याचार बालबालिका माथि हुने गरेका छन् ।
बालबालिकाको भविष्यमा नकारात्मक प्रभाव पर्ने गरी गरिने यस्ता व्यवहार सभ्य समाजका लागि सुहाउने काम होइन् । हाम्रो देशले बालअधिकार सम्बन्धी महा सन्धीमा हस्ताक्षर गरिसकेको सन्दर्भमा हाम्रो व्यवहार त उनीहरुलाई महासन्धीमा उल्लेख गरिएका अधिकार कसरी प्रदान गर्ने भन्ने तर्फ सकारात्मक पो हुनु पर्दछ । उनिहरुको बाँच्न पाउने अधिकार, विकासको अधिकार, संरक्षणको अधिकार तथा सहभागिताको अधिकारको रक्षा गर्दै र उनिहरुलाई ति अधिकारको निर्वाध उपभोग गर्ने वातावरण सृजना गरी समुन्नत समाज निर्माणमा सघाउनु हामी सबैको दायित्व हो । हामी सबै बालबालिका माथि हुने सबैखाले अत्यचारको विरुद्ध एकमत बनौं बाल अत्याचार रहित समाज निर्माण निर्माण गरौं ।

सन्दर्भ
निर्दोष बाबालिका माथि अत्याचार विरुद्धको दिवस

Related posts

काँग्रेसको नेतृत्व गर्न रेडक्रसबाट राजीनामा

Tanahun Awajweekly

जनसहयोगी माविको ५८ औं वार्षिकोत्सव

admin

भेंडा नै हो त ?

admin