23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
साहित्य

बन्दी

पीपला ढुंगाना

सोच्दैछु ति खाली बाटाहरू
के गर्दै होलान् यतिबेला!
मैले सम्झिएजस्तै,
कल्पनाको पाइला लम्केजस्तै,
यिनीहरू पनि सम्झन्छन् कि सम्झदैनन् होला,
आफ्नाे सदाबहार बटुवालाई?

एउटा घेरा लगाइएको
खुल्ला आकाशमुनि
म मथिङ्गलमा तिनै बाटाकाे यादमा
गाेलचक्कर मारिरहेछु

जस्तो कि परपुरुषको समागममा
चरमोत्कर्षमा पुग्छे
घर देशको दुखले लखेटेर
परदेशले खरिद गरेको एउटी अवला
सम्झेर आफ्नो प्रिय पुरुष,!

जसरि जबर्जस्ती
स्खलित हुन्छ कुनै गाडा मजदुर
कुण्ठाले खरिद गरेको पुतलीसँग
आफ्नी प्रियतमाको
अङ्गालोको कल्पनामा!

यो घेराभित्रको गाेलचक्कर
त्यो अवला र गाडा मजदुरकाे सन्तुष्टि
ठ्याक्कै उस्तै लाग्छ अचेल।

अनि ति सतिसाल जस्ता मान्छेलाई
उतिस बनाएर दन्काउने
समाजको याद आइपुग्छ
मगज खजमज्याउन
र पनि
म चुपचाप हुनुको परिबन्धमा छु
केवल टुलुटुलु मुकदर्शक बन्नु सिवाय
केही गर्न नसक्ने
देखेर पनि
नदेखे जस्तै गर्नु परेको छ
नदेख्दा र नदेखे जस्तो गर्दा
खास ठोस फरक पर्ने वाला छैन
किनकी म बन्दी हुँ

बन्दी बनाएको छ समयले मलाई।।

Related posts

कविता

admin

बिदेशी जेलमा परेको नेपाली दाजुको वेदनाः

admin

तीन मुक्तक

admin