25 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

विश्व पर्यटन दिवस र नेपाल भ्रमण वर्षका अपेक्षा -सम्पादकीय

संसारभर जस्तै नेपालमा भोली अर्थात सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइँदै छ । पश्चिमा व्यापारी थोमस कुकले उन्नाइसौं सताब्दीको मध्यतिर सुरु गरेको पर्यटन व्यवसाय झण्डै तीनसय वर्षको हुन लाग्दा संसारभर फैलिएको मात्र छैन संसारकै सबैभन्दा ठूलो उद्योगको रुपमा विकसित भै सकेको छ ।

नेपालमा विसं २००७ साल फागुन अघिसम्म त विदेशीलाई प्रवेश निशेध नै थियो । वि।सं। २०१० साल जेठ १६ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेपछि मात्र विस्तारै नेपालमा पयर्यटनको सुरुवात भएको हो । यद्यापि त्यस अघिपनि फाट्टफुट्ट विदेशी नागरिक नेपाल आउने गरेका थिए । तेन्जिङ र हिलारीले सगरमाथा आरोहण गरेसंगै साहासिक पर्यटन लगाएत अन्य पर्यटनको विकास भएको हो ।

पर्यटनको सुरुवात भएको साढे छ दशक पुग्दा नेपाल आउने पर्यटकको संख्या भने बाह्रलाख पनि पुग्न सकेको छैन । यसैबीच नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने र २० लाख पर्यटक ल्याउने महत्वाकांक्षि योजना ल्याएको छ । हालको पर्यटक आगमनलाई हेर्ने हो भने नेपालमा दैनिक सरदर ३ हजार ७ सय पर्यटक आउने गरेको पाईन्छ । हामीले निर्धारण गरेको लक्ष्य पूरा गर्न सन् २०२० मा दैनिक सरदर ५ हजार ४ सय ८० पर्यटक नेपाल आउनु पर्ने हुन्छ । अझ महत्वपूर्ण कुरा त के छ भने स्थल मार्गबाट आउने पर्यटकको संख्याको तुलनामा हवाइ मार्गबाट आउने पर्यटकको संख्या चारगुणा वढी छ । र २० लाख पर्यटक ल्याउन आगामी वर्ष हाम्रो विमानस्थलको क्षमता बढेर १७ लाख पर्यटक ल्याउन सक्ने हुनु पर्दछ । तर पूर्ण क्षमतामा संञ्चालन हुँदा पनि हाम्रो क्षमता भनेको १५ लाख मात्रै हो । कि त हामीले स्थल मार्गबाट आउने पर्यटकको संख्यामा उल्लेख्य बृद्धि गर्न सक्नु पर्छ ।

यदि २० लाख पर्यटक ल्याउने हो भने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा प्रचारप्रसार गर्ने, पर्यटकहरुका लागि निशुल्क भिसाको व्यवस्था गर्ने, हिमाल आरोहण गर्न चाहने पर्यटकका लागि रोयल्टीमा सहुलियत दिने जस्ता कार्यक्रम ल्याउनु जरुरी छ । यसका साथै धर्मिक पर्यटकलाई आकर्षित गर्न लुम्बीनी तथा पशुपतिनाथ र मुक्तिनाथ जस्ता प्रसिद्ध धार्मिक स्थलमा सहज पुजा र आराधनाको व्यवस्था गर्नु जरुरी छ । तर विडम्बना राज्य एकातिर भ्रमण वर्षको घोषणा गर्ने अनि अर्कोतिर पर्यटक भिसा शुुल्कमा बृद्धि गर्ने काम गरेर आफ्नै कार्यक्रमलाई असफल तुल्याउन लागि परेको देखिँदैछ । छोटो तयारीबाट २० लाख पर्यटक ल्याउने काम यसै पनि सजिलो छैन, त्यस माथि पनि सरकारी निकायको ढिला सुस्तीले अझ त्यसलाई थप चुनौतिपूर्ण बनाई दिएको छ । पर्याप्त सडक तथा हवाई यातयातको व्यवस्था र न्यानो आतिथ्य हुन सक्दा पनि लक्ष्यमा पुग्न हामीलाई सहज हुने छ । आशा गरौं भ्रमण वर्ष सफल हुनेछ, २० लाखै नआएपनि उल्लेख्यमात्रामा पर्यटकको संख्या बढ्ने छ ।

Related posts

बैशाख १२ बाट सिक्नु पर्ने पाठ

admin

सम्बन्ध विच्छेद पछिको अधिकार

admin

ओजोन तह संरक्षण सबैको जिम्मेबारी

admin