Tanahun Awaj
कला/मनोरन्जन

चट्याङ्ग चौतारी

हाम्री हजुर आमा–१

यमप्रसाद सापकोटा

शुरु हुन्छ कथा हाम्री हजुर आामाको । हाम्री हजुर आमा खत्रा । खत्रा कसरी भन्नु होला भने अबका दुई चार अंकमा मेरी हजुर आमाको नालीबेली बर्णन गर्नेछु । एउटा लेखक अथवा व्यङ्ग्य स्तम्भकारले आफ्नो र आफ्नो परिवारको ससुराली, मावलीको, र नाता गोताको अनि परिआए छरछिमेकको खोइरो नखनेसम्म पाठक(पढ्ने)लाई पढ्नमा आनन्द नै आउँदैन । त्यसैले कुरा गरौं मेरी हजुरआमाको । उमेर हिसाबले लगभग चार बीस अर्थात असी । त्यै पनि जोशजाँगर, सम्झिने शक्ति, तथा देश विदेशका समाचारमा हाम्रो परिवारका सबै सदस्य भन्दा दश पाईला अगाडि ।
कसका घरमा मकै भुटे, कसले कति भूँडी फुटे, कसको घरमा नाति नातिना जन्मे, कुन देशमा चुनाव भयो, कुन देशमा राम्रो काम भयो, कुन नेताले कति कुम्ल्यायो, कुन कलाकार कुन दर्जाको, कुन खेलाडीको स्तर कस्तो सबै सबै कण्ठै हुन्छ । मै हूँ भन्ने पनि हाम्री हजुरआमाका अगाडि आएर गफ हान्दा विचार पु¥याएर सोंचेर, गुनेर, गफ हान्नु पर्दछ । नत्र झ्याप्पै खाई हाल्छिन्, हाम्री बज्यैले ।
यतिका गुण भएकी बुढीमा एउटा अवगुण भने छ । उही नखए चल्न नसक्ने, खाए हाल्लिन नसक्ने भने जस्तो । बुढीमाउको बानी आफ्ना कुराको बीच बीचमा, अंग्रेजी, हिन्दी अनि परिआएमा, संस्कृतका शब्दावली मिसाउने । मिसाउन त मिसाउने तर कहिले काही, पुरानो, मोडलको शब्दावली मिसाएर अर्थको अनर्थ नै बनाई दिन्छिन् बुढीले ।
पहिलेदेखि अहिलेसम्म आदिकालदेखि अनादी कालसम्म, राजादेखि रैतीसम्म, नेतादेखि कार्यकर्तासम्म, झोलेदेखि खोलेसम्म, सुकुटीदेखि ढुकुटीसम्म, बालदेखि बृद्धसम्म, सबैको जानकारी राख्न सक्ने प्रतिभावान यस्ति बुढीको मात्रै एउटा कमजोरी भयो । लाउरे भाषा र गाईखाने भाषा बीच बीचमा मिसाउने र त्यसको स्पष्टीकरण नातिले अर्थात मैले बुझाउनु पर्ने ।
अलिअलि बुझेका र सुनेका अथवा हावा तालमा कुरा गर्नेलाई त बुढीले खप्लक्कै खान्छिन् । त्यो मुलाको हिम्मत फेरी हाम्री हजुरआमासंग अर्को चोटी अगाडि आएर गफ जोत्ने ??? विचराहरुको हुर्मत लिन्छिन् हाम्री बुढीले । परिआएदेखि मेडिन नेपाल, मेडिन इण्डिया र मेडिन यूरोपका गालीले समेत स्वागत गर्न पछि पर्दिनन् बुढी ।
बाँकी अर्को अंकमा ।

Related posts

चट्याङ्ग चौतारी

admin

चट्याङ्ग चौतारी

admin

कार्टुन

admin