Tanahun Awaj
Uncategorized

खै सेनेटरी प्याड?

रमेश विकल

अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणका क्रममा गत जेठ १५ मा देश भरका सामुदायिक विद्यालयमा अध्ययनरत महिनावारी सुरु भएका सबै छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण गर्ने घोषणा गरे । बजेट भाषणकै क्रममा उनले भने निःशुल्क सेनेटरी प्याड वितरणका लागि आवश्यक बजेट शिक्षा मन्त्रालयलाई विनियोजन गरेको छु ।

अर्थमन्त्रीको यो घोषणाले महिनावारी सुरु भएका धेरै स्कुले छात्रालाई हर्षित तुल्यायो । किनभने अब विद्यालयमै रहँदा महिनावारी भै हाले पनि कक्षा छाडेर घर फर्कनु पर्दैन भन्ने उनीहरुलाई लाग्यो । अझ नेपाल सरकारको २१ भदौमा वसेको मन्त्रीपरिषदको बैठकले कार्तिक १ बाट सामुदायिक विद्यालयमा अध्ययनरत महिनावारी भएका सबै छात्रालाई निःशुल्क प्याड वितरण गर्ने निर्णय गरेपछि ति छात्राहरुको आशा विश्वसमा परिणत भएको थियो ।तर अर्थमन्त्रीले घोषणा गरेको पाँच महिना वित्दा र आर्थिक वर्ष सुरु भएको ४ महिना वित्नलाग्दा अनि कार्तिक महिना वित्न लाग्दा समेत विद्यालयमा प्याड नआइपुगेपछि र निःशुल्क प्याड वितरणको कुनै छाँटकाँट नदेखिएपछि स्कुले बालिकामा पलाएको आशा निशाषामा परिणत भएको छ अनि विश्वास डगमगाउन लागेको छ ।

अझ दुःखद कुरा त के छ भने घोषणाको यत्रो समय वितिसकदा पनि प्याड वितरणको मापदण्ड र नीति नियम निर्माण हुन सकेको छैन र प्याड वितरण कहिलेबाट प्रारम्भ हुन्छ भन्ने कुराको अत्तोपत्तो छैन । विस्मित तुल्याउने अरु कुरापनि छन् । सरकारसंग महिनावारी सुरु भएका कति स्कुले छात्रा छन् भन्ने एकिन जानकारी छैन र यसबीचमा यसको तथ्याङ्क संकलन गर्ने काम कसैले गरेको पनि छैन । यस्तो अवस्थामा कुन आधारमा प्याड वितरण होला ? अझ रमाइलो कुरा त के छ भने अर्थमन्त्रीले आवश्यक बजेट छुट्टाएको भनिए पनि अझै अर्थ मन्त्रालयले शिक्षा मन्त्रालयलाई बजेट प्रदान गरेको छैन । समस्या अर्काे पनि छ, प्याड वितरणको जिम्म स्थानीय सरकारलाई दिने वा विद्यालयहरुलाई सिधै नगद दिएर आफै आवश्यक प्याड खरिद गर्न लगाउने भन्नमा समेत सरकार निर्णयमा पुगिसकेको छैन । यि सबै समस्याहरुको समाधान गरेर प्याड वितरणलाई सहज बनाउन अझ केही समय लाग्ने देखिन्छ । यसरी हेर्दा हतारमा र सस्तो लोकप्रियताका लागि भन्दा पहिले आवश्यक तयारी गरेर निर्णय गरेको भए सरकारको विश्वसनियता रहने थियो ।

भनिरहनु परेन यो कार्यक्रम एउटा सकारात्मक कार्यक्रम हो । प्रसंसा गर्न योग्य कार्यक्रम हो । केही समय अगाडिको एक अध्ययनले विद्यालय छाड्ने छात्राहरु मध्ये अधिकांशले महिनावारीका कारण आउने समस्याका कारण छोड्दा रहेछन् । यसैका कारण बालिकाहरुको सिकाई उपलब्धी बालकहरुको भन्दा कम हुने गरेको रहेछ । पक्कै पनि हरेक महिना चार दिनका दरले विद्यालय अनुपस्थित रहँदा सिकाई उपलब्धी कम त हुने नै भयो । सिकाई उपलब्धी कम हुनुको तत्कालिन असर त कक्षामा फेल हुने वा पहिलो दोस्रो हुन नसक्ने भन्ने भयो तर यसका दर्घकालिन असरहरु छन् ।

विद्यालय जीवनमा सिकाई उपलब्धी कमजोर भएको एउटा नागरिकको पछि गएर अन्यसंगको प्रतिस्पर्धी क्षमता कम हुन्छ । यसले कुनै सरकारी वा गैर सरकारी क्षेत्रमा सेवा प्रवेशका लागि उनीहरु पछाडि पर्दछन् । जुनकुरा उसको स्वनिर्भरता र आर्थिक उपार्जनसंग जोडिएको हुन्छ । अन्ततः महिलाहरु समाजिक र अर्थिक क्षेत्रमा पछि पर्नुको कारण बन्न गएको छ, सेनेटरी प्याडको उपलब्धता । मसिनो गरी केलाएर हेर्दा महिलाको स्वाभिमान र पहिचानसंग जोडिएको प्याड वितरण कार्यक्रमलाई जुन उत्साहका साथ सरकारले घोषण ग–यो, त्यही तत्परता र इमान्दारीका साथ कार्यान्वयनमा लैजानु जरुरी छ । यसो हुन सकेमा बालबालिकाको सिकाई उपलब्धीमा सुधार त आउँछ नै दीर्घकालमा समग्र महिलाको स्वाभिमान उँचो रहने छ ।

Related posts

नदीजन्य पदार्थको ठेक्कामा एकै प्रदेशमा फरक दररेट

admin

मुलुकी र संहिता ऐनमा ठगी कानून

admin

कोभिड–१९ को स्थिति

admin