28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
साहित्य

नामको भोकले दौडिएको एउटा मनुवा

पिपला ढुङ्गाना

जब नियतिको मझेरीमा
कैयौँपटक पछारिन्छ
ठोक्किन्छ,
पल्टिन्छ,
अनि बजारिन्छ कर्मको बलँेसीमा
समयले अबेला गरिदिन्छ बिर्सेरै
पर्खाइमा आफ्नो उभिने पालो

देखिरहन्छ सपना
किनकि सपना देख्नु
उसको अन्तिम लक्ष्य हो ।
या भनौँ आदत भएको छ उसलाई
ऊ कसरी पो मारोस्
नाम रूपी भोकको कीरा
मनको कुनाबाट ?
सपना देख्नु त नियति हो जिन्दगीको
कसरी निमोठ्न सक्छ र  मान्छे
आफ्नै सपनाको घाँटी ?
जिन्दगी आखिर
लड्नु र उठ्नु नै त हो जानेरै पनि

फगत आफ्नै बलबुताले चलाएर जिन्दगी
चलाएर या घिसारेर जे भने पनि
पाइला रोकेको छैन
भलै दौडिनेहरुको भीडमा  एक्लियो ऊ
सक्दिनँ राम बन्न त के हराम नै बन्नुपर्छ भन्ने छ र ?
एकालाप गर्दै सङ्घर्षको इतिहासभरि
किनकि आफूलाई आफूले जति
बुझ्ने कोही भेटेन उसले
ताकि सकोस वार्तालाप गर्न

उसले लडेको सम्झियो
शङ्कै गरेन कतै मलाई लडाइयो कि भनेर
किनकि ऊ निसङ्कोच विश्वास गर्न जन्मेको हो
आफूले आफूलाई बुझ्दासम्म लहैलहैमा
जिन्दगीले बिट मारिसकेछ ।

पश्चाताप समाधान होइन भनेर
जान्दा जान्दै पनि
मनन गर्दै गर्दा
आँखै अगाडि आफ्नै सपनाले
खरानी बनाएको
आफ्नै विम्ब प्रतिविम्ब देखेर
धेरै बेर पछुतायो ऊ
जिन्दगीको अन्तिम चरणमा पनि

ठीक उसैबेला
चिसो सिरेटो मष्तिस्क
छेड्ने गरी
एउटा कुनाबाट दगुर्छ
झस्काउँछ उसलाई
तन्द्रा पर्छ केही निमेषको
त्यहाँ पनि लखेटिन्छ बिचरो
र
लखतरान भएर  फर्किन्छ
हातमा सिङ्गो शून्य लिएर
शून्य नै शून्य ओढेका
मान्छेहरुको बस्ती हुँदै
भुस्याहा कुकुर काखी  च्यापेर,
निदाइरहेको बिर्खे माइलो भेट्टाउँछ
अलिपर देख्छ
एक्सन कटको डाइलग बोलिराखेकी जुनेली
अवचेतन मनको निम्ता स्वरूप
सुँघिरहेकी हुन्छे ग्लु स्निफिङ

त्यो शून्यताको अन्त्य नहुँदै
फेरि अर्को बिहान जन्मन्छ
उस्तै उस्तै  सिरेटो बोकेर
उसैगरी च्यापु थरथराइ रहेका
मान्छेहरुको बस्ती बिउँझिन्छ

एउटा कालो युगदेखि
कालो युगसम्म आइपुग्दा
बल्ल ब्युतिन्छ बिचरो
जिन्दगी कति बिजायो
भनेर गिन्ती हुनथाल्छ
युगले नेटो काट्दै गरेको देख्छ
र
जीवन जिउनुको मज्जा आउँदैन उसलाई
अनि
सर्लक्क पन्छाएर प्राणरूपी बोझ
जिन्दगीभर देखिएका
गगनचुम्बी सपनाहरु
विपनामाथि नै थाँती राखेर
समयले थमाएको रिस्ता निभाउँदै
एउटा कालो युगको प्रतिनिधित्व स्वरूप
झ्याप्पै निभ्छ प्रेमील दीपक
निष्पट्ट अँध्यारोको बेवास्ता गरेरै
सधैँ आफू अँध्यारोमा बसेको ऊ
बल्ल आज आजाद भएको छ
बल्ल आज उज्यालिएको छ ।

Related posts

अचम

admin

म त मलामी हिँडेको

admin

गजल

admin